येशू प्रभुले आज्ञा गर्नुभयो; “तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो
सारा हृदयले,
र आफ्नो सारा प्राणले, र आफ्नो सारा समझले (मगजले) प्रेम गर्नू” (मत्ती २२.३७)। कोही पनि अन्धविश्वासी भएर उहाँको पछि लागेको उहाँले
चाहनुभएन।
ऐतिहासिक कोणबाट हेर्दा इसाईहरूले
परमेश्वरलाई हृदय, प्राण, र मगजले प्राचिनकालबाट प्रेम गर्दै आएका थिए। दुईसय
वर्ष अघि सुरू भएको आधुनिक मिसन युगसम्म पनि मिसनरीहरूले शिक्षालाई धेरै महत्व
दिएको देखिन्छ। मिसनरीहरू नयाँ ठाउँमा
जाँदा शिक्षा र स्वास्थ्यमा सुधार ल्याएर मानव कल्याणमा जोड दिदै सुसमाचार
प्रचारको काम गर्दथे।
तर दोस्रो विश्व युद्ध पछि संसारभरी आएको
राजनीतिक परिवर्तनले त्यो सुनौलो मिसनरी युगमा पूर्णविराम लगाइदियो जसको कारण
शिक्षा र स्वास्थ्यको क्षेत्रमा चाहिने स्रोत र साधनको पनि कमी हुन गयो।
त्यतिनै बेला अमेरिकामा मौलाएको
‘डिस्पेन्सेसनलिजम्’ (जसले इतिहासलाई बिभिन्न कालखण्डमा विभाजन गर्छ र संसारको
अन्त्य छिटै हुने विश्वास गर्छ) सिद्धान्तले येशूको आगमन नजिकै भएको कारण सामाजिक
र भौतिक सेवामा लाग्नु भन्दा मानिसको आत्मा बचानउतिर लाग्नुपर्ने शिक्षालाई जोड
दिइयो। आत्मा बचाउने कामको लागि बाइबलको
ज्ञानबाहेक अन्य क्षेत्रको ज्ञानको आबस्यकता नभएको कारण बाइबल कलेज र सेमिनरीहरूले
बाइबल शिक्षकहरू मात्रै उत्पादन गर्न थाले।
अन्य क्षेत्रको शिक्षालाई ‘सांसारिक ज्ञान’ भन्दै त्यो जिम्मा मण्डलीले
अविश्वासीलाई हस्तान्तरण गरिदियो।
नास्तिकवाद र सर्वधर्मवाद ज्ञानका एकाधिकारी बने।
त्यसमाथि जब ‘नेटिभ मिसन’ अर्थात स्थानीय
जातिहरूमा त्यहाँकै सेवकहरूले आत्मा बचाउने काम गर्नु पर्ने सिद्धान्तमा जोड दिइन
थालियो तब सक्षम बाइबल कलेज वा सेमिनारीको शिक्षाको पनि आवस्यतामा प्रश्न
गरियो। ‘अन्रिच्ड पिपुल ग्रुप’ वा
सुसमाचार नसुनेको जातिहरू प्राय शिक्षाको क्षेत्रमा पिछडिएका भएको कारण त्यहाँ
सुसमाचार पुर्याउन लेखपढ मात्रै पनि गर्न सक्ने सेवकले काम चल्ने भएको कारण कलेज
स्तरको पढाइलाई पनि घटाएर एक महिने, दुई महिने, छ महिने जस्ता बाइबल तालिमहरूमा
झारियो। यस्ता सुसमाचार प्रचारकहरूको
मुख्य उदेस्य मानिसलाई नयाँ गरी जन्म दिएर उनीहरूको आत्मालाई स्वर्गका लागि तयार
गर्नुमा सिमित रहेको कारण परमेश्वरलाई मगजले पनि प्रेम गर्नु पर्ने आवस्यकता नै
रहेन। पापबाट पश्चताप गर्दै संसारबाट अलग
रहेर येशूको आगमनको प्रतिक्षा गर्न मण्डलीलाई सिकाइयो। हृदय र प्राण सक्रिय रहे तर
मगजको प्रयोगबाट परमेश्वरको महानता र उहाँको प्रेमको बयान गर्न सिकाइएन।
यसरी मगजले परमेश्वरलाई प्रेम गर्न नसक्दा
इसाई विश्वासीलाई दुई क्षेत्रमा धेरै ठूलो घाटा लाग्यो।
१) मण्डलीमा इसाई विद्वानको कमीः एकसय वर्ष पहिला सम्म मात्रै पनि संसारमा
प्रख्यात इसाई विद्वानहरूको बाहुल्य थियो।
ख्यातिप्राप्त वैज्ञानिक, चिकित्सक, पत्रकार, लेखक, राजनेता, न्यायाधीश,
कलाकार, दार्शनिक आदिको कमी मण्डलीमा थिएन।
तर आज मण्डली भित्र यस्ता मानिसहरू पाउनै गाह्रो छ। कसैले ‘म ख्रीष्टीयान हुँ’ भनेको खण्डमा
संसारले उसलाई अनपढ वा बुद्धि नभएको मानिस भनेर गिज्याउँछ। जवानहरू कलेज भर्ना भएपछि मण्डलीमा नफर्कनुको
एउटा मुख्य कारण यो पानि हो। नास्तिक वा
सर्वधर्मवादीलाई संसारले बुद्धिमान भन्छ भने येशूमा विश्वास गर्नेलाