January 23, 2019

रहरलाग्दो जीवन सम्भव छ!

परमेश्वरीय प्रकाशमा ध्यान दिने मानिसको लागि बाइबलीय जीवन अती नै रहरलाग्दो बन्नसक्छ।  पहिलो पटक बाइबल हातमापर्दा म १७ वर्षको थिएँ।  पढ्दै जाँदा मत्ती ७को ७मा मेरो आँखा अडियो जहाँ येशूले भन्नुभएको छ “माग, पाउनेछौ, खोज, भेट्टाउनेछौ, र घचघचाउ, ढोका उघारिनेछ”।  ख्रीष्टीयन मित्रहरूसँग राम्रो चिनजान नभएको कारण कैलालीको उध्योगवाणिज्य सङ्घमा कार्यरत मेरो गाउँकै एकजना पाठक दाइलाई यसको बारेमा सोध्‍न उहाँकै कार्यालयमा पुगेको थिएँ।  उहाँले पनि बाइबल देखेकै रहेनछ।  उल्टै यस्तो किताब पढ्नुहुँदैन भनेर सल्लाहा दिनुभयो।  केही नलागेपछि येशूको त्यो वाक्याङ्सलाई जीवनमा परिक्षण गर्ने निर्णय गर्दै मैले येशूसँग एउटा असम्भव कुरा मागें।  छ महिना सम्म त्यो कुरा मागी नै रहें तर त्यो छ महिनाको अन्तिममा पाउनुपर्ने कुरा पाइएन।  मलाई लाग्यो कि मेरो माग अलि अस्वभाविक नै भएर होला येशूले नदिएको।

त्यसपछि येशूसँग मैले कस्तो सम्बन्ध राख्‍ने भनी विचार गर्दा गर्दै तीन महिना बिते।  नौ महिना अघि मैले येशूलाई भनेको थिएँ कि यदि उहाँले मेरो माग पुरा गरेको खण्डमा म मेरो सम्पूर्ण जीवन उहाँकै सेवामा समर्पण गरिदिनेछुँ।  जब माग पुरा भएन, म अन्यौलमा परें।  तर एक दिन अचानक मेरो त्यो अनिर्णय चकनाचुर भयो।  तीन महिना अघि पाउनुपर्ने कुरा रहस्यमय ढङ्गले ढिला भएर तीन महिना पछि मेरो हातमा जस्तो मागेको थिएँ त्यस्तै पर्‍यो!  मेरो लाटो दिमागले पनि भन्न थाल्यो कि येशू साँच्‍चै नै मानिसले मागेका कुरा सुन्नसक्ने जीवित परमेश्वर हो।  एउटा हिन्दु गाउँले केटोले लगातार छ महिनासम्म उहाँसँग उसले जे मागेको थियो त्यो उहाँले नौ महिना पछि जस्ताको त्यस्तै उसको हातमा दिनुभयो र उसको भविस्यलाई नै बदलिदिनुभयो!  त्यसपश्च्यात, कुनै आनाकानी नगरिकन, मैले मेरो जीवन उहाँको सेवाको लागि समर्पण गरिदिएँ।

फर्केर हेर्दा आज उहाँको सेवामा लागेको पनि दशकौं भैसकेछ।  जीवन दिनानुदिन रहरलाग्दो हुँदै गएको छ। मेरो लागि  येशूको सेवागर्नु भन्दा उत्तम अर्को उद्देस्य यो संसारमा छैन।  हामीले संसारमा रहुन्जेल जुनसुकै पेशा अपनाए पनि त्यसको मुख्य उद्देस्य येशूको सेवा गर्नु हो।  येशूमा विश्वास गर्ने प्रत्यक विश्वासी उहाँको सेवक हो।
 
कतिपटक हामी येशूको सेवा भन्नाले संसारका सबै काम धन्दा छोडेर उहाँको पछि जोगी बनेर लाग्‍ने कुरा जस्तो ठान्दछौं।  हो, कसै-कसैलाई उहाँले त्यसरी पनि बोलाउन सक्‍नुहुन्छ।  तर अधिकाङ्स मानिसलाई उनीहरूकै क्षेत्रमा दक्षता र सफलता दिएर आफ्नो महिमाको लागि परमेश्वर चलाउन चहानुहुन्छ। 

