January 23, 2019

रहरलाग्दो जीवन सम्भव छ!

परमेश्वरीय प्रकाशमा ध्यान दिने मानिसको लागि बाइबलीय जीवन अती नै रहरलाग्दो बन्नसक्छ।  पहिलो पटक बाइबल हातमापर्दा म १७ वर्षको थिएँ।  पढ्दै जाँदा मत्ती ७को ७मा मेरो आँखा अडियो जहाँ येशूले भन्नुभएको छ “माग, पाउनेछौ, खोज, भेट्टाउनेछौ, र घचघचाउ, ढोका उघारिनेछ”।  ख्रीष्टीयन मित्रहरूसँग राम्रो चिनजान नभएको कारण कैलालीको उध्योगवाणिज्य सङ्घमा कार्यरत मेरो गाउँकै एकजना पाठक दाइलाई यसको बारेमा सोध्‍न उहाँकै कार्यालयमा पुगेको थिएँ।  उहाँले पनि बाइबल देखेकै रहेनछ।  उल्टै यस्तो किताब पढ्नुहुँदैन भनेर सल्लाहा दिनुभयो।  केही नलागेपछि येशूको त्यो वाक्याङ्सलाई जीवनमा परिक्षण गर्ने निर्णय गर्दै मैले येशूसँग एउटा असम्भव कुरा मागें।  छ महिना सम्म त्यो कुरा मागी नै रहें तर त्यो छ महिनाको अन्तिममा पाउनुपर्ने कुरा पाइएन।  मलाई लाग्यो कि मेरो माग अलि अस्वभाविक नै भएर होला येशूले नदिएको।

त्यसपछि येशूसँग मैले कस्तो सम्बन्ध राख्‍ने भनी विचार गर्दा गर्दै तीन महिना बिते।  नौ महिना अघि मैले येशूलाई भनेको थिएँ कि यदि उहाँले मेरो माग पुरा गरेको खण्डमा म मेरो सम्पूर्ण जीवन उहाँकै सेवामा समर्पण गरिदिनेछुँ।  जब माग पुरा भएन, म अन्यौलमा परें।  तर एक दिन अचानक मेरो त्यो अनिर्णय चकनाचुर भयो।  तीन महिना अघि पाउनुपर्ने कुरा रहस्यमय ढङ्गले ढिला भएर तीन महिना पछि मेरो हातमा जस्तो मागेको थिएँ त्यस्तै पर्‍यो!  मेरो लाटो दिमागले पनि भन्न थाल्यो कि येशू साँच्‍चै नै मानिसले मागेका कुरा सुन्नसक्ने जीवित परमेश्वर हो।  एउटा हिन्दु गाउँले केटोले लगातार छ महिनासम्म उहाँसँग उसले जे मागेको थियो त्यो उहाँले नौ महिना पछि जस्ताको त्यस्तै उसको हातमा दिनुभयो र उसको भविस्यलाई नै बदलिदिनुभयो!  त्यसपश्च्यात, कुनै आनाकानी नगरिकन, मैले मेरो जीवन उहाँको सेवाको लागि समर्पण गरिदिएँ।

फर्केर हेर्दा आज उहाँको सेवामा लागेको पनि दशकौं भैसकेछ।  जीवन दिनानुदिन रहरलाग्दो हुँदै गएको छ। मेरो लागि  येशूको सेवागर्नु भन्दा उत्तम अर्को उद्देस्य यो संसारमा छैन।  हामीले संसारमा रहुन्जेल जुनसुकै पेशा अपनाए पनि त्यसको मुख्य उद्देस्य येशूको सेवा गर्नु हो।  येशूमा विश्वास गर्ने प्रत्यक विश्वासी उहाँको सेवक हो।
 
कतिपटक हामी येशूको सेवा भन्नाले संसारका सबै काम धन्दा छोडेर उहाँको पछि जोगी बनेर लाग्‍ने कुरा जस्तो ठान्दछौं।  हो, कसै-कसैलाई उहाँले त्यसरी पनि बोलाउन सक्‍नुहुन्छ।  तर अधिकाङ्स मानिसलाई उनीहरूकै क्षेत्रमा दक्षता र सफलता दिएर आफ्नो महिमाको लागि परमेश्वर चलाउन चहानुहुन्छ। 

येशूको सेवाको कुरा गर्दा हामीले उहाँका आज्ञालाई भुल्नुहुँदैन।  सम्पूर्ण बाइबललाई सारांसमा सिमित पार्दै येशूले भन्नुभयो; “परमेश्वर एक हुनुहुन्छ र तैंले उहाँलाई आफ्नो सारा हृदयले, सारा प्राणले, सारा समझले र सारा शक्तिले प्रेम गर्, यो पहिलो आज्ञा हो।  दोस्रो; तैंले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्” (मर्कूस १२.२९-३१)।  यी दुई वटा आज्ञामा हामी तीन वटा कुरा देख्‍छौं; परमेश्वर, छिमेकी र आफू।  परमेश्वरलाई प्रेम गर्नुमा अन्यौल छैन।  तर छिमेकीलाई प्रेम गर्दा आफूलाई जस्तै गर्नुपर्ने भनी अड्को थपिएको छ।  धेरै मानिसहरू आफूलाई साँचो प्रेम गर्न सक्दैनन्।  आफूलाई प्रेम गर्न नसक्‍नेले छिमेकीलाई प्रेम गर्न सक्दैन।  छिमेकीलाई प्रेम गर्न नसक्‍नेले परमेश्वरलाई प्रेम गर्न सक्दैन।  परमेश्वरलाई प्रेम गर्न नसक्‍नेले उहाँबाट पाइने रहरलाग्दो जीवनको अनुभव गर्न सक्दैन।

