March 1, 2018

मण्डलीमा सुधार ल्याउन सजिलो छैन तर आवस्यक छ


इसाई समाजमा मण्डलीमाथि अगुवाहरूले गर्दै आएको मनमानीको विरुद्ध कसैले केही बोल्ने प्रयास गरेको खण्डमा त्यो आवाजलाई दबाउन हरप्रयास गरिन्छ।  उग्र-स्वधर्मी चरित्र धारण गर्दै सोझा विश्वासीहरूलाई बहकाएर सुधारका आवाजहरूलाई टुसामै निमोठिदिन्छन् चतुर अगुवाहरू।  भारतमा प्रोफेसर बिशाल मंगलवादीले यस्ताहरूलाई "इसाई माफिया" वा "इभान्जेलिकल माफिया" भन्दै आएका छन् जसको कारण उनलाई भारतमा टिक्न अप्ठ्यारो परेको छ।  ज्यान मार्ने देखि जेल हाल्ने धम्की दिइरहेका छन् इसाई अगुवाहरू।  उनको दोष; "मिसन र मण्डलीहरूमा हुने भ्रष्टाचार र महिलामाथिको यौन षोशण रोकौं"।

पन्ध्रौं शताब्दीतिरको रोमन क्याथोलिक चर्चले आफ्नो भ्रष्टाचार र दुष्टतालाई लुकाउनको लागि विश्वासीहरूको आँखामा छारो हाल्न "इन्डल्जेन्स" वा "पापमोचन पत्र"को आविस्कार गरेजस्तै आजका अगुवाहरूले "कसैको न्याय गर्नु हुँदैन" भनि बाइबलको अपव्याख्या गर्दै सोझा विश्वासीको मगजमा डर हालेर उनीहरूको आवाजलाई बन्द गर्न सफल भएका छन्।  तापनि सत्यलाई लामो समयसम्म दबाएर राख्न सकिँदैन। 

यस्तो परिस्थितिमा पनि आज नयाँ पुस्ताका धेरै प्रभुका सेवकहरूले सत्यको पक्षमा आवाज उठाइरहेका छन्।  यो मण्डलीको लागि खुसीको कुरा हो।  तर यी सत्य र सुधारका आवाजहरू केबल मानवीय शक्तिमा सफल हुनेछैनन्।  द्वष र बदलाको भावनाबाट निकालिएका सुधारका आवाजहरूले साँचो परिवर्तन ल्याउन सक्दैनन् भन्ने कुरा मार्टिन लुथरको सङ्गी सुधारक थोमस मुन्टजर (Thomas Muntzer)को जीवनले ज्वलन्त उदाहरण दिएको छ।  मुन्टजर जोसिला प्रचारक थिए।  सुरूका दिनमा लुथरले उनलाई निकै आदर गरेका थिए तर जब उनको सुधारको आवाजमा मानवीय उग्रता र बदलाको भावना देखियो, तब  लुथर उनीबाट टाढीए कारण मानवीय शक्तिमा त्यो सुधारले सफलता पाउने सम्भावना थिएन।

मुन्टजरले पनि लुथरलाई "कायर" र "डरपोख बुङ्गुर" भन्दै त्यागे र आफ्नै उग्र-विद्रोहमा उत्रिए।  किसान र गरीबहरूलाई जमा गरेर एउटा सेना नै खडा गरे।  तर लुथरले आफ्नो सुधारको आवाजलाई घण्टौं सम्म प्रार्थना र परमेश्वरको वचनमा समय दिएर अगाडि सारे।  उनले आफ्नो लेखाईमा निकै कडा सब्दहरू प्रयोग गरेर त्यो बेलाको मण्डलीका भ्रष्टाचारी अगुवाहरुलाई सम्बोधन गरेपनि उनको मनमा व्यक्तिगत तहमा कसैप्रति दुष्मनी र बदलाको भावना थिएन।  पोपले पनि परमेश्वरको वचनलाई पहिलो स्थान दिएर मण्डलीमा भैरहेको भ्रष्टाचारलाई हटाउने वचन मात्रै दिएको भए सायद लुथरले नयाँ मण्डलीको सुरुवात नै हुनदिने थिएनन् होला। 

