September 26, 2016

प्रिय इमानदार पास्टर,

प्रिय इमानदार पास्टर,
मलाई माफ गर!

केही दिन अघि पास्टरहरूलाई सम्वोधन गरेर केही कुरा लेखौं भनेको त मैले तिमीलाई भुसुक्कै बिर्सेछु।  नाम चलेकोलाई नै पहिलो स्थान दिन पुगेँ। आशा छ तिमीले मेरो वाध्यतालाई बुझ्नेछौ। के गर्ने?  नाम चलेकालाई खुसी पारिएन भने चुलोमा आगो नै बल्दैन। क्यै गरि आगो बलेछ भने पनि आएर निभाई दिन्छन्।  एउटाले त यति फुक्यो कि झण्डै मेरो चुलोनै उडायो।

मैले तिमीलाई बिर्सनुमा तिम्रो पनि दोष छ। तिमी कहिल्यै तडकभडक गर्दैनौ, खालि आफ्नो मण्डलीमा मात्रै व्यस्त हुन्छौ, विश्वासीकै चिन्ता गर्छौ, उनीहरूकै लागि दौडधुप गर्छौ; अस्पतालमा भेट्न, विरामी पर्दा भेट्न, हुँदा हुँदा उनीहरूको गाई गोरू विरामी हुँदा पनि तिमी नै त्यहाँ पुग्छौ।  खालि समय पायो कि बाइबल मात्रै पढ्छौ, प्रार्थनामा नै धेर समय खेर फाल्छौ।  यसमा म के भनौ?  प्रभु प्रभु भनेरै जीवनलाई खेर फालिरहेको जस्तो लाग्छ मलाई त।

यसो १ हप्तामा १५ चोटि हुने सभा, माहासभा, सेवा, चङ्गाई सेवा, क्रूसेड, लिडरसिप कि के के र को को ले बोलाउँदा पनि कुनै ठाउँमा न त तिम्रो अनुहार नै फोटोमा देखिन्छ न तिम्रो नाम समाचारमा।  थाइल्याण्ड कि खाइल्याण्ड, हाग्गै कि जक्कै जस्ता देश वा विदेशका तालिममा पनि जानको लागि कहिल्यै आँटेनौ न त कसैको चरणमा परेर आउने जाने टिकटको लागि खुट्टा नै मोल्यौ।  तब मैले तिमीलाई कसरी पहिलो स्थानमा राख्‍नु, आफै भनत?

केही गरि कहिले काहिँ गोरा छालाका सन्तहरू उफ्रीने मिटिङ्मा तिमी पुगिहाले पनि पछाडी बस्छौ।  अरूले नै आएर “जैमसी” भने पछि मात्रै हात जोड्छौ।  ती सभाहरूमा बस्दा पनि तिमी राम्ररी बक्ताले बोलेको कुरै सुन्दैनौ, खालि के के गुन्गुनाई रहन्छौ र घरी घरी हातको त्यो खिया लागेको घडीलाई हेर्‍या हेर्‍यै गर्छौ अनि बेला बेलामा त्यो केरमेर भएको तिम्रो पावरबाला चस्मालाई रुमालले पुछ्या पुछ्यै गर्छौ।  थाहा छैन तिमीलाई, केरिएको सिसा रुमालले सफा हुँदैन भनेर?  नयाँ किन्नुपर्छ लाटा। त्यो चस्मा नफेरेको कति बर्ष भयो भनत?  पाखे भन्न मनलाग्छ तिमीलाई त।

के को हतार कुन्नि?  यस्ता सभा-सम्मेलनबाट अन्तिम प्रार्थनाको “आमेन” सँगै तिमी आफ्नो मण्डली तिर हिँडि हाल्छौ, जानु भन्दा पहिला न त “भिजिटिङ् कार्ड” दिन्छौ न त “न्यूजलेटर”। तब मैले तिमीलाई कसरी सम्झिनु?  आफै विचार गर।  उता श्रीमतीलाई एक जोर नयाँ लुगा हाल्न नसकेर, विचरी, भएको त्यो साडीलाई राती नै पंखामा सुकाएर भोलिको लागि तयार गर्छे।  तिमी त सारै भयो।  यति इमान्दार त नबन न हो।  छोरा छोरीको व्यहाल त्यस्तै।  तरै पनि सेवा, सेवा, प्रभु, प्रभु भनेको सुन्दा म अचम्मै हुन्छु।  तिमी केले बनेको मानव हो हँ? 