कतिपटक पूर्णकालिन सेवामा लागेका पास्टर अगुवाको जीवनलाई हेर्दा रहरलाग्दो नभएर दिक्‍कलाग्दो देखिन्छ।  दिक्‍कलाग्दो जीवन भएको पास्टर वा गोठालोको सेवामुनि रहेका विश्वासीहरूमा पनि यसले असर गरेको हुन्छ।  यो दिक्‍कलाग्दो जीवन हुनुमा छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्न नसक्‍नु एउटा मुख्य कारण हुनसक्छ।  आफूलाई प्रेम गर्न नसक्‍नुमा पनि धेरै कारणहरू हुनसक्छन् जस्तै; लोभ, डाहा, अभिलाषा, घृणा, रिस, घमण्ड, हिनतावोध, र आदि।  बाइबलले यस्ता कुराहरूलाई “पापमय स्वभावका काम” भनेको छ (गलाती ५.१९-२१)।  यस्ता आचरणको मानिसले आफूलाई प्रेम गर्न सक्दैन।  आफूलाई प्रेम गर्ने मानिसले यस्ता आचरणलाई जीवनमा रहन दिदैन कारण यी आचरणले उसको जीवन नाश गर्छन् भन्ने कुरा उसलाई थाहा हुन्छ।

आफूलाई प्रेम गर्ने मानिसले जीवनमा प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाई, विश्वस्तता, नम्रता, संयम जस्ता आचरणलाई स्थान दिएको हुन्छ।  बाइबलले यी कुराहरूलाई “पवित्र आत्माको फल” भनेको छ (गलाती ५.२२-२३)।  जब यस्ता कुराहरूले उसको जीवन भरिएको हुन्छ तब उसले आफ्ना छिमेकीलाई पनि आफूलाई जस्तै प्रेम गर्न सक्छ।  छिमेकीलाई प्रेम गर्ने मानिसले मात्रै परमेश्वरलाई चिनेको हुन्छ।

पवित्र आत्माको फलले भरिएको मानिसको जीवन खोलाको किनारमा रोपेको रूख जस्तो हुनेछ भने पापमय स्वभावका कामले भरिएको मानिसको जीवन उजाड स्थानमा रहेको काँडे पोथ्रो जस्तो हुनेछ भनेर परमेश्वर यर्मियाह द्वारा यसरी भन्नुहुन्छ;

श्रापित होस्‌ त्‍यो मानिस, जसले मानिसमाथि भरोसा राख्‍तछ, र शारीरिक शक्तिमाथि भर पर्दछ, जसको हृदय परमप्रभुदेखि तर्किगएको छ। 6त्‍यो उजाड़-भूमिको पोथ्रोझैँ हुनेछ। उन्‍नति आउँदा त्‍यसले देख्‍नेछैन। त्‍यो मरुभूमिका सुक्‍खा ठाउँहरूमा बस्‍नेछ, अर्थात्‌ नूनको जमिन जहाँ कोही पनि बस्‍दैन।  7तर त्‍यो मानिस धन्‍यको हो, जसले परमप्रभुमा भरोसा राख्‍तछ, जसको आशा परमप्रभु हुनुहुन्‍छ। 8त्‍यो पानीको किनारमा रोपेको रूखजस्‍तो हुनेछ, जसले आफ्‍ना जराहरू खोलाका किनारसम्‍म फिँजाएको हुन्‍छ। गर्मी हुँदा त्‍यो डराउँदैन, त्‍यसका पातहरू सधैहरियै हुन्‍छन्‌। खड़ेरीको समयमा त्‍यसलाई केही चिन्‍ता हुँदैन, त्यसले फल फलाउन कहिल्‍यै चुक्‍दैन (यर्मिया १७.५-८)।

त्यसकारण मित्र, जीवनलाई रहरलाग्दो र हरियालीले भरिएको देख्‍न चहानुहुन्छ भने येशूले भनेका कुरामा ध्यान दिनुहोस्।  प्रार्थनामा निरन्तर लागि रहनुहोस्।  पवित्र आत्माको फल फलाउनुहोस् र पापमय स्वभावका कार्यलाई जीवनबाट निर्मूल पार्नुहोस्।आफ्नोतर्फको जिम्मेवारी तपाइँले पुरा गर्नुभयो भने येशूले तपाइँको जीवनमा चमत्कार गर्नुहुनेछ।  तपाइँको जीवन खोलाको किनारमा रोपेको रूख जस्तै फलवन्त र हरियालीले भरिएको हुनेछ!

No comments:

Post a Comment