येशूको सेवाको कुरा गर्दा हामीले उहाँका आज्ञालाई भुल्नुहुँदैन।  सम्पूर्ण बाइबललाई सारांसमा सिमित पार्दै येशूले भन्नुभयो; “परमेश्वर एक हुनुहुन्छ र तैंले उहाँलाई आफ्नो सारा हृदयले, सारा प्राणले, सारा समझले र सारा शक्तिले प्रेम गर्, यो पहिलो आज्ञा हो।  दोस्रो; तैंले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्” (मर्कूस १२.२९-३१)।  यी दुई वटा आज्ञामा हामी तीन वटा कुरा देख्‍छौं; परमेश्वर, छिमेकी र आफू।  परमेश्वरलाई प्रेम गर्नुमा अन्यौल छैन।  तर छिमेकीलाई प्रेम गर्दा आफूलाई जस्तै गर्नुपर्ने भनी अड्को थपिएको छ।  धेरै मानिसहरू आफूलाई साँचो प्रेम गर्न सक्दैनन्।  आफूलाई प्रेम गर्न नसक्‍नेले छिमेकीलाई प्रेम गर्न सक्दैन।  छिमेकीलाई प्रेम गर्न नसक्‍नेले परमेश्वरलाई प्रेम गर्न सक्दैन।  परमेश्वरलाई प्रेम गर्न नसक्‍नेले उहाँबाट पाइने रहरलाग्दो जीवनको अनुभव गर्न सक्दैन।

कतिपटक पूर्णकालिन सेवामा लागेका पास्टर अगुवाको जीवनलाई हेर्दा रहरलाग्दो नभएर दिक्‍कलाग्दो देखिन्छ।  दिक्‍कलाग्दो जीवन भएको पास्टर वा गोठालोको सेवामुनि रहेका विश्वासीहरूमा पनि यसले असर गरेको हुन्छ।  यो दिक्‍कलाग्दो जीवन हुनुमा छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्न नसक्‍नु एउटा मुख्य कारण हुनसक्छ।  आफूलाई प्रेम गर्न नसक्‍नुमा पनि धेरै कारणहरू हुनसक्छन् जस्तै; लोभ, डाहा, अभिलाषा, घृणा, रिस, घमण्ड, हिनतावोध, र आदि।  बाइबलले यस्ता कुराहरूलाई “पापमय स्वभावका काम” भनेको छ (गलाती ५.१९-२१)।  यस्ता आचरणको मानिसले आफूलाई प्रेम गर्न सक्दैन।  आफूलाई प्रेम गर्ने मानिसले यस्ता आचरणलाई जीवनमा रहन दिदैन कारण यी आचरणले उसको जीवन नाश गर्छन् भन्ने कुरा उसलाई थाहा हुन्छ।

आफूलाई प्रेम गर्ने मानिसले जीवनमा प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाई, विश्वस्तता, नम्रता, संयम जस्ता आचरणलाई स्थान दिएको हुन्छ।  बाइबलले यी कुराहरूलाई “पवित्र आत्माको फल” भनेको छ (गलाती ५.२२-२३)।  जब यस्ता कुराहरूले उसको जीवन भरिएको हुन्छ तब उसले आफ्ना छिमेकीलाई पनि आफूलाई जस्तै प्रेम गर्न सक्छ।  छिमेकीलाई प्रेम गर्ने मानिसले मात्रै परमेश्वरलाई चिनेको हुन्छ।

पवित्र आत्माको फलले भरिएको मानिसको जीवन खोलाको किनारमा रोपेको रूख जस्तो हुनेछ भने पापमय स्वभावका कामले भरिएको मानिसको जीवन उजाड स्थानमा रहेको काँडे पोथ्रो जस्तो हुनेछ भनेर परमेश्वर यर्मियाह द्वारा यसरी भन्नुहुन्छ;

