प्रिय भौतिक उन्नति खोज्ने पास्टर मित्र,
जय मसिह!
तिमीलाई सम्झना छ होला कि सुरुका दिनमा तिम्रो लागि “सेवाकाई”
भन्ने सब्द सारै लोभलाग्दो, चाखलाग्दो र उत्तेजनाले भरिएको थियो।
लोभ लाग्दो थियो किनभने तिम्रो सामुन्ने एक-आद यस्ता पास्टरहरू
थिए जसले “सेवाकाई”बाट धेरै उन्नति गरिरहेका थिए।
उनीहरूको विगत तिमीले देखेका थियौ तर वर्तमानले त्यो विगतलाई धेरै पछाडि
छोडिसकेको तिमीले थाहा पायौ। तिमीले पनि
आफ्नो वर्तमानलाई विर्सेर उनीहरूकै जस्तो भविस्यको सपना देख्न थाल्यौ। उन्नतिको लागि “सेवाकाई” लोभलाग्दो देखिन
थाल्यो।
यो सब्द तिम्रोलागि चाखलाग्दो थियो किनभने ती सफल
पास्टरहरूको जीवनमा एक किसिमको रबाफ नै थियो।
हरेक हप्ता समाजको अघि उभिएर केही कुरा भन्न मिल्ने। सबैले शिर झुकाएर उनीहरूलाई आदर गर्नु पर्ने। कसैको घरमा वा गाउँमा जाँदा उत्तम परिकार
जुटाउनु पर्ने। देश-विदेश पनि उनीहरू नै
जाने। हुँदा हुँदा, गाउँका सोझा साझा
पास्टरहरूको आम्दानीको स्रोत पनि ती सफल पास्टरहरू नै बने। तिमीलाई पनि त्यो देखेर “सेवाकाई” सारै चाखलाग्दो
र प्राप्त गर्न लायकको देखिन थाल्यो।
“सेवाकाई” सब्द सुन्ने बित्तिक्कै तिमीलाई एक किसिमको
उत्तेजना आउँथ्यो। तिमीलाई लाग्थ्यो कि परमेश्वरले
ती अग्रज पास्टरहरूलाई त्यसरी आर्थिक, सामाजिक र आत्मिक उन्नतिको शिखरमा लान
सक्नुहुन्छ भने मलाई पनि उहाँले त्यो स्थानमा लानुहुनेछ। “सेवाकाई”द्वारा एउटा सफल, सम्पन्न र शक्तिशाली
पास्टर बन्ने सपनाले तिमीलाई धेरै उत्साहित पार्दथ्यो।
जब “सेवाकाई”मा जाने अवरस मिल्यो, तब तिमीले सोच्दै नसोचेर
आफैलाई सुम्पिदियौ। तालिममा गयौ। बाइबल स्कूल गयौ। मौका मिल्ने बित्तिक्कै विदेशतिर पनि हुँइकियौ। धेरै ठाउँमा “सेवाकाई” गर्यौ। कुनै चर्चलाई आफ्नो कब्जामा लिन सफल भयौ वा
आफ्नै चर्चको स्थापना गर्यौ। सफलताको
शिखरतिर लम्किन थाल्यौ।
तर “सेवाकाई” सोचे जस्तो हुँदो रहेनछ। त्यो लोभ लाग्दो, चाख लाग्दो र उत्तेजनाले
भरिएको सब्द विस्तारै डर लाग्दो, दिक्क लाग्दो र निराशाले भरिएको देखिन
थाल्यो। कतिपय अग्रज पास्टरहरू; जसलाई
तिमीले आफ्नो “हिरो” सम्झेका थियौ, लोभ र अभिलाशाका शिकार हुन गए। कतिपय “सेवाकाई” छोडेर व्यापार र दलाली गर्न
थाले। कतिपय राजनीति र सामाजिक सेवाका बिल्लाहरू
लाएर आफ्नो भौतिक उन्नतिको सुरक्षा गर्न तिर लागे।
यता, न त तिमीले भौतिक उन्नति नै गर्न सक्यौ न परमेश्वरमा
समर्पित जीवन छ। तिम्रो प्रचारमा पनि दम
छैन न त प्रभावलाई किन्न सक्ने पैसा नै तिम्रो हातमा छ। त्यसमाथि आजको यो सामाजिक सन्जालले जोडिएको
संसारमा तिम्रा मुनिका विश्वासीहरू पनि अन्य अभिशिक्त प्रचारकहरूको प्रचारमा मुग्ध
भैदिएको देख्दा तिमीलाई असह्य हुन्छ।
फलानो पास्टरको प्रचारबाट परमेश्वर मसँग बोल्नुभयो भनि तिम्रा विश्वासीले
भनेको सुन्दा तिमीलाई कस्तो कस्तो लाग्छ।
तिमी पनि त्यो पास्टरले जस्तै प्रचार गर्न खोज्छौ तर परिणाम झनै निराशाजनक
हुन जान्छ। त्यसपछि तिमी त्यो पास्टरको
आलोचना गर्न तिर लाग्छौ र आफ्ना विश्वासीलाई यस्ता पास्टरहरूको वचन नसुन्न सल्लाहा
दिन्छौ।
तरै पनि तिमी आफ्ना मानिसलाई प्रभावित गर्न हर प्रयास गर्छौ। विदेशी वा प्रख्यात मानिससँग खिचेका सेल्फीको
फेसबुक प्रोफाइल, एरपोर्टमा पुगेका तस्बीर र विदेश पुगेको त कुरै नगरौं। तापनि रङ्गिन फेसबुकले पुल्पिटमा आत्मिक अभिषेक
दिनै मान्दैन। त्यो गुमेको अभिषेकलाई
पुर्ती गर्न तिमी चिच्याएर प्रचार गर्छौ, चाख लाग्दा उदाहरण दिन्छौ, विगतमा
परमेश्वरले गरेका कामको वर्णन गर्छौ; तर विश्वासीहरूमा परिवर्तन आउनै छोड्यो र
तिम्रो मनमा आत्मसन्तुष्टिको स्थान असन्तुष्टिले लिन थाल्यो। यो “सेवाकाई” भन्ने सब्द एउटा बोझ बन्दै
गैरहेको जस्तो लाग्छ अब तिमीलाई। कहिले
काहि विदेश पलायन हुन मन लाग्छ, कहिले दलाली गर्न मन लाग्छ, कहिले व्यापार, कहिले
के, कहिले के।
छोराछोरी र श्रीमतीले पनि घरमा टेर्नै छोडे। उनीहरूलाई तिमीले कमाएको पैसा तिमीभन्दा बढी
प्यारो लाग्छ। तर भनेको जस्तो पैसा हातमा
नहुँदा उनीहरूले पनि तिम्रो दुई जिब्रे जीवनको रहस्यलाई लुकाई राख्न तिमीलाई साथ
नदेलान् जस्तो भैसक्यो। पैसावाला पास्टरकै
छोराछोरी र श्रीमती उसको बिँडो थाप्न तयार हुँदा रहेछन् भन्ने कुरामा तिमीलाई अब
सङ्का छैन। हो पनि, पैसाले धेरै कुराहरू
किन्न सकिन्छ।
यी सबै कुराको कारण जुन सेवाकाईमा तिमीले एक पटक सोच्दै
नसोचेर हात हालेका थियौ आज भार भएको छ। यो
भन्दा अर्को कमाई खाने मौका मिलेको खण्डमा तिमी “सेवाकाई”लाई लत्याउन तयार भएको
देख्दा आफै छक्क पर्छौ।
तर मित्र, परमेश्वरको बोलावट मानिसले सोचेको जस्तो
हुँदैन। आजको भोलि नहुन सक्छ कारण उहाँको
बोलावट जीवनमा परिणत हुन धेरै कुराले भुमिका खेलेको हुन्छ र कतिपटक त जीवनभरी नै
त्यो प्रकृयाले काम गरिरहेको हुन्छ। होला,
सेवाकाईको सुरुवातमा तपाईंले यसलाई लोभलाग्दो, चाखलाग्दो र प्राप्त गर्न लाएकको
देख्नुभएको थियो होला। र, वास्तम्मा
येशूको सेवाकाई सारै लोभलाग्दो, चाखलाग्दो र उत्तेजनाले भरिएको नै हुन्छ। फरक यति मात्रै हो कि हामी कुन दृष्टिकोणबाट
यसलाई हेरिरहेका छौं। भौतिक दृष्टिकोण या
आत्मिक?
संसारिक उन्नतिको लागि हामी सेवामा लागेका थियौं भने अवस्य
पछि गएर सेवाकाई एउटा बोझ हुने नै छ कारण भौतिक उन्नतिले मात्रै त एउटा
अविश्वासीलाई त सन्तुष्टि दिन सक्दैन भने येशूको सेवामा बेइमान गरेर प्राप्त गरेको
उन्नतिले कहिल्यै शान्ति दिने छैन।
तर भौतिक उन्नतिको आशालाई
हामीले आत्मिक उन्नतिको दिशातिर फर्काउन सफल भयौं भने हामी भौतिक र आत्मिक
दुबै उन्नतिमा रमाउने छौं। “सेवाकाई”
सदाकाल लोभलाग्दो, चाखलाग्दो र उत्तेजनाले भरिएको हुनेछ। हरेक हप्ता मण्डलीमा प्रचार गर्दा, वचन बोल्दा
पवित्र आत्माको ताजापन हामी अनुभव गर्ने छौं।
हाम्रो सेवामा रहेका विश्वासीहरूले पनि त्यो आनन्दलाई अनुभूति गर्नेछन् र
भन्नेछन् कि उनीहरूको पास्टरले प्रचार गरेको वचनबाट जीवन परिवर्तन भएको छ।
जब मानिसको जीनव परिवर्तन भएको, उनीहरूमा उन्नति आएको र
परमेश्वरले उनीहरूलाई आशिष् दिँदै आफ्नो महिमाको लागि चलाएको तपाईं देख्नुहुनेछ
तब आफ्ना सारा दुःख, असफलता र अबोन्नतिलाई पनि बिर्सनु हुनेछ। मानिस र परमेश्वरको लागि जीवन दिन तयार
पास्टरका छोराछोरी र श्रीमतीले पनि उसलाई घरमा आदर र सम्मान गर्नेछन्। नयाँ पिडिका पास्टरहरूले पनि उसबाट मार्गदर्शन
प्राप्त गर्नेछन्। जब ऊ येशूको सामु उभिने
छ तब प्रभुले भन्नुहुनेछ “स्याबास, मेरो विश्वासयोग्य दास!”
येशूबाट त्यो अनन्त स्याबासी पाउनु भन्दा अर्को ठूलो उन्नति
के होला र?
No comments:
Post a Comment