यसरी मुन्टजर दिनानुदिन मानवीय शक्तिमा सुधार ल्याउने प्रयासमा लागे भने लुथर रातदिन प्रार्थना, वचन प्रचार, अर्थपूर्ण पत्राचार र लेखन कार्यमा लागे।  फलस्वरूप, लुथरले मण्डलीमा भ्रष्टाचार निवारणको लागि उठाएको आवाजलाई १५१७मा एउटा मण्डलीको ढोकामा लेखेर टाँसे भने मुन्टजर सेना निर्माणमा लागे।  लुथरले धेरै पटक त्यो उग्रवादलाई त्यागेर प्रार्थना र वचनको आधारमा सुधारलाई अगाडी बढाउन राखेको आग्रहलाई मुन्टजरले लत्याइदिए।  नभन्दै १५२५मा शक्तिशाली मुजदुर सेना तयारगर्दै मुन्टजरले सुधारकोलागि धनीवर्ग र धर्मगुरूहरुको विरुद्ध युद्धको घोषणा गरे।  उता धनीवर्ग र धर्मगुरूहरूले पनि मजदुर सेनाको सामनागर्न झनै शक्तिशाली सेना तयार पारेको लुथरले थाहा पाएपछि उनी आफै ती मजदुरसेनाका किल्लामा गएर हिंसा त्याग्न मुन्टजरलाई अग्रह गरे तर झण्डै लुथरलाई नै उनीहरूले मारेनन्।  त्यसको केही महिनामै एक लाख भन्दा बढी मजदुरहरू मारिए र मुन्टजर र उनका सबै सहयोगिहरूको टाउको काटियो।  यसरी एउटा हुनुहार प्रचारक, सुधारक र परमेश्वरको सेवकले परमेश्वरकै शक्तिमा सुधारको काम गर्नुकोसट्टा मानवीय रिस र बदलाको भावनाले जीवनलाई नियन्त्रण गर्न दिएको कारण आफूमात्रै नाश भएनन् तर लाखौंको सपनालाई पनि पानीमा डुबाए।

मार्टिन लुथरले मानवीय भावनामा नभएर परमेश्वरको वचनको प्रकाश र पवित्र आत्माको आवाजलाई सुनेको कारण उनको आक्रोस परमेश्वरको महिमा र मण्डलीको सुधारको लागि थियो।  उनलाई पनि त्यो बेलाका भ्रष्टचारीहरूले सकेकोभए मुन्टजर भन्दा पहिल्यै मारिसक्थे तर लुथरले आफ्नो सुरक्षा परमेश्वरको हातमा छोडेको कारण उनको बचावटकोलागि परमेश्वरले राजकुमार फ्रेडरिक जस्तालाई प्रयोग गर्नुभयो जसले लुथरलाई अपहरण गरेर भएपनि दुष्मनहरूको हातबाट बचाए।  त्यो अपहरणकालमा लुथरले बाइबललाई जर्मन भाषामा उल्था गरेको कारण सारा जर्मन नागरिकहरूले आफ्नै भाषामा बाइबल उपलब्ध गराउने व्यक्ति लुथरलाई औधिनै माया गर्नथाले र रोमको शासकले फेरी लुथरमाथि हमला गर्न सकेन।  लुथर एउटा साधारण मानिस नै थिए।  तर उनले परमेश्वरलाई र उहाँको वचनलाई औधिनै माया गर्थे।  धण्टौं प्रार्थनामा विताउँथे।  आफ्नो घर बाइबल अध्यन गर्न चाहने सबैको लागि खुला राख्दथे।  भनिन्छ कि लुथरकी श्रीमती क्याथरिनले प्रत्यकदिन कम्तिमा पनि २० देखि ४० जनाको लागि खाना पकाउनुपर्थ्यो।  त्यो खाना खाने बेलामा पनि उनका चेलाहरूले उनलाई धेरै प्रश्नहरू गर्दथे।  लामो समय लाएर लुथरले ती प्रश्नको जवाफ दिएको देखिन्छ।  आज हामी ती खानाखानेबेलामा गरिएका कुराकानीलाई "लुथरका टेबुल टक" वा लुथरले टेबुलमा बोलेका कुरा भनेर पढ्न पाउँछौं।  यसरी लुथरले आफ्नो पूर्ण जीवनकालमा प्रभुको सेवा गरे र मण्डलीलाई परमेश्वरको वचनमा फर्काइछाडे। 