श्रापित होस्‌ त्‍यो मानिस, जसले मानिसमाथि भरोसा राख्‍तछ, र शारीरिक शक्तिमाथि भर पर्दछ, जसको हृदय परमप्रभुदेखि तर्किगएको छ। 6त्‍यो उजाड़-भूमिको पोथ्रोझैँ हुनेछ। उन्‍नति आउँदा त्‍यसले देख्‍नेछैन। त्‍यो मरुभूमिका सुक्‍खा ठाउँहरूमा बस्‍नेछ, अर्थात्‌ नूनको जमिन जहाँ कोही पनि बस्‍दैन।  7तर त्‍यो मानिस धन्‍यको हो, जसले परमप्रभुमा भरोसा राख्‍तछ, जसको आशा परमप्रभु हुनुहुन्‍छ। 8त्‍यो पानीको किनारमा रोपेको रूखजस्‍तो हुनेछ, जसले आफ्‍ना जराहरू खोलाका किनारसम्‍म फिँजाएको हुन्‍छ। गर्मी हुँदा त्‍यो डराउँदैन, त्‍यसका पातहरू सधैहरियै हुन्‍छन्‌। खड़ेरीको समयमा त्‍यसलाई केही चिन्‍ता हुँदैन, त्यसले फल फलाउन कहिल्‍यै चुक्‍दैन (यर्मिया १७.५-८)।

त्यसकारण मित्र, जीवनलाई रहरलाग्दो र हरियालीले भरिएको देख्‍न चहानुहुन्छ भने येशूले भनेका कुरामा ध्यान दिनुहोस्।  प्रार्थनामा निरन्तर लागि रहनुहोस्।  पवित्र आत्माको फल फलाउनुहोस् र पापमय स्वभावका कार्यलाई जीवनबाट निर्मूल पार्नुहोस्।आफ्नोतर्फको जिम्मेवारी तपाइँले पुरा गर्नुभयो भने येशूले तपाइँको जीवनमा चमत्कार गर्नुहुनेछ।  तपाइँको जीवन खोलाको किनारमा रोपेको रूख जस्तै फलवन्त र हरियालीले भरिएको हुनेछ!

January 17, 2019

How Big Is Your House?

One of the advantages I have from being abandoned at birth is that I can never feel at home in this world.  There is no desire to settle down here.  I want to keep walking; keep moving along my heavenward journey.  A. E. Brumley penned this beautiful hymn nearly a century ago that captures the sentiment so very well.    
This world is not my home
I’m just a-passing through
My treasures are laid up
Somewhere beyond the blue.
The angels beckon me
From heaven’s open door
And I can’t feel at home
In this world anymore.

When I was eleven years old, I was united with my parents but it never felt like home.  I gave my life to Christ at eighteen and once again I had to hear my father denounce me saying that I would have no share in family inheritance.  Those words of warning fell in my deaf ears as Christ had become everything to me.  When my earthly father was denouncing me, I could hear my Lord say “in my father’s house are many mansions” (John 14:2) and “I have come that they (you) may have life and have it abundantly” (John 10:10).

It is now almost 35 years and his abundance continues to amaze me here on earth and his visions of mansions in celestial city never fail to excite me on this heavenward journey.  “Times of refreshing” keep waiting for me at every turn and steep; when my journey gets harder and burden gets heavier (Acts 3:19).  He keeps preparing a “table before me in the presence of my enemies” (Ps. 23:5). 

Many children of God live unfulfilled life because they focus too much on the things of this world.  Seldom do they set their minds on the things of heaven.  The Bible says; “Set your mind on things above, not on earthly things” (Col. 3:2).  Going against the written word of God in the Bible will always invite lack and misery. 

Knowing how setting our mind on earthly things makes us miserable, Jesus said; “do not worry saying ‘what shall we eat?’ or ‘what shall we drink?’ or what shall we wear?’ … your heavenly father knows that you need them.  But seek first his kingdom and his righteousness, and all these things will be given to you as well” (Matt. 6:31-33).

The amazing thing about living by faith in God is that even though we are not thinking about the earthly things, God in his divine grace meets all our needs according to his richness in glory (Phil. 4:19).  The more we seek heavenly things, the more God supplies our earthly things!

For those who have never experienced divine provision in life, this may sound very strange.  But those who truly seek God’s kingdom and righteousness can testify how a carefree life it is to live by faith!  We don’t have to have a care in the world for our material needs because God cares for us (1 Peter 5:7).

Sadly, if we don’t choose to live by faith, then, we choose to live by greed, and greed chokes everything out of life.  Jesus said; “the cares of this life, the deceitfulness of wealth, and the desire for other things come in and choke the word, and it becomes unfruitful” (Mark 4:19).  What a waste of life!

On the other hand, if you “delight yourself in the Lord, he will give you the desires of your heart” (Psalms 37:4).  In other words, if you are grateful to the Lord for small things in life, he will give you big things that surprise you.  And, not to mention the mansions in father’s house!

January 15, 2019

भोलि पछुताउनुपर्ने गरी जीवन नबिताउँ!

१७औं शताब्दीका फ्रान्सेली विद्वान ब्लेज पास्कल भन्छन्; "येशू ख्रीष्टबिना मानिसले आफ्नो जीवन के हो? मृत्यु के हो? परमेश्वर को हो? र ऊ आफै को हो? भनी ज्ञान हासिल गर्ने कुनै आधार छैन"।
त्यसैकारण मित्र, यदि तपाईंले येशूलाई भेट्नुभएको छ भने जीवन के हो भनेर जान्नुभएको छ। जीवन कसरी जीउने भनी थाहा पाउनुभएको छ।
येशूले भन्नुभयो; "म तिमीहरूलाई प्रशस्तताको जीवन दिन आएँ"। प्रशस्त खुसी, आनन्द, उद्देस्य र अर्थले भरिएको जीवन।
येशूलाई भेट्न अघि मेरो जीवनको परिभाषा अरू मानिसले गरेको थियो। मेरो किताब "ज्योतिषीले भत्काएको जीवन"मा मैले यसको लामो बयान गरेको छु।
तर येशूलाई भेटे पछि अरू मानिसले मेरो बारेमा के भन्छन् त्यसको मलाई कुनै पर्बाह छैन कारण मेरो अन्तिम भलो चाहने केबल येशू मात्रै हुनुहुन्छ। उहाँले मलाई दिएको प्रशस्ततामा मैले जीउन जानेको छु, छानेको छु।
तपाईंको जीवन कस्तो छ? के जीवनको अर्थ र उद्देस्य हात पार्नुभएको छ? के त्यो अर्थ र उद्देस्यले तपाईंको मृत्यु पछिको जीवनलाई पनि समेटेको छ? मरे पछि म स्वर्ग जान्छु नै भन्ने निश्चयता पाउनुभएको छ? येशूले भन्नुभयो "बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ (स्वर्ग) आउन सक्दैन"।
येशूलाई चिन्नुभएकोछ भने तपाइँसँग प्रशस्तताको जीवन छ। प्रत्यक दिनको जीवन रहरलाग्दो बन्नसक्छ। समयको नदी बग्दै गए पनि फर्केर हेर्दा हामीलाई कुनै पछुतो लाग्दैन। आजको दिनमा जीवन कठिन छ भने पनि हामी हरेस खाँदैनौं किनभने येशूले हामीलाई हाम्रा कठिनाइमा साथ दिने प्रतिज्ञा गर्नुभएको छ। उहाँ भन्नुहुन्छ "हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ र म तिमीहरूलाई विश्राम दिनेछु"।
त्यसकारण मित्र, अरू मानिसलाई तपाईंको जीवन परिभाषित गर्न नदिनुहोस्। अरू मानिसले तपाईंको खुसीको सिमा नकोरोस् कारण येशूले हामीलाई अपार शान्ति, आनन्द र खुसीको प्रतिज्ञा गर्नुभएको छ।
तलको तस्बीर हामीले दश वर्ष अघि कोरियामा रहँदा खिचेका थियौं। आज हामी भारतको गुवाहाटीमा बस्छौं। कोरियाको दाँजोमा यो सहर धेरै पछि छ तर हाम्रो जीवनमा आनन्द र खुसीको कमि छैन कारण हामी जहाँ भए पनि जीवनको उद्देस्य र अर्थ हामीले येशूमा पाएका छौं। त्यसैकारण हरेक दिन हाम्रा लागि रहर लाग्दो बन्दछ। भोलि यो ठाउँ छोडेर अर्कै ठाउँमा जाँदा जब हामी यो समयलाई फर्केर हेर्नेछौं तब त्यो बेला पनि आनन्दित हुनेछौं। आजको दिन हामी आनन्दित छौं भने हाम्रो हिजो र भोलि आफै आनन्दित हुनेछ।
भोलि पछुताउनुपर्ने गरी जीवन नबिताउँ!

