September 24, 2016

प्रिय जवान नेपाली पास्टर


परमेश्वरको सेवागर्ने जुन जोस र दर्शन तिमीमा छ, त्यसलाई देखेर मेरो मन सारै रमाउँछ।  तिमीमा भएका वरदानहरू, क्षमताहरू, योग्यताहरू र तिम्रो नामको अगाडि राखिने उपनामहरूलाई देखेर मलाई लोभ लाग्छ।  तिम्रो देश-विदेश सम्मको पहुँच; ठुला ठुला विश्वप्रख्यात र नामचलेका प्रभुकादासहरू का साथै दाताहरूको मन सजिलै जित्नसक्ने तिम्रो कला; नेता, मन्त्री र राजाहरूलाई नै प्रभावित गर्नेसक्ने तिम्रो सामाजिक शैली देख्दा मलाई त तिम्रो नजिक आउन डर लाग्छ कारण के र कसरी तिमीलाई सम्वोधन गर्ने भन्दा भन्दै मेरो त होसै हराउँछ।  तिमीले परमेश्वरको राज्यको लागि जम्मा गरेको चल र अचल सम्पत्तिको कारण मण्डली सारै आशिषित भएको देख्दा परमेश्वरको राज्य साँच्चै पृथ्वीमा आईसकेको जस्तो पनि लाग्छ।  तिम्रो वाचन वा भाषण गर्ने सैली र सफलतालाई हेर्दा र सुन्दा त मलाई अर्को हप्ता मेरो सानो झुण्डको अगाडि राखिएको पुल्पिटको पछाडि उभिन पनि कस्तो कस्तो लाग्छ।  यी एक मुठि विस्वासीहरूले केहि गरि तिम्रो कुरा मात्रै पनि सुन्नपाएमा मलाई नै छोडेर तिम्रै मण्डली, संस्था र जथ्थामा जान्छन् कि भन्ने डर पनि लाग्छ कारण तिमीले त सजिलै उनिहरूको गाँस, बास र कपासको पनि व्यवस्था मिलाईदिनसक्छौ।  तिमीले चढ्ने गाडि, मोटरसाईकल, तिमी बस्ने घर, तिमीले लगाएका लुगा, औंठि, सिक्रि, घडि, चस्मा; तिमिले चलाउने फोन र कम्पूटर कि के के हुन् देख्दा मलाई त आफुसारै पाखे जस्तो लाग्छ र मेरै विस्वासीहरूले पनि गिज्याउलान् कि भन्ने डरलाग्छ।  भन्ने नै हो भने, प्रिय पास्टर, तिमी त “सफलताको” प्रतिक हौ!  खै के भयो भयो कुन्नी, मलाई त मजस्तै पाखे र असफल पास्टरहरूसँग भेट्दा सारै आनन्द आउँछ।
तापनि, पास्टर, म एक दुई कुरा भन्छु ल?  हुनत तिमीसँग पढ्ने, सुन्ने, र सिक्ने समयत पक्कै पनि छैन होला। तरै पनि यो पाखेको मनमा लागेका कुरा...

१)      मानिसः प्रिय पास्टर, परमेस्वरको सेवामा मानसिलाई किनबेच गरिँदैन।  मानिस अमुल्य छ; उत परमेश्वरको श्वरूपमा बनेको परमेश्वरजस्तै प्राणी हो।  उसलाई आदर, ईज्जत र सम्मान गरिनुपर्छ।  उ परमेश्वरको मन्दिर हो।  आफु वेचिएको थाहापाउँदा मानिसको मन सारै दुख्छ र परमेश्वरले पनि त्यसको डरलाग्दो लेखा लिनुहुन्छ।  म पनि नयाँ विश्वासी हुँदा वेचिएको थिए; थाहा पाए पछी सारै चित्तदुख्यो।

२)      मण्डलीः प्रिय पास्टर, मण्डली तिम्रो होईन। मण्डली त येशू की दुलही हो।  हुनत तिमी सफल र शक्तिसाली मानिस भएको कारण लाग्छ होला तिमी नै मण्डलीको मालिक भनेर तर त्यसो गरेमा तिमी येशूको जार ठहरिनेछौ। जारी तिर्नुपर्ला! 

३)      महिमाः प्रिय पास्टर, तिमीलाई कसैले डाक्टर, रेभरेन्ड, विशप, आदि ईत्यादी उपनामहरूले बोलाओस भनेर मेहनत नै नगरी कालो बजारिका उपाधिहरूलाई आफ्नो कोठाको भित्ताहरूमा सजाएर राखेका छौ होला।  त्यो ठिकै पनि हो कारण तिमीलाई अध्यन गर्ने समयनै कहाँ छ र?  तर मित्र, कालोबजारिबाट मिलेको महिमा पनि त्यति सस्तो चाहिँ छैन। समय आएपछि यसले पनि आफ्नो मुल्य चुकाएरै जान्छ। जब तिमीभित्रको खोक्रो पनालाई तिम्रा मानसिले देख्‍नेछन् तब उनिहरू पनि तिमीबाट मुन्टो बटार्नेछन्, ओट लेप्य्राउनेछन् र कतिपटक त ठगि मुद्दामा जेलै जानुपर्ला।

४)      महिलाः प्रिय पास्टर, तिमी पुरूष हौ भने अवस्यपनि तिमीले महिलाहरूलाई धेरै लुटिसकेका छौ।  उनिहरूको कमोलो मन, सजिलै विस्वासगर्ने निर्दोषपना, र दयालु हृदयको सहयोगलाई तिमीले धेरै लुटेको हुनसक्छ नत्र तिमी यति सफल हुनसक्ने सम्भावना कमै छ।  यहाँ सम्म मात्रै भएत कमसेकम सहन सकिन्छ पनि।  तर जब तिमी आफुलाई सर्वशक्तिमानको रुपले हेर्छौ, तब अबला नारीको ईज्जतपनि तिमी बाँकि राख्‍ने छैनौ।  व्यविचारमा जीवन बिताउँदै सेवाको घण्टी बजाईनै रहनेछौ।

५)      मिनिस्ट्रीः यो मेरो आजको लागि अन्तिम बुँदा हो कारण मलाई थाहा छ तिम्रो कन्चट तातिसकेको छ।  मिनिस्ट्री आफ्नो लागि गरिने चिज होईन, यो त अरूको लागि गरिने चिज हो।  अनि, मिनिस्ट्री संसारीक तडकभडक पनि होईन, यो त परमेस्वरको वचनको सेवा हो।  वचनबाट पापमा दुःख पाईरहेका मानिसहरूलाई परमेश्वरको चंगाईमा ल्याउनु हो।  मृत्युको छाँयाँमा रहेकाहरूलाई जीवनको छहारीमा ल्याउनु हो।  तर यसको लागि पहिला आफै चंगाई भएर जीवनको छहारीको पुरा अनुभव गरेकै हुनुपर्छ।  मिनिस्ट्री तब हुन्छ जब तिम्रो मण्डलीका विश्वासीहरू सेवाबाट घर फर्किँदा वचन र पवित्र आत्माले भरिएका हुन्छन्।  तिमी उनिहरूको पास्टर भएकोमा उनिहरू गर्व गर्छन् र भन्छन् “हाम्रो पास्टरले आज साँच्चै नै परमेश्वरको आवाज सुनेको रहेछ”!  मिनिस्ट्री तब हुन्छ जब तिम्रो मण्डलीका विस्वासीहरूमा पवित्र आत्माको फल फल्न थाल्छ।  
आजलाई यति नै!!

No comments:

Post a Comment