February 28, 2018

धन्य नेपाली ख्रीष्टीयान विश्वासी!

धन्य नेपाली ख्रीष्टीयान विश्वासी!  तिमी कति उदार, कति आत्मिक, कति ज्ञानी, कति सहनसील, कति निश्छल।  तिमीले येशूलाई विश्वास गर्दा कति दुःख, कष्ट, हेला, खेदो र सतावट खेप्नुपर्‍यो।  गाउँलेले पानी वारे।  छिमेकीले पैसामा बेचिएको भने।  आफन्तले नाता नै तोडे।  कतिलाई त गाउँबाटै लखेटियो, कतिलाई सरकारले नै जेल हाल्यो।  कति कुटिय, कति पिटिय त कतिले येशूमा राखेको विश्वासको कारण ज्यानै गुमाए।  तापनि येशूले दिनुभएको पाप क्षमा र अनन्त जीवनलाई तिमीले समातिनै रह्यौ।   चर्चमा जान डाँडा पाखा काटेरै, खोला नाला तरेरै र घाम पानी केही नभनि शनिवारको सेवामा उपस्थितहुन कहिल्यै छोडेनौ।  आफ्नो कमाइको दशांस आदर र भक्ति साथ चर्चको भेटीमा हाल्नपाउँदा कति खुसी हुन्छौ।  खेतबारीमा फलेको पहिलो फल पनि चर्चमा रमाइ रमाइ ल्याउँछौ।  धन्यवाद भेटी, विश्वासको भेटी, प्रतिज्ञाको भेटी; जुनसुकै भेटीमा उत्सुकताकासाथ भाग लिन्छौ।  येशूले भनेको वचन “लिनु भन्दा दिनु असल हो”लाई हृदयबाटै विश्वास गर्छौ।

हिजो अस्ति “ख्रिष्तानी” वा “यिसु धर्म मान्ने” भनि हेला गर्ने र खिल्ली उडाउने छिमेकीलाई आदरसाथ बाटोमा भेट्दा अभिवादन गर्छौ।  मौका मिलेमा सुसमाचार पनि सुनाउछौ।  प्रार्थना त उनीहरूकालागि दिनदिनै गर्छौ।  चर्चमा हुने प्रार्थना सङ्गति, दिदीबहिनी सङ्गति, दाजुभाइ सङ्गति र घरेलु सङ्गतिमा सकेसम्म पुगेकै हुन्छौ।  छोराछोरीलाई पनि येशूको मार्गमा हिँडाएकाछौ।  उनीहरूपनि चर्चमा जान निकै उत्सुक हुन्छन्। 

तिम्रो मन यति निश्छल भैसक्यो कि एक जना बाहेक तिम्रो लागि यो संसारमा न कुनै दुष्मन, न कुनै शत्रु।  जसलाइपनि दया र प्रेमको भावनाले हेर्छौ।  कतिले त तिम्रो निर्मल हृदयको कारण तिमीलाई ठगिसकेकाछन् तर तिनीहरूलाई सजिलै क्षमा दिएका छौ।  दिन्छु भनि सापटी लगेको पैसा वर्षौं बित्दा पनि दिनुको सट्टा उल्टै तिनीहरू तिमीलाई नै “विदेशीको पैसा खाने” भनेर बदनाम गरिरहेकाछन्।  तर तिमीलाई फिक्री छैन।  अँझै पनि उनीहरू आएर सहयोग मागेको खण्डमा तिमी सक्दो सहायतागर्न अग्रसर भैहाल्छौ।  धन्य नेपाली ख्रीष्टीयान विश्वासी!