January 2, 2019

मण्डलीमा हाँसो वा आँसु ल्याउने विश्वासी

हिन्दी सिनेमा हेर्ने साधारण दर्शक देखि भारतका प्रधानमन्त्रीले हाँस्य कलाकार कादर खानको निधनमा दुःख व्यक्त गरेका छन्।  सन् २०१८को अन्तिम दिन ८१ वर्षको उमेरमा खानले यो संसार छोडे।  त्यसैगरी केही वर्ष अघि विश्वका अधिकाङ्स मानिसलाई आफ्नो हाँस्य कलाकारिताद्वारा दुःख बिर्सन मदत गर्ने मानिस रबिन विलियमस्ले संसार छोड्दा धेरै रोएका थिए। 

आधुनिक संसारको उदयसँगै जन्मेको सिनेमाको संसारलाई हामीले हेर्‍यौं भने हाँस्य फिल्महरूले प्रारम्भकालबाटै अग्रिम स्थान लिएको छ।  चार्लि च्यापलेन र मिस्टर बिनको बारेमा नसुन्ने मानिस संसारमा बिरलै होलान्। 

संसार दुःखले भरिएको छ।  विश्वप्रख्यात मनोवैज्ञानिक जोर्डन पिटरसन भन्छन् “जीवन एक वियोगान्त (ट्य्राजिडि) हो”।  उनको यो भनाइको पछाडि वर्षौं सम्म धेरै मानिसलाई जीवनसँग सङ्घर्ष गर्न आफूले दिएको परामर्शको अनुभव छ।

पास्टरीय सेवाले मलाई पनि मानिसको जीवनलाई नजिकबाट नियाल्ने मौका दियो।  जीवनमा दुःख वा समस्या नभएको ख्रीष्टियान विश्वासी आज सम्म भेटेको छैन।  कुनै न कुनै क्षेत्रमा, आज नभए भोलि, आफू निर्दोषहुँदा पनि मानिसले दुःख भोगी नै रहेका हुन्छन्।  जीवजन्तुको संसारलाई क्यामराले कैद गरेका भिडियो हेर्‍यौं भने त्यो संसारको दुःख अझै दर्दनाक छ।  अपराधी मानसिकताका मानिसले शक्तिको आडमा निर्दयी पशु सरहनै धेरै मानिसको जीवनलाई तहसनहस गर्दै आएका छन्।  विगतको दास प्रथा, निरङ्कुश शासकहरू र आजको मानव बेचबिखन र सामन्ती सोचका मानिसहरूले धेरैको जीवनलाई नारकीय बनाएको छ। 