लुथरको जस्तै निश्छल मन भएको मानिसले जे गर्दछ त्यसमा शरीरका अभिलाषाहरूले कामगरेको हुँदैन जसको कारण उसले सत्यलाई सत्य र झूटलाई झूट भन्न सक्छ। शरीरका आभिलाषामा चलेको मानिसले सत्यलाई सत्य त भन्ने प्रयास गर्दछ तर झूटलाई झूट भन्न सक्दैन कारण त्यो गरेको खण्डमा उसलाई भौतिक घाटा लाग्दछ। त्यसकारण झूटलाई पनि सत्य भन्न पछि पर्दैन।    दु:खको कुरा मण्डलीमा प्राय शरीरका अभिलाषामा जीउनेहरूको नै बढी बोलबाला हुनेगर्दछ जसको कारण भौतिक लाभको लागि सेवामा लागेकाहरूलाई यिनीहरुले पनि चलाउन जानेका हुन्छन्।

यस्तो अवस्थामा मण्डलीमा सुधार ल्याउन परमेश्वरको शक्तिमा जीउने मानिसको आवस्यकता पर्दछ।  दानिएल एक यस्तै उदारहण हुन्। 

इसापूर्व झण्डै ६०५ तिर दानिएल र उनका साथीहरुलाई बाबिलोनमा कैदी बनाएर लगिएको थियो।  उनीहरूलाई बाबिलोनी चालचलन र धर्मकर्ममा तालिम दिएर राजकीय कार्यमा चलाउने निर्णय गरिन्छ।  यी यहूदी जवानहरूले त्यसलाई इन्कार गर्नु आफ्नो अन्त्य निम्त्याउनु थियो।  तर बाइबलले भन्छ; "दानिएलले राजकीय भोजन र दाखमद्य खाएर आफैलाई अशुद्ध नपार्ने निर्णय गरे, र तिनले यसरी आफैलाई अशुद्ध नपार्नलाई प्रमुख अधिकृतसँग अनुमति मागे।  अनि परमेश्वरले ती अधिकृतलाई दानिएलप्रति कृपा र सहानुभूति देखाउने तुल्याउनुभयो" (दानिएल १:८-९)। 

दानिएल र उनका मित्रहरूको विश्वासको कारण त्यो बेलाको सबै भन्दा शक्तिशाली साम्राट नबूकदनेसरले परमेश्वरको सामु आफ्नो घुँडा यसरी टेकेका थिए; "अब म, नबूकदनेसरले स्वर्गका महाराजाको प्रशंसा, बढ़िबढ़ाउ र महिमा गर्दछु, किनभने उहाँले जे गर्नुहुन्छ ठीक गर्नुहुन्छ, र उहाँका सबै मार्गहरू न्यायसङ्गत छन्‌। अनि उहाँले घमण्डीहरूलाई नम्र बनाउन सक्नुहुन्छ" (४:३७)।  महान सम्राट नबूकदनेसरले दानिएलका परमेश्वरको सामु घुँडा टेक्दै दानिएललाई त्यो साम्राज्यको प्रधानमन्त्री बनाएकाथिए भने उनको नाती (वा उनी पछिको तेस्रो प्रसाशक) बेलसजरले दानिएललाई दुर्व्यवहार गर्दै मन्दिरका वर्तनहरूलाई समेत अशुद्ध बनाउँदै परमेश्वरको विरुद्ध अहंकार देखाए।  उनी राजकीय भोजमा रमाइरहेको समय परमेश्वरको दण्ड उनको भित्तामा लेखिन्छ र त्यसै रात मादी शासक दाराले बाबिलोन कब्जा गर्दै बेलसजरलाई मारिन्छ। 