भन्ने हो भने, मलाई तिमी सँग धेरै चोटि रिस पनि उठेको छ। कति लाटो भएको तिमी?  अलिकती भए पनि दिमाग चलाउन।  सोझो औंलाले घिउ आउँदैन भन्ने उखान पनि तिमीलाई थाहा छैन कि क्या हो?  मण्डलीमा पनि जो आउन चहान्छ त्यसैलाई आउन दिया छ, जो जान चहान्छ कुनै गुनासो विना उसको नाममा दागै नलगाएर जान दिया छ। के भाको तिमीलाई?  गाली गर्नेलाई पनि सम्मान, दोषलाउनेलाई पनि प्रार्थना, लुटेर लानेलाई पनि क्षमा।  तिमीले कस्तो बेलामा प्रभुलाई पाए छौ, म त छक्क पर्छु तिम्रो बानी देखेर!

जे होस, मलाई थाहा छ तिमी कति अटेरी छौ र तिमीले आफ्नो इमान्दारीतालाई मेरा यी बकमफुसे कुराले कहिल्यै त्याग्ने छैनौ।  भोकै मर्न तयार हुनेछौ, फाटेकै लाउन तयार हुनेछौ, ओझेलमै सेवालाई निरन्तरता दिनेछौ, परिवारलाई नै बलिदानको वेदीमा राख्न तयार हुनेछौ, सुसमाचारको लागि जेलै जानुपरेपनि कसैको धरौटीको दानलाई तिमी स्वीकार गर्ने छैनौ।  स्वर्गलाई तिमीले आफ्नो इनाम बनाइसकेका छौ, ख्रीष्टको अनुहारलाई तिमीले देखी सकेका छौ, पवित्र आत्माको न्यानो उपस्थितिलाई तिमीले अनुभव गरिसकेकाछौ; ख्रीष्टको पुनरूत्थान र उहाँको दु:खमा तिमी सहभागि भैसकेकाछौ। तिमीलाई लाग्न सक्छ कि कसैले तिमीलाई अब केही कुरा पनि सिकाउनु पर्दैन भनेर।  तर आज तिमीले सुने पनि नसुने पनि, म चाहिँ केही कुरा तिमीलाई भनेरै जान्छु।  ती कुरालाई स्वीकार गर्ने नगर्ने तिम्रो जिम्मा तर म मेरो जिम्मावाट मुक्त हुन चहान्छु।  तिम्रो यो दु:खलाई म हेर्न सक्दिन।  ल सुन, ए इमानदार प्रभुका दास;

परिवार: तिमीले आफूलाई जतिसुकै आत्मिक भन्ठाने पनि यदि तिम्री श्रीमती र छोराछोरीहरूको बेहाल छ, उनीहरूको अनुहारमा कहिल्यै खुसी छैन, खानलाउन नै पुग्दैन, मण्डलीका विस्वासीहरू पनि उनीहरूसँग बोल्दा हेपेर बोल्छन् भने तिम्रो सेवाले केही लछारपाटो लाउने छैन प्रभुको नजरमा।  खुरुक्क त्यो सेवा छोडेर एउटा राम्रो काम खोज र आफ्नो परिवारमा खुसी ल्याएर परमेश्वरलाई महिमा देउ।  तर मेरो कुरा सुन्छौ भनेत सेवा छोड्नु पर्दैन; परेमेश्वरले तिम्रा सबै अभावहरू पूरा गर्नु हुनेछ।  तर प्रभुको बोलावट चाहिँ पक्का हुनु पर्छ।

क) परमेश्वरले “म सबै कुरा जुटाउनेछु” भनि उत्पत्ती देखि प्रकाशको पुस्तकसम्म गरेका सबै प्रतिज्ञाहरूलाई एक ठाउँमा जमा गर। क्रमिक रूपले ती प्रतिज्ञाहरूलाई लेख अनि कण्ठ गर, सकेमा पुरै परिवारले, नत्र सुरूमा तिमी आफैले।

ख) प्रभुले “म तिमीलाई आशिष् दिनेछु, पुछर होइन शिर बनाउँने छु, फेदमा होइन शिखरमा राख्ने छु” जस्ता प्रतिज्ञामा विस्वास गर।  आर्थिक उन्नति पनि परमेश्वरकै प्रतिज्ञामा पर्ने कुरा हो।   मान सम्मान, ज्ञान बुध्दि पनि उहाँकै प्रतिज्ञा भित्र पर्ने कुरामा तिमी निसंकोच हुनुपर्छ।  सारै आत्मिक भएर गरिबीलाई गहनाको रूपमा स्वीकार नगर।

ग) बिहान उठ्दा, दिउँसो सेवामा जाँदा, राती सुत्दा, ती प्रतिज्ञालाई आफ्नो मुखले स्वीकार गर। सकेमा ठूलो ऐनाको साम्नेमा उभिएर आफैलाई भन ती।  छोराछोरी र श्रीमतीलाई पनि बोलेरै आशिष् देउ।  जस्तै भजनसंग्रह १२८लाई पुरै याद गर र ३ पद अनुसार भन “मेरी श्रीमती मेरो घर भित्र दाखको फलवन्त लता जस्तै हुने छ, मेरा छोराछोरी मेरो टेबुलको वरिपरि जैतुनका मुना जस्ता हुनेछन्”।  मुख खोलेर यी प्रतिज्ञालाई उच्चारण गर, लाज नमान।  तिमी त येशूको रगतले किनिएको उहाँको मित्र हौ र पिताको पुत्र हौ।  तिमी चान्चुने मानिस होइनौ। जाबो एक दुइ जना दातालाई हातमा लिएर ठूलो भैटोपल्ने तिम्रो छिमेकी पास्टरले तिमीलाई हेला गर्‍यो भन्दैमा तिमी निरास हुने?  मैले भनेको यो सल्लाहालाई ६ महिना सम्म मात्रै पनि गरि हेरन तिम्रो जीवनमा प्रभुले कति ठुलो उदेको काम गर्नु हुन्छ। तिमीले पैसा कमाउन दातालाई ठग्नुनै पर्दैन, तिम्रै मण्डलीका विस्वासीहरूमा आर्थिक उन्नति आउने छ र उनीहरूसँग प्रभु बोल्नुहुनेछ र तिमीलाई खान लाउन र सम्मानपूर्वक सेवा गर्नको लागि सहयोग गर्न मण्डली तयार हुनेछ।  जब विदेशी ठग्ने पास्टरले तिमीलाई हेला गरेको तिम्रा विस्वासीले थाहा पाउनेछन् तब युद्द विरामको लागि तिमीले प्रार्थना गर्नु पर्ने बेला पनि आउन सक्छ।

परिवारको वेवास्था गरेर कहिल्यै सेवाको स्वाङ् नपार्नु। आज मलाई अलि हतार छ। भन्नुपर्ने कुराहरू धेरै छन्; जस्तै सत्रुमाथि विजय, चंगाई, ज्ञान बुध्दि, प्रचार कसरी गर्ने, कस्ता किताब पढ्ने जस्ता विषयहरू। मौका मिले फेरी आउँनेछु। त्यतिन्जेललाई जय मसिह!

No comments:

Post a Comment