March 11, 2018

बोलावटमा विश्वासयोग्यताको मिठास

परमेश्वरको बोलावटलाई शिरोपर गर्नु सजिलो विषय होइन।  रहरले कोही येशूको सेवक बनेकोछ भने उसको बोलावटमै संका गर्नुपर्ने हुन्छ कारण येशूको बोलावटले हामीलाई क्रूश बोक्न बाध्य बनाउँछ।  बलिदान र त्याग हाम्रो जीवनसैली हुनजान्छ।  आफ्ना सपना, इच्छा र आकाङ्क्षालाई परमेश्वरको बोलावटको वेदीमा अर्पण गर्दै पारिवारिक सुख, शान्ति र सुरक्षाबाटपनि विमुख हुनुपर्ने दिन आउँछन्।  संसारिक दृष्टिकोणबाट हेर्दा येशूको सेवामा लागेको मानिसलाई सबैले मूर्ख ठान्छन्।  तर हामीलाई सेवामा बोलाउने येशूको त्यो आवाज हाम्रो अन्तस्करणमा गुन्जिरहेको हुन्छ।  हामी भित्रको एकलोपना, निरासा, डर, र चिन्ता जस्ता नकरात्मक भावनालाई त्यो आवाजले मेटाइदिन्छ।  एकदिन जब  हामी येशूको सामु उभिनेछौं, त्यतिबेला उहाँको मुखबाट “स्याबास, असल र विश्वासयोग्य सेवक” भनेको सुन्न पाउनु नै हाम्रो महान इनाम हुनेछ।  परमेश्वरले हामी जस्ता पापीलाई प्रेम गर्नुभयो, जीवन दिनुभयो र उहाँको सेवामा काम गर्न लायकका ठान्नुभयो।  उहाँको सेवाको कारण संसारमा जेजति गुमायौं त्यसको लेखा उहाँले राख्नुभएको छ।  हामीले गुमाएका कुराहरू नै स्वर्गमा हाम्रो “धन” वा “ढुकुटी” ठहरिनेछन्। 

स्वर्गमा सबै मानिसहरू बराबर हुनेछैनन्; हरेकले यो संसारमा रहुन्जेल प्रभुमा फलाएको फल, विश्वासयोग्ता, असल कार्य र उहाँको लागि भोगेको दुःखको आधारमा इनाम पाउनेछन् कारण परमेश्वर पक्षपाती हुनुहुन्न।  हिब्रूको लेखकले भन्छ “10परमेश्‍वर अन्‍यायी हुनुहुन्‍न, र तिमीहरूका काम र उहाँको खातिर सन्‍तहरूका सेवामा तिमीहरूले देखाएको प्रेम उहाँले भुल्‍नुहुन्‍न।  तिमीहरू अझै पनि त्‍यस्‍तै सेवा गरिराखेका छौ।  11हामी चाहन्‍छौं, कि तिमीहरू प्रत्‍येकले आफ्‍ना सम्‍पूर्ण आशा प्राप्‍त गर्नका निम्‍ति अन्‍त्‍यसम्‍मै त्‍यही तत्‍परता देखाउनेछौ” (६.१०-११)।

केही वर्ष अघि परमेश्वरले म र मेरो श्रीमतीलाई भारतको गुवाहाटीमा मण्डली स्थापना गर्ने प्रेरणा दिनुभयो।  त्यो बेलामा यो बोलावट निकै चुनौतिपूर्ण लागेको थियो।  धेरै पटक त परमेश्वरलाई अन्त कतै पठाउनुहोस् भनेर पनि प्रार्थनामा माग्यौं।  तर उहाँले जवाफ दिनुभएन।  सन् २०१६को मार्च महिनामा हामी गुवाहाटीमा सर्‍यौं।  यहाँ चिनेको कोही थिएन।  गुवाहाटी नजिकैको गाउँमा मेरी सासुआमा एक्लै बस्‍नुभएको कारण उनकै कटेरोमा हामीले पनि आफ्नो डेरा बसाल्यौं।  पाँच महिनासम्म यो सहरमा निकै उराठलाग्दो जीवन वितायौं।  सुसमाचार धेरैलाई सुनायौं, तर फल फलेन।  धेरै पटक नेपाल फर्कने मनस्थितिमा पनि पुग्यौं तर त्यो बोलावटको आवाजले हामीलाई छोडेन। 

सन् २०१६को जुलाई महिनामा विश्वासका साथ सहरमा प्रार्थनाको लागि एउटा ठाउँ भाडामा लिन सफल भयौं।  त्यतिबेला सम्म मेरो एकजना सालोको परिवार पनि दिल्ली छोडेर गुवाहाटीमै बसोवास गर्न आइसकेको थियो।  सालाकी श्रीमतीले गुवाहाटीमै बप्तिस्मा लिइन् तर त्यतिबेला सम्म हाम्रो चर्च नभएको कारण अर्कै चर्चमा लिनुपर्‍यो।  यसरी म र मेरी श्रीमती, सासुआमा, सालो र उसकी श्रीमती अनि पास्टर गणेश तामाङ्को छोरा निशान (डनबस्को युनिभर्सिटिमा अध्यनरत) लगाएत हाम्रो साप्ताहिक सेवाले आकार लिन थाल्यो।  त्यो वर्षको अन्तयतिर आइपुग्दासम्म पनि हाम्रो सदस्य संख्या ७ जना भन्दा माथि गएन।

तर २०१७को सुरुबाट परमेश्वरले हाम्रो पार्थनाको जवाफ दिनुभयो।  फाटफुट मानिसहरू आउनथाले।  सुसमाचार सुनाउँदा पनि सकारात्मक प्रतिकृया आउनथाल्यो र वर्षको अन्त्यमा हाम्रो सङ्गतिमा विश्वास गरेका भन्दा येशूलाई चिन्न चहानेको संख्या बढी हुन थाल्यो।  नयाँ वर्ष २०१८मा कतिले साँच्‍चै येशूलाई विश्वास गरेर बप्तिस्मा लिन चहान्छौं भनि राखेको चुनौतिलाई १० जनाले स्वीकार गरे।  २ महिनाको बप्तिस्मा सम्बन्धीको शैक्षिक कक्षामा बसे पछि १० मध्य ७ले मात्रै पानीमा जाने साहास गरे।  फेब्रूरी २५, २०१८ गुवाहाटी आशा मण्डलीको लागि धेरै खुसीको दिन हुनगयो कारण त्यो दिन पानीको बप्तिस्माद्वारा सात जनाले येशूलाई आफ्नो जीवन समर्पण गरे।  यो भन्दा पहिला उहाँहरू कसैको पनि येशूसँग कुनै नाता थिएन।  सहरबाट नजिकैको गाउँको एउटा सानो चर्चमा हामीले बप्तिस्मा कार्यक्रम राख्‍ने अनुमति माग्यौं।  बढो अप्ठ्यारो मानेर त्यो मण्डलीले हाम्रो लागि ढोका खोल्यो।  यहाँका स्थापित मण्डलीहरूमा धर्मकर्मको आत्माले गहीरो जरा गाडेको छ।  नयाँ आत्माहरू मण्डलीमा आएको विरलै पाईन्छ कारण इसाईहरूको जीवनसैली नै सुसमाचारको लागि बाधक बनेको छ।  तर हाम्रो मण्डलीमा सबै नयाँ सन्तानहरू भएको कारण यो दिन आनन्दको दिन थियो र मण्डलीका केही सदस्यहरू पनि हामीसँग त्यहाँ आएका थिए। 

यसरी दुई वर्षभित्रै यो नयाँ ठाउँमा नयाँ मण्डली स्थापना भैरहेको देख्दा येशूको बोलावटलाई स्वीकार गरेकोमा कुनै गुनासो छैन।  आइतवारको सेवामा पचासको हाराहारीमा हामीहरू जमा हुनथालेकाछौं र बप्तिस्माको लागि फेरी पनि अर्को समुह तयार हुँदैछ।  हो, कतिपटक हामी यहाँ आउनुअघि बसेको ठाउँ र गरिरहेको सेवालाई हेर्दा यो एकदमै सानो छ र प्रभावरहित जस्तो देखिन्छ।  तर जब हामी मण्डलीमा आउने विश्वासीहरूको अनुहारमा नयाँ आशा पलाएको देख्छौं, हाम्रो सपना साकार हुन्छ।  एक दिन जब हामी प्रभुको सामु उभिनेछौं त्यतिबेला निसंकोच भन्न सक्नेछौं कि “प्रभु, तपाईंले हामीलाई २ तोडा दिनुभयो, हामीले ४ बनाएकाछौं”!

भोलि म र मेरो श्रीमती नेपालमा रहेका आशा मण्डलीहरूलाई पनि उत्साहा दिनको लागि काठमाण्डो जाँदैछौ।  काठमाण्डो आशा मण्डली हाम्रो लागि एन्टिओकको मण्डली हो र पावल र बर्नबासले जस्तै आफ्नो बोलावटलाई पुरागर्दै मण्डलीमा फर्केझैं हामीलाई पनि धेरै उत्साहा मिलेको छ।  परमेश्वरले काठमाण्डो आशा मण्डलीलाई धेरै ठाउँमा मण्डली स्थापना गर्न प्रयोग गर्दै हुनुहुन्छ।

मेरा सामाजिक सन्जालका प्रिय विश्वासी मित्रहरूलाई हाम्रो लागि प्रार्थना गरिदिनुहोला भनि अनुरोध गर्न चाहन्छु।  परमेश्वरले सबैलाई आशिष् दिनुभएको होस्।

No comments:

Post a Comment