दर्शन बिनाको समाज आफै नष्ट हुन्छ भन्ने तथ्यलाई इतिहासले
धेरै पटक दोहर्याएको छ। प्राचिन
सभ्यताहरूको उदय र प्रगति हुनुको पछाडि दर्शन र दार्शनिकहरुको हाथ हुन्थ्यो भने तिनै
सभ्यताहरू पतन हुनुभन्दा पहिला त्यहाँका दर्शनशास्त्रीहरूलाई खोजी खोजी मारिएको
दुखद घटनाहरूले इतिहासका पानाहरू भरिएका छन्।
दर्शनशास्त्रीहरूले मानिसलाई मानव भएर जिउन सिकाउँछन् कारण
दर्शन बिनाको मानव दानव हुने सम्भावनहरू धेरै छन्। जब मानव दानव हुन्छ तब शक्तिको माध्यबाट आफू विलासी
जीवन जिउन अरुलाई मार्न ऊ पछि पर्दैन। निरङ्कुश
शासकहरूका मुख्य दुष्मन दार्शनिकहरूनै हुने भएको कारण तिनीहरूलाई खोजी खोजी
मारिन्छ। अपसोचको कुरा के छ भने दर्शन बिनाको
शक्ति आफैमा विनाशकारी भएको कारण अन्त्यमा यसले त्यो सामाज, सामराज्य र सभ्यतालाइनै
नष्ट गरिदिन्छ।
नेपाली इतिहासका पानाहरू पनि यो तथ्यका मूकदर्शक छन्। दर्शन बिनाको शाहावंसीय शासनकाल राणाकालमा
टुङ्गियो। राणाकाल पञ्चायतकालमा। पञ्चायतकाल आज अन्यौलकालमा। शाहवंसले धर्मलाई हतियार बनाउने प्रयास गर्यो
भने राणाकालले शक्तिलाई। पञ्चायतकाल
दर्शनबिनाको अभ्यास थियो भने प्रजातन्त्रको आन्दोलनले बिपी, पुस्पलाल, गणेशमान र
मदन जस्ता दर्शनको सास फेर्दै गरेका हस्तीहरूको साथ पाएकै थियो तर ती हस्तीहरूले
साँचो प्रजातन्त्रको बिहानीनै देख्न पाएनन्।
माओवादी जनयुद्द जतिसुकै दुःखदायी भएपनि धेरैले यसलाई
दर्शनको लडाइँ सोचेका थिए। आज आएर त्यो
पनि धोका ठहरियो। कम्युनिस्टहरु
भ्रष्टाचार गर्दैनन् भन्थे तर नेपालका कम्युनिस्टहरुले त्यो भनाइलाई रद्द गरिदिए। कुनै पार्टीको बिल्ला लगाउँदैमा विचारको
परिवर्तन नआउँदो रहेछ।
विचारको परिवर्तन बिनाको राजनीति र धर्मले समाजलाई नारकीय
बाउँदोरहेछ। मानवता र ईश्वरीयता
दानवहरूका विलासी अभिलाषाहरू पुरागर्ने उपभोग्य वस्तुहरू बन्दारहेछन्। भ्रष्ट राजनीति र अपभ्रष्ट धर्मको संगमको कारण अनगिन्ति
मानवको रगत इतिहासमा बगाइएकोथियो र आजसम्म पनि बगी नै रहेकोछ।
राजनीतिमा कार्ल मार्क्सको दर्शन र धर्ममा येशू ख्रीष्टको
सुसमाचारले थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्रताको धेरै ठूलो आशा जगाउँछन्। तर दुर्भाग्य नै भनौ, नेपालमा नत कम्युनिस्टका
नेताहरूले मार्क्सको दर्शनलाई अवलम्वन गरे न ख्रीष्टियान धर्मगुरूहरुले येशूको
सुसमाचारलाई। शक्ति र सम्पत्तिको मोहमा
दर्शन र आदर्सलाई लत्याउँदै यी अग्रपङ्तिका नेता र धर्मगुरुहरुले मार्क्स र ख्रीष्टको
इज्जतलाई नै धरापमा पारे। बाइबल भन्छ “रुपियाँ
पैसाको मोह सबै खरावीको जरा हो” र “घूसले हृदयलाई भ्रष्ट पार्छ”।
यस्तो भ्रष्ट र घूसखोरी समाजमा पनि जीवन शर्मा जस्ता
दार्शनिकहरू हुँदा रहेछन् जसले भ्रष्टहरूको हृदयमा सत्य, न्याय र समानताको बाण
हानी नै रहन्छन्। सम्पत्तिको मोह बिनाको
शालीन जीवन शैली र सत्यमा आधारित हृदयस्पर्सी गीत संगीतको कारण उनलाई मन नपराउने
ती भ्रष्ट र घूसखोरी वर्ग बाहेक अरू कोही पनि छैन। जनताका गायक भनी चिनिने लोकप्रिय व्यक्तित्वको
यो गीत निकै भावुक र मार्गदर्शक छ।
********************************
छैन मेरो शरीरमा अत्तरको सुगन्ध।
होला बरू जिउभरी पसिनाको गन्ध।।
होला मेरो खुट्टा बरू पट्पटी फुटेको।
तर मेरो जीन्दगी यसैमा उठेको।।
चाहिदैन मलाई सिसाको महल।
चाहिदैन मलाई चमेलीको बास।।
यसै राम्रो छ यो मेरो जीवन।
चाहिदैन मलाई सम्पत्तिको रास।।
कालो धन थुपारेर ढल्कि हिँड्नु भन्दा।
हलो जोत्नू गिटी कुट्नू होला राम्रो धन्दा।।
होला बरू झोपडिमा भोकै सुत्नू राम्रो।
बितोस बरू जिन्दगि पसिनामै हाम्रो।।
चाहिदैन मलाई सुनको दरबार।
चाहिदैन मलाई हिरा मोति हार।।
यसै राम्रो छ मेरो पैदल यात्रा।
चाहिदैन मलाई टलिकने कार।।
जता हेर्यो त्यतै देख्छु असत्यको खेती।
सत्य कुरा गर्नेलाई रोक्छन् बाटो छेकी।।
कैले सम्म यो संसारमा झूटले शासन गर्ने।
सच्चाई र सौन्दर्यलाई अप्ठ्यारोमै पार्ने।।
चाहिदैन मलाई झूटको बङ्गला।
चाहिदैन मालई असत्यको ठाँट।।
यसै राम्रो छ सच्चाई को बाटो।
अदम्य छ मेरो यस्मै ढट्ने आँट।।
No comments:
Post a Comment