यहूदी बिद्वान भिक्टोर फ्य्राङ्कल नाजी ग्याँस भट्टीबाट बच्न सफलभएपछि आफ्नो अनुभवको आधारमा भन्छन् “मैले मानिसमा सबैभन्दा उत्तम र घृणित कुरा देखेको छुँ”।  उनी भन्छन् कि ती ग्याँस भट्टीमा निर्दोष मानिसलाई बन्द गरेर उनीहरूलाई जलाउन आगो सल्काउने व्यक्ति पनि मानिस नै हो र ती ग्याँस भट्टीमा जलाइनको लागि छिर्दाखेरी मुखमा प्रभुको प्रार्थना र शेमा (यहूदी प्रार्थना) उच्चारण गर्दै र तीनै नाजीलाई क्षमा दिने व्यक्ति पनि मानिस नै हो।  तर एउटा घृणित कुराले भरिएको छ भने अर्को असल (उत्तम) कुराले।  दुष्टताले भरिएको मानिसले अरूलाई दुःख दिन मनपराउँछ भने भलाइले भरिएको मानिसले दुःखमा परेकालाई सान्त्वना दिन।  त्यसैकारण बाइबल भन्छ “जब धर्मीको उन्नति हुन्छ, तब सहरै आनन्दित हुन्छ।  जब दुष्टको नाश हुन्छ, तब रमाहट हुन्छ।  धर्मात्माको आशीर्वादले सहरको उन्नति हुन्छ, तर दुष्टहरूको मुखले त्यसको भताभुङ्ग हुन्छ” (हितोपदेश ११.१०-११)।

प्रिय मित्र, हामीमा पनि धर्मी वा दुष्ट बन्नसक्‍ने सम्भावनाहरू छन्।  चाहेको खण्डमा हामी पनि मानिसको जीवनमा हाँसो वा आँसु ल्याउन सक्छौं।  हो, हामी कादर खानले जस्तै करोडौं मानिसको जीवनमा हाँसो ल्याउन नसकौंला तर हामी बसेको ठाउँमा, हाम्रा चारैतिर रहेका मानिसको जीवनमा कि हाँसो कि आँसु ल्याउन सक्छौं।  हामी दुष्टताले भरिएका छौं भने आँसु ल्याउने छौं।  भलाइले भरिएका छौं भने हाँसो।  असल मानिस हौं भने हाम्रो उन्नतिमा र दुष्ट हौं भने हाम्रो पतनमा मानिसहरू रमाउने छन्। 

पास्टरको नाताले मैले मानिसको जीवनलाई मुल्याङ्कन गर्ने आधार स्थानीय मण्डलीमा खेलेको भुमिका नै हो कारण हाम्रो लागि मण्डली एउटा परिवार हो र त्यो नै हाम्रो संसार हो।  हाम्रो कारण त्यो मण्डलीका सदस्यहरूमा हाँसो थपिएको छ भने हामी असल मार्गमा हिँड्दै छौं।  हाम्रो उन्नतिमा त्यहाँका मानिसहरू रमाउनेछन् र आफ्नो दुःखलाई केही समयको लागि भएपनि भुल्नेछन्।  तर स्थानीय मण्डलीका सदस्यहरूको जीवनमा हाँसो ल्याउनुको सट्टा उनीहरूको जीवन र मण्डलीमा आँसु ल्याइरहेका छौं भने, त्यो असल मार्ग होइन।  त्यसले हाम्रो पनि भलाई गर्ने छैन कारण हामी जे छर्छौं त्यसको कटनी गर्ने छौं। 

प्रेरित पावल भन्छन् “भलाइ गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्मत हारेनौं भने ठीक समयमा हामी कटनी गर्नेछौं।  यसकारण मौका पाएअनुसार हामी सबै मानिसको भलाइ गर्दैजाऔं, विशेष गरी तिनीहरूको, जो हाम्रो विश्वासका परिवारका हुन्” (गलाती ६.९-१०)।  यसरी यदि हामी स्थानीय मण्डलीमा भलाइ गर्ने मानिस हौं भने परमेश्वरले हामीलाई संसारका धेरै मानिसको जीवनमा हाँसो ल्याउने मानिस पनि बनाउन सक्नुहुनेछ।  आनन्द गर्नेहरूसँग आनन्द गर्दै र रुनेहरूसँग रुदै” (रोमी १२.१५) हामी दुःखी मानिसहरूका निम्ति परमेश्वरका सान्त्वनाका साधन बन्नसकौं!  हामी मरेर जाँदा मानिसमा खुसीको सट्टा पिडाका आँसु झरुन्!