तिमी यतिधेरै निर्दोष भैदियौ कि अब त तिमीमाथि आत्मिक शासन गर्नेहरूले तिमीलाई सजिलै बलिको बोका बनाउनसक्छन्।  येशूको लागि दुःख भोग्‍ने तिमी तर तिम्रो दुःखलाई कलम र क्यामेराले चोर्दै विदेशी बजारमा बेचेर पैसा कमाउने तिम्रो “गुरुबा”।  सुसमाचार सुनाएर मानिसलाई चर्चमा ल्याउने तिमी तर त्यसको फाइदा उठाउने तिम्रो “गुरुबा”।  हड्डी फुटाएर कामगर्दै कमाएको रकमबाट दशांस दिने तिमी तर त्यो पैसामा मनपरी गर्ने तिम्रो “गुरुबा”।  हुँदा हुँदा तिमी यति उदार भैसक्यौ कि अब त तिम्रो गुरुबाले तिम्री चेलीबेटीको यौन शोषणगर्दा पनि तिमी चुपै लागेर बस्न सक्छौ किनभने गुरुबाले सिकाउनुभएकोछ “न्याय नगर” भनेर।  तिम्रो गुरुबाले दिनदाहाडै व्यभिचार गरेको थाहा पाएपनि तिमी त सजिलै क्षमा दिनसक्छौ।  देखाउने श्रीमती एउटा भए लुकाएका जतिसुकै श्रीमती भएपनि तिमीलाई त्यसको कुनै मतलब छैन कारण गुरुबाले भन्नुभएको छ कि सबैले उहाँको सेवा गर्नुपर्छ रे।  उहाँको विरूद्दमा बोलेको खण्डमा परमेश्वरले आशिष् दिनुहुन्न रे। 

देश विदेशमा गएर चर्चको लागि भन्दै हुनुनहुनु झूट बोलेर उठाएको दानले बनाएको गुरुबाको महलमा जाँदा “प्रभुको आशिष् कति महान” भन्दै तिमी छक्क पर्छौ।  मण्डलीमा ती गुरुबालाई “मलाई शीरमा हात राखेर आशिष् दिनुहोस्” भनि प्रार्थना गरिमाग्दा तिमीलाई कुनै अप्ठ्यारो लाग्दैन।  तिमीलाई त आफ्नो गुरुबाप्रति यति आदर र विश्वास छ कि उनले व्यभिचार, भ्रष्टाचार, अत्याचार, जे गरे पनि त्यो आत्मिक कार्य नै हो भन्ठान्छौ।  गुरुबाले अह्राएको जुनसुकै कामलाई तिमी खुसीसाथ पुरागर्न चहान्छौ।  बाइबलको विरुद्दै जानुपरेपनि गुरुबाको आज्ञा पालनगर्न तयार हुन्छौ।  त्यसमाथि यदि तिम्रो गुरुबा विदेशी हो भने त झनै गजब।  विदेशी होइन तर वर्षमा धेरैपटक गोरा, खैरा, पहेँला र काला छालाकाहरूलाई चर्चमा उफार्न सक्छ भने तिमीलाई त नेपाली गुरुबा पनि विदेशी नै लाग्न थाल्छ।  अलि अलि अङ्ग्रेजी बोल्नसक्छ भने सुनमा सुगन्ध तिम्रो लागि।  किनेको नकली डक्टरको उपाधीमा “रेभरेन्ट डाक्टर पास्टर फलानो गुरुबा” भनी सम्बोधन गर्दा तिमीलाई सारै गर्व लाग्छ।  कसैले तिम्रो गुरुबाको विरोध गरेको तिमी सहन सक्दैनौ; तिम्रो एकमात्र दुष्मन भनेको त्यो हो जसले तिम्रो गुरुबाको पापलाई औल्याउँछ।  सयाद संसारमा तिमी जस्तो निश्छल र निर्मल विश्वासी अन्त कतै छैनन् होला।  धन्य नेपाली ख्रीष्टीयान विश्वासी!  स्वर्गमा साँच्चै तिम्रो इनाम ठूलो छ!

2 comments:

  1. Anonymous1/11/2024

    Andho bhakta

    ReplyDelete
  2. Anonymous1/11/2024

    वास्तविक झल्किएको छ हजुरको लेखमा।

    ReplyDelete