आज ठूलो संख्यामा नेपाली जातिले येशूलाई
विश्वास गरेको छ र यो संख्या दिनानुदिन बढ्दै गैरहेको छ। देश-विदेशमा रहेर पनि परमेश्वरमा विश्वास
गर्न हामीलाई कसैले रोक्न सकेको छैन।
नेपाल र भुटानमा भएको सतावटले पनि हामीलाई रोकेन। भारतमा भएको खेदो र प्रवासीपनले पनि हामीलाई
येशूबाट टाढा हुन दिएन। विकसित देशहरूको
व्यस्तता, स्वतन्त्रता र भौतिक सम्पन्नताका अवसरहरूले पनि हामीलाई येशूबाट अलग
गरेको छैन। हामी जहाँ छौं, जस्तो अवस्थामा
छौं, प्रभुको अनुग्रहले सँभाली राख्नुभएको छ।
यस्तो आशिषमय अवस्थामा नेपाली विश्वासीको
लागि एउटा ठूलो आन्तरिक चुनौती छ। समयमै यो
चुनौतीको सामना गरिएन भने यसले धेरैलाई सजिलै धोका दिनेछ। त्यो चुनौती हो “अल्पज्ञान र अशिक्षा”। अशिक्षाले नै अल्पज्ञानलाई जन्म दिन्छ। आजको सामाजिक सञ्जालले जोडिएको संसारमा
जसकसैले पनि आफ्नो विचारलाई प्रवाहा गर्न सक्छ।
त्यो विचार सही हो या गतल भनेर छुट्याउन हामीले अध्ययन र अनुसन्धान गर्नु पर्ने
हुन्छ। तर साधारण विश्वासीले सजिलै उसको
सामु प्रस्तुत गरिएका विचारहरूलाई स्वीकार गरिदन्छ। एक पटक पनि नसोचेरै वा कुनै प्रश्न नै नगरी
कसैको विचारलाई वा शिक्षालाई स्वीकार गर्ने मानिसलाई बाइबलले ‘बुवकूफ’ भनेको
छ। “बेवकूफ मानिसले जुनसुकै कुरा
पत्याउँछ, तर समझदार मानिसले आफ्ना पाइलाहरू सतर्कसाथ चाल्छ” (होतोपदेश १४.१५)।
नेपाली मण्डलीको इतिहास लामो भैसकेको भए
पनि यसको धर्मशास्त्रीय अध्यनको गहिराई निकै कम छ। पास्टरहरूमा शिक्षा र अध्ययनप्रति चासो
देखिदैन। जिविकोपार्जनको चिन्ताबाट नै
पास्टरहरू माथि उठ्न सकेका छैनन्। जसको
कारण विश्वासीहरूको वौद्धिक स्तरमा विकास ल्याउन सकिएको छैन। कसैले दिएको शिक्षालाई निश्पक्ष धरातलमा उभिएर
प्रश्न गर्न नै जानेका छैनन् हाम्रा विश्वासी मित्रहरूले। जसले जे भन्यो त्यसैमा “आमेन” भन्ने बानी बसेको
छ। एउटाले विरोध गरेको खण्डमा सबैले विरोध
गर्ने। सबैले समर्थन गरेको खण्डमा कसैले
पनि गलतलाई गलत भन्न नसक्ने। उदाहरण
स्वरूप; एक जना व्यक्तिले लामो समय देखि देश-विदेशमा बस्ने नेपाली विश्वासीहरूलाइ
पास्टरको स्वाङ् पारेर आर्थिक ठगी गर्दै आएको थियो। तापनि उसले लेखेका र बोलेका कुरामा “आमेन”
भन्नेहरूको सङ्ख्या हजारौं थियो। उसले
सिकाएका सिक्षाहरू पनि अबाइबलीय थिए। तर
हाम्रा सोझा विश्वासीहरू मलेसिया देखि खाडीको भुमिमा दुःख गर्दै कमाएको पैसाबाट
त्यो ठगलाई सहयोग गर्दै आएका छन् र अँझै पनि कतिले गरिरहेका छन् होलान्। यस्तो हुनुमा ती विश्वासीहरूमा भएको ज्ञानको
कमी हो। उनीहरू सोच्दछन् कि कसैले बाइबल
बोक्छ भने, बाइबलले यस्तो भनेको छ भन्दै नामको अघि “पास्टर” लेख्छ भने त्यो
मानिसले ठगी गर्न सक्दैन।
त्यति मात्रै नभएर यस्ता ठगहरूले यी सोझा
विश्वासीलाई साँचो बाइबलीय शिक्षाबाट सजिलै झूटा शिक्षातिर लाग्न प्रोत्साहान
दिन्छन्। साँचो बाइबलीय पास्टर, प्रचारकको
विरोध गर्दै आफू मात्रै जान्ने भनी दावी गर्दै अल्पज्ञानी विश्वासीहरूलाई मण्डली
र पास्टरको विरुद्धमा उठ्न यिनीहरू उक्साउँछन्।
“ज्ञानको कमीले मेरो प्राजा नाश भयो”
भनेझैं आज नेपाली मण्डली सही धर्मशास्त्रीय शिक्षा र सिकाउन सक्ने पास्टरहरूको कमीको
कारण गतल व्यक्ति र शिक्षाको सिकार भैरहेको छ।
हप्तै पिच्छे स्वर्ग जाने र आउने पास्टरहरू, प्रत्यक रातीको सपना प्रचार
गर्ने प्रचारकहरू, र पैसाको विउ छर्न सिकाउने प्रेरितहरूको कारण नेपाली मण्डली
भित्रबाटै कम्जोर हुने ठूलो सम्भावना देखिन्छ।
त्यसकारण मित्र, जसकसैले गरेको प्रचारलाई
नजाँचेरै स्वीकार नगर्नुहोस्। कसैको अनुभव
उदेकको छ भन्दैमा उसले सबै कुरा जानेको छ भनी नठान्नुहोस्। जसले सपना र अनुभवका कुरालाई लिएर तपाईंलाई
केही नजानेको र विश्वासै नभएको विश्वासी जस्तो भान पार्दै उफ्रिरहेको छ भने त्यो
मानिससँग होसियार रहनुहोस्। जहाँ परमेश्वरको वचन प्रचार हुन्छ त्यहाँ मानिसको
होइन परमेश्वरको महिमा हुन्छ। परमेश्वरको
वचनले स्थायी परिवर्तन ल्याउँछ तर झूटा शिक्षकहरूले क्षणिक उत्तेजना ल्याउँछन् र
उनीहरू गएपछि त्यो सिद्दिन्छ।
हामी अध्ययन र अनुसन्धान गर्ने विश्वासी
बनौं। आलोचना होइन प्रश्न गर्ने विश्वासी बनौं।
No comments:
Post a Comment