July 22, 2022

सुखी विवाहको लागि चाहिने तिन कुराहरू।

सफल वैवाहिक सम्बन्धले जीवनका सबै पक्षहरूलाई उज्यालो बनाउँछ। सफल विवाहमा शारीरिक, भावनात्मक र मानसिक आवस्यकताहरू अर्थपूर्ण तरिकाले पूरा भएका हुन्छन्। फलस्वरूप श्रीमान-श्रीमतीमा आत्मसम्मान उच्च हुनुका साथै छोरा-छोरीहरूमा जीवनप्रति सकारात्मक दृष्टिकोणको सृजना हुन्छ। सन्तुष्टिले भरिएका श्रीमान-श्रीमती र सपना र उद्देस्यले भरिएका छोरा-छोरीहरूले मानव समाजलाई प्रगति र उन्नतिको मार्गमा अगाडि बढाइरहेका हुन्छन्। सफल परिवार नै शसक्त समाज र देशको मेरूदण्ड हो भन्ने तथ्यलाई यसले प्रमाणित गरेको हुन्छ। त्यसकारण यदि कसैको विवाह सुखद र शान्तिपूर्ण छ भने उसले आफूलाई जीवनमा सफल भएको ठान्नु स्वभाविक हो कारण सुखी या दु:खी जीवनको लागि विवाहले धेरै ठूलो भूमिका खेलेको हुन्छ।

एकाध अपवाद बाहेक श्रीमान-श्रीमतीले चाहेको खण्डमा प्राय: सबै विवाहहरू सुखी हुनसक्छन्। दु:खी विवाह सुखी हुनसक्छ भने सुखी विवाह झनै सुखी हुनसक्छ। तर आजको संसारमा सुखी विवाह भन्दा दु:खी विवाहको संख्या तिब्ररूपले बढ्दै गएको देखिन्छ। हुनत प्राचिन बिद्वान सुक्रातको भनाइ छ कि मानिसले जसरी भए पनि विवाह गरोस् र यदि उसले असल श्रीमती पाएको खण्डमा ऊ खुसी मानिस हुनेछ भने खराब श्रीमती पाएको खण्डमा ऊ कवि या दार्शनिक बन्नेछ। हाम्रै समाजमा पनि विवाहमा धोका पाएपछि मानिसहरू जोगी बन्ने चलन परापूर्वकाल देखि नै चल्दै आएको चलन हो। असफल विवाहले मानिसलाई वैरागी बनाइदिन्छ र फलस्वरूप उसभित्रका चोटहरू कविता या दार्शनिक विचारहरूबाट बाहिर निस्कन्छन्। तर जसरी यी कविता र दार्शनिक विचारहरू दु:खी विवाहले दिएका चोटका कारण बाहिर निस्कन्छन् त्यसरी नै सुखी विवाहले दिने आनन्दका कारण पनि एउटा व्यक्तिलाई कवि या दार्शनिक बनाउन सक्छ। सायद वियोगान्त र सुयोगान्त नाटकहरू, कविताहरू, उपन्यासहरू मानिस भित्रका सुख र दु:ख कै उपजहरू हुन्। सुखी विवाहले पनि मानिसलाई कवि र दार्शनिक बनाउन सक्छ भन्दा सायद सुक्रात रिसाउँदैनन् होला।

हाम्रो संस्कृतिमा विवाहको परिभिषा नै “विवाह-बन्धन” भनेर गरिएको छ जसमा पुरूषको स्वतन्त्रता गुमेको आभास हुन्छ भने स्त्रीको माइतीघर। तर बाइबलीय परिभाषामा विवाहको परिचय यसरी दिइएकोछ; “परमेश्वरले भन्नुभयो, ‘मानिस एकलो रहन असल छैन। म त्यसको निम्ति त्यसलाई सुहाउने एक जना सहोयोगी बनाउनेछु’” (उत्पत्ति १:१८)। जब परमेश्वरले स्त्रीलाई बनाएर पुरूषलाई दिनुभयो तब पुरूषले स्त्रीलाई यसरी परिभाषित गर्दछ, “यो त मेरै हाडको हाड र मासुको मासु हो। तिनलाई स्त्री भनिनेछ किनभने तिनी पुरूषबाट निकालिएकी थिइन्” (१:२३)। पुरूषको अपूर्णता र एकलोपन हटाउन परमेश्वरले स्त्री सृजनुभयो र मानिसको सृजना पूर्ण भयो। “त्यसैकारण मानिसले आफ्ना आमा-बाबुलाई छोड्छ र आफ्नी पत्नीसँग मिलिरहन्छ, र तिनीहरू एउटै शरीर हुन्छन्” (२:२४)। यो बाइबलीय परिभाषामा विवाहलाई मानिसको लागि बन्धन नभएर उसलाई पूर्ण मानव बन्नको लागि आवस्यक पर्ने स्वतन्त्रतालाई परमेश्वरले दिनुभएको वरदानको रूपमा हेरिन्छ। विवाहको माध्यमबाट आमा-बाबुको बन्धनबाट अलग भएर स्वतन्त्र नयाँ परिवारको सृजना हुन्छ जहाँ स्त्री-पुरूष र सन्तानका शारीरिक, भावनात्मक र मानसिक आवस्यकताहरू प्राकृतिक तरिकाले पूरा हुन्छन्।

बाइबलको आदि पुस्तकमा कोरिएको असल वैवाहिक चित्रलाई पापको आगमनले ठूलो नोक्सान पुर्याएको कारण मानिसका लागि वैवाहिक जीवन चुनौतिपूर्ण हुनगयो। तापनि येशूको आगमनले टुक्रिएको वैवाहिक चित्रलाई पुन: नयाँ गरी सृजना गरेको छ। येशू ख्रीष्टको सुसमाचारद्वारा नयाँ गरी जन्मेका श्रीमान-श्रीमतीले चाहेको खण्डमा जुनसुकै विवाह पनि सुखमय हुनसक्छ। त्यसका लागि श्रीमान-श्रीमतीले आफ्नो जीवनसाथीका आवस्यकताहरू बाइबलीय निर्देशन अनुसार पूरा गर्न चहानुपर्छ, जान्नुपर्छ, र सक्नुपर्छ। नजानेको र नसकेको कुरा पनि यदि चाहना छ भने मानिस त्यसमा सफल हुनसक्छ। सुखमय विवाहको लागि श्रीमान-श्रीमतीले एक-अर्काबाट के चाहन्छन् त? चाहनाहरू त धेरै हुन्छन् तर यो छोटो लेखमा तीनवटा आधारभूत आवस्यकताहरू उल्लेख गर्न चाहन्छु जसको वेवास्था गरेको खण्डमा सुखमय विवाह प्राय: असम्भव नै हुन्छ।

श्रीमतीबाट श्रीमानले के चाहन्छ?

१) आदर: आफ्नी श्रीमतीबाट आदर नपाउने श्रीमानले साथीभाइ, आफन्त, छरछिमेक र समाजबाट पनि आदर पाउन सक्दैन। आदर नपाएको पुरूष यथार्थमा खुसी हुनसक्दैन। खुसी अनुभव नगरेको पुरूष असल पति र पिता बन्न सक्दैन। त्यसैकारण बाइबलले श्रीमतीलाई आफ्नो श्रीमानको आदर गर भनेर यसरी आज्ञा दिएको छ, “तिमीहरू हरेकले आफ्नी पत्नीलाई आफैलाई झैं प्रेम गर, र पत्नीले पनि आफ्ना पतिको आदर गरोस्” (एफिसी ५:३३)। जसरी एउटा स्त्रीलाई प्रेम चाहिन्छ त्यसरी नै एउटा पुरूषलाई आदर चाहिन्छ। श्रीमतीबाट आदर पाएको श्रीमानको सहरको मूल ढोकामा पनि आदर हुन्छ भनेर बाइबलले उल्लेख गरेको छ; “उच्च चरित्र भएकी पत्नी कसले पाउन सक्छ? तिनी मानिकभन्दा पनि अति नै बढी मूल्यकी हुन्छिन्। तिनका पतिले तिनीमाथि पूरा भरोसा गर्छन्, र उनलाई कुनै असल कुराको अभाव हुँदैन। तिनले आफ्नो जीवनकालभरि नै उनको भलो गर्छिन्, कुभलो होइन” (हितोपदेश ३१:१०-१२)। यस्तो उच्च चरित्रकी श्रीमतीका श्रीमानको आफैमा उच्च आत्मसम्मान हुन्छ र फलस्वरूप समाजले पनि उनलाई आदर गर्नै पर्छ; “तिनका पति सहरको मूल ढोकामा सम्मानित हुन्छन्, जहाँ उनी मुलुकका पाकाहरूसँग बसेका हुन्छन्” (३१:२३)। सफल, सुखी र आशिषमय विवाहको लागि श्रीमतीले श्रीमानलाई आदर दिनुको अर्को विकल्प छैन। त्यति भन्दैमा श्रीमान पनि आदरयोग्य त हुनु नै पर्छ। तापनि अनादरयोग्य श्रीमान पनि आदर पाए पछि सकारात्मक रूपले परिवर्तन हुनसक्छ र हुन्छ नै।

२) सम्भोग: यौन सन्तुष्टिविनाको विवाह सुखमय हुन्छ होला भनेर नसोचेपनि हुन्छ। बाइबलले यो विषयलाई गम्भिर रूपले लिएको छ र श्रीमान-श्रीमतीलाई एक-अर्काका यौन आवस्यकताहरू पूरा गर्न यसरी सल्लाह दिन्छ; “पति पत्नीले आफ्नो पारस्परिक संसर्गदेखि एक-अर्कालाई इन्कार नगर। इन्कार गर्यौ भने पनि आपसमा सल्लाह गरेर केही समयको निम्ति मात्र, ताकि तिमीहरू प्रार्थनामा लागिरहन सक। तब फेरि एकसाथ बस, ताकि आत्मसंयमको अभावको कारण शैतानले तिमीहरूलाई परीक्षामा नपारोस्” (१कोरिन्थी ७:५)। विवाह गरेको केही समय सम्म त सायद दाम्पत्य जीवनमा यो आवस्यकता पूरा भएको हुनसक्छ। तर जब समय बित्दै जान्छ, छोरा-छोरीहरू जन्मिन थाल्छन्, जिम्मेवारी बढ्दै जान्छ, आर्थिक समस्याले घेर्न थाल्छ तब श्रीमतीको यौन इच्छामा कमि आउन थाल्छ भने श्रीमानलाई अझ बढी यसको आवस्यकता पर्नसक्छ। यसरी समयमै यो क्षेत्रमा तालमेल मिलाउन सकेन भने हाम्रो संस्कृतिमा श्रीमानले सजिलै कान्छी ल्याउने चलन छ। दोस्रो विवाह गर्न सकेन भने पनि अरू यौन अनैतिकताको शीकार ऊ बन्न जान्छ। श्रीमतीबाट यौन इच्छा पूरा नभएको श्रीमान घरमा बढी रिसाउने, छोराछोरीप्रति रूखो व्यवहार देखाउने, अनावस्यक तनावमा रहने जस्ता व्यवहारले उसको उध्यमशीलतामा नै नकरात्मक असर पर्न जान्छ। त्यसकारण एउटा बुद्धिमान श्रीमतीले आफ्नो श्रीमानको यौन आवस्यकतालाई बुझेर त्यसको निरन्तर सन्तुष्टि दिन चहान्छे। तर निर्बुद्धिले आफ्नो श्रीमानसँग शारीरिक सम्बन्ध राख्नु नपरोस भनेर अनेकौं बाहना बनाउँछे। जब उसको श्रीमान परस्त्रीसँग लाग्छ तब होस त आउँछ तर ढीलो भैसकेको हुन्छ। मनोचिकित्सकका अनुसार स्वस्थ वैवाहिक सम्बन्ध कायम गर्नका लागि हप्तामा कमसे कम एक देखि तीन पटक सम्म सम्भोगको आवस्यकता पर्दछ। त्यसैकारण लामो समय सम्म एक-अर्काबाट अलग बसेका श्रीमान श्रीमतीको जीवनमा अनेकौं समस्याहरू उत्पन्न हुनजान्छन्।

३) खाना: असल श्रीमती घरको उज्यालो हो। विशेषगरि यो उज्यालो खानाको टेवलमा चम्किनु आवस्यक छ। खाना त श्रीमान या छोराछोरीले पनि पकाउन सक्छन् तर आदर र ममताले भरिएकी श्रीमती र आमाले पकाएर दिएको खानामा जीवन हुन्छ। उच्च चरित्रकी श्रीमतीको वयान गर्दा बाइबलले यसरी भन्छ, “तिनी राती नै उठ्छिन्, आफ्नो परिवारको लागि भोजनको इन्तिजाम गर्छिन्” (हितोपदेश ३१:१५)। एउटा अङ्ग्रेजि कहावत छ कि “The way to a man’s heart is through his stomach”, अर्थात मिठो खानद्वारा श्रीमानको मन जित्न सकिन्छ। मिठो खाना मेहनती स्त्रीले मात्र बनाउन सक्छे। अल्छी स्त्री न त आफैलाई आकर्षक बनाउन सक्छे न त परिवारलाई मिठो खाना दिएर खुसी पार्न सक्छे। फलस्वरूप वैवाहिक जीवनमा यसको प्रतक्ष्य नकरात्मक असर पर्दछ।

सुखी वैवाहिक जीवनका लागि श्रीमतीले आफ्नो श्रीमानलाई आदर दिनुपर्यो, यौन सन्तुष्टि दिनुपर्यो र असल खाना पनि दिन सक्नुपर्यो। यी तिन कुरा श्रीमतीले आफ्नो श्रीमानलाई खुसीसाथ दिनसक्छे भने त्यो विवाह वास्तवमै सुखमय विवाह हुनेछ।

श्रीमानबाट श्रीमती के चाहन्छे?

१) हृदय: श्रीमानलाई टाउको चाहिन्छ भने श्रीमतीलाई हृदय। अर्थात, जसरी श्रीमानलाई आदर चाहिन्छ त्यसरी नै श्रीमतीलाई प्रेम चाहिन्छ। त्यसैकारण बाइबल भन्छ; “तिमीहरू हरेकले आफ्नी पत्नीलाई आफैलाई झैं प्रेम गर” (एफिसी ५:३३)। र, यो प्रेम यस्तो होस कि जस्तो ख्रीष्टले चर्चलाई गरेको प्रेम छ; “पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो” (५:२५)। यो प्रेम आफैलाई अर्पण गर्ने प्रेम हो। जब श्रीमतीले आफ्नो श्रीमानबाट यस्तो प्रेमको अनुभव गर्छे तब उसको संसारै सुन्दर हुनजान्छ। श्रीमानको प्रेममा मुग्ध भएकी श्रीमतीले बाइबलमा यस्तो गीत गाएको छ; “उहाँले मलाई आफ्नो मुखको चुम्बनले चुम्बन गरून्, किनभने तपाईंको प्रेम दाखमद्यभन्दा पनि उत्तम छ। तपाईंका अत्तरको बास्ना आनन्दप्रद छ, तपाईंको नाउँ खन्याइएको अत्तरझैं छ” (श्रेष्ठगीत १:२-३)। “हे मेरा प्रेमी, तपाईं असाध्यै सुन्दर हुनुहुन्छ! हो कत्ति सुन्दर! र हाम्रो ओछ्यान हरियाली छ” (१:१६)। यसरी श्रीमानको प्रेममा सन्तुष्ट भएकी श्रीमतीले आफ्ना श्रीमानको यौन इच्छा पूर्णरूपले पूरा गर्न चाहन्छे। पत्नीबाट यौन सन्तुष्टि पाएको पतिले आफ्नी पत्नीलाई औधिनै प्रेम गर्छ। आफ्नो पतिबाट प्रेम पाएकी पत्नीले आफ्ना पतिलाई औधिनै आदर गर्छे। फलस्वरूप यो विवाह दिनानुदिन उत्तम विवाहमा परिणत हुँदै जान्छ।

२) हात: श्रीमानको अँगालोमा बेह्रिएकी श्रीमतीले आफूलाई सुरक्षित महसुस गर्छे। श्रेष्ठगीतकी प्रेमीकाले यो सुरक्षाको बारेमा यसरी भन्छे “उहाँको देब्रे हात मेरो शिरमुनि छ, र उहाँको दाहिने हातले मलाई अँगालो हालेको छ” (२:६) कारण “मेरा प्रेमी मेरै हुनुहुन्छ, र म उहाँकी हुँ” (१:१६)। श्रीमानले परस्त्रीसँग गरेको लसपस विवाहिता स्त्रीको निम्ति सहनै नसकिने भारि बन्दछ। त्यसकारण एउटा विवाहित पुरूषले अन्य स्त्रीहरूसँगको काम व्यवहारको सम्बन्धमा पनि धेरै सावधानि अपनाउनु पर्ने हुन्छ। केही गरी परस्त्रीसँग अनैतिक सम्बन्धको संका मात्र लागेमा यसले विवाहमा सजिलै दरार ल्याउन सक्छ र भावनात्मक असुरक्षामा बाँचेकी श्रीमतीको मानसिक सन्तुलन सजिलै गुमेर जाने सम्भावना हुन्छ। श्रीमतीलाई भावनात्मक सुरक्षाको अनुभूति दिनुका साथै श्रीमानले श्रीमतीको भौतिक सुरक्षाको पनि ख्याल गर्नुपर्छ। विषेश गरी आर्थिक सुरक्षा दिनको लागि श्रीमान मेहनती र परिश्रमी छ भने श्रीमतीको लागि गरिबी ठूलो समस्या होइन। तर अल्छे श्रीमानकी श्रीमतीलाई भौतिक सुरक्षाको अनुभूति गर्न असम्भव नै हुन्छ।

३) कान: बुद्धिमान श्रीमानले आफ्नो कान श्रीमतीलाई दिन जानेको हुँदोरहेछ। तर मैले यो पाठ धेरै लामो समय पछि र श्रीमतीलाई दु:ख दिनसम्म दिइसकेपछि मात्र सिके। मेरो समस्या के थियो भने जब श्रीमतीले कुनै समस्याको बारेमा कुरा गर्न थाले पछि म तुरन्तै त्यसको समाधानको बारेमा उसलाई बताउन थाल्दथें तर मलाई यो थाहै भएन कि श्रीमतीलाई समाधान होइन समझदारी चाहिने रहेछ। मैले समस्या र समाधानको उपाएहरूको बयान गर्दा श्रीमतीलाई उल्टै झन् रिसउठ्दो रहेछ। अनुभव नै जीवनको महत्वपूर्ण पाठसाला हो। वर्षौंको अनुभव र अध्ययन पछि बल्ल मेरो घैंटोमा घाम लागेको छ कि श्रीमतीको मनको कुरा सुनिदिनु र बुझिदिनु नै उसको समस्याको समाधान रहेछ। पत्रुसले पतिहरूलाई यसरी सल्लाह दिएको छ; “पति हो, आफ्ना पत्नीसँग विचारशील भएर बस” (१पत्रुस ३:७)। याकूबले दिएको सल्लाह पनि मेरो निम्ति त्यतिनै महत्वपूर्ण हुनगयो जसमा उनी भन्छन्; “प्रत्येक मानिस सुन्नमा छिटो, बोल्नमा ढीलो र रिसाउनमा धीमा हुनुपर्छ” (याकूब १:१९)। विशेष गरी यो सत्यलाई वैवाहिक जीवनमा पालन गरेको खण्डमा त्यो विवाह कलहरहित विवाह हुनसक्छ। अध्ययनले देखाउँछ कि पुरूषहरू दिनमा १० हजार देखि १५ हजार शब्द बोल्छन् भने स्त्रीहरू त्यो भन्दा झन्डै ५ देखि १० हजार शब्दहरू बढी बोल्छन्; यो प्रकृतिले नै दिएको गुण हो। मनका भावना स्त्रीले कसैसँग बोलेर पोखाउन पाएन भने उसमा भावनात्मक र मानसिक समस्याहरू पनि देखा पर्न जान्छन्। कति स्त्रीहरू आज हाम्रो समाजमा मानसिक रोगी भएर बाँचेका छन् तर हामी उनीहरूलाई “पागल”को उपनाम दिइरहेका हुन्छौं। कतिपय पास्टरका श्रीमतीहरू पागल भएर पागलखानामा राखिएका समाचारहरू बेलाबखत सुनिन्छन्। त्यो हुनुको मुख्य कारण उनीहरू भित्रको द्वन्दलाई कसैले नसुनिदिएको कारण नै हो। चर्चमा पास्टर स्वर्गदूत जस्तो देखिन्छ तर घरमा राक्षस। तापनि श्रीमतीले त्यो सबै सहेरै बस्नुपर्ने हुन्छ तर मानिसको मगजले त्यो लामो समय सम्म धान्न सक्दैन। जुन श्रीमानले आफ्नी श्रीमतीको लागि सुन्ने कान दिएको हुन्छ त्यो श्रीमतीको मानसिक र भावनात्मक स्वास्थ्य पूर्णरूपले चङ्गाई भएको हुन्छ। मानसिक र भावनात्मक चङ्गाईले शरीरलाई पनि चङ्गाई गर्दछ। यसरी शारीरिक, मानसिक र भावनात्मक क्षेत्रमा चङ्गाई भएकी श्रीमतीले आफ्ना पतिको लागि जीवन नै सुम्पिदिन्छे; पतिका यौन चाहना पूरा नगर्ने, पतिलाई आदर नगर्ने र पतिको लागि मिठो खान नपकाउने त कुरै भएन।

के तपाईंले आफ्नो श्रीमान श्रीमतीलाई यी तिन कुराहरू दिनुभएको छ? दिनुभएको छैन भने ती कुराको पूर्तिको लागि ऊ अन्त कतै जानेछ र त्यसबेला तपाईं छक्क नपर्नुहोला कारण ऊ जाओस भनेर नै तपाईंले ती कुराहरू उसलाई दिनुभएको थिएन। 

1 comment: