अज्ञानता मानिसको यस्तो शत्रु हो जसले जीवनका सुख र खुसीहरू चोरेर लगेको आफूलाई थाहै हुँदैन। त्यो भन्दा पनि बढी डरलाग्दो शत्रु अल्पज्ञान हो। अज्ञानीलाई जब कसैले चोरको पहिचान गराइदिन्छ तब उसले आफ्नो जिउधनको सुरक्षाको लागि ढोकामा गजबार लगाउँछ भने अल्पज्ञानीले उसको घरको गजबारलाई बाहिरबाटै कसरी खोल्न सकिन्छ भनेर चोरलाई नै उपदेश दिंदै हिंड्छ। त्यसकारण अज्ञानीको जीवनमा विकास र उन्नतिको लागि आशा हुन्छ भने अल्पज्ञानीको लागि आशा हुँदैन।
अज्ञानी हुनु हाम्रो भुल होइन। जन्मसिद्ध सबै कुरा कसैले पनि सिकेर आएको हुँदैन। कतिपटक जीवनका प्रतिकूल परिस्थितिले ज्ञानको सीमा कोरिदिएको हुन्छ भने कतिपटक आफ्नै शारीरिक र मानसिक स्वास्थ्यले साथ दिएको हुँदैन। धार्मिक अन्धविश्वास, सामाजिक रूढिवादी र सामन्ती वर्गले लादेका परम्पराको कारण ज्ञानको ढोका खट्खटाउन पनि मानिस कतिपटक असमर्थ हुन्छ।