राजा दाराले सुसासनको लागि दानिएलको सहयोग माग्दछन् तर अन्य हाकिमहरूको दुष्ट योजनामा आफूले नचाहेरै दाराले दानिएललाई सिंहको खोरमा हाल्नुपर्‍यो।  रातभरि राजालाई निन्द्रा लागेन र बिहान झिसमिसेमै सिंहको खोरको नजिकैबाट मरिसकेको दानिएललाई यसरी बोलाउँछन्; "बिहान झिसमिसेको पहिलो किरणमा नै राजा उठेर आतुरीसाथ सिंहको खोरतिर गए।  जब उनी सिंहको खोरको नजिक आइपुगे, उनले दानिएललाई वेदनापूर्ण स्वोरमा बोलाए, “ए दानिएल, जीवित परमेश्वरका सेवक, के तिमीले निरन्‍तर सेवा गरेका तिम्रा परमेश्वरले तिमीलाई सिंहहरूबाट बचाउनुभएको छ?” (६:१९-२०)।  यो वेदनापूर्ण पुकारामा दानिएलको परमेश्वरमाथि राजाको विश्वास देखिन्छ।  नत्र यसरी राजा आफै गएर दानिएललाई बोलाउनु भनेको पागलपन ठहरिन्थ्यो कारण सबैलाई थाहा थियो दानिएल खोरमा झर्ने बितिक्कै सिंहहरूको सिकार भैसके भनेर।  वेदनाले भरिएको स्वोरमा राजा भन्छन् "तिमीले निरन्तर सेवा गरेका परमेश्वर"।  यसले दानिएलको परमेश्वरमाथि रहेको अविरल विश्वासलाई देखाउँछ।  जब सिंहको खोरबाट दानिएलले जवाफ दिन्छन् तब राजाको खुसीले सिमा नाँघ्छ र दानिएलका दुष्मनहरूको नरसंहार गर्दछन्।  दानिएल फेरी मादी साम्राज्यमा पनि प्रधानमन्त्री बन्छन् र राजाले परमेश्वरलाई यसरी महिमा दिन्छन्;
"म यो आदेश जारी गर्दछु कि मेरो राज्यभरका मानिसहरूले दानिएलका परमेश्वरको भय मान्नु र आदर गर्नुपर्छ। 'किनभने उहाँ जिउँदो परमेश्वर हुनुहुन्‍छ, र उहाँ सधैँभरि रहनुहुन्‍छ। उहाँको राज्य नष्ट हुनेछैन, उहाँका प्रभुत्वको अन्त कहिल्यै हुनेछैन। उहाँ छुटकारा दिनुहुन्‍छ र बचाउनुहुन्‍छ; उहाँ स्वर्गमा र पृथ्वीमा आश्चर्यकर्महरू गर्नुहुन्‍छ। उहाँले दानिएललाई सिंहहरूको शक्तिबाट छुटकारा दिनुभएको छ।'" (६:२६-२७)। 

जब फारसका राजा कोरेसले मादी राज्य कब्जा गरे, तब उनले पनि दानिएललाई प्रधानमन्त्री बनाउँछन् र दानिएलकै प्रभावमा हुनुपर्छ कोरेसले यहूदीहरूलाई आफ्नो देश फर्कने अनुमतिको लागि उर्दी निकाल्छन्।

यसरी आफ्नो जीवनकालमा निरन्तर प्रार्थना र परमेश्वरको वचनमा लागेको कारण दानिएलले तीनवटा महान साम्राज्यहरूलाई परमेश्वरको चरणमा ल्याउन सफल हुनुका साथै आफ्ना मानिसहरूलाई स्वदेशफिर्तीको निम्ती धेरै ठूलो भूमिका खेलेका छन्।  निश्छल मनले गरेको प्रार्थना र सेवामा परमेश्वरले आफ्नो शक्ति प्रकट गर्न मन पराउनुहुन्छ।

मण्डलीको सुधार र विकासको लागि आज यस्ता मानिसको आवस्यकता छ जसले झूटलाई झूट भन्न सक्नेछन्।  लोभको मूर्तीको सामु झुक्ने छैनन् तर सद्रक मेसक र अवेदनगो जस्तै आफ्नो विवेक र बोलावटलाई शुद्ध राख्न ज्यान दिन तयार हुनेछन्।  तब मात्रै हाम्रो मण्डली भावी पुस्तासम्म प्रभावकारी रहनेछ।  नत्र परमेश्वरको दण्ड नआउन्जेल लोभ र अभिलाषी अगुवाहरूले परमेश्वरको वचन प्रचार गर्नुको सट्टा आफ्नै अभिलाषा पुरागर्ने माध्यम मण्डलीलाई बनाइनै रहनेछन्। 

No comments:

Post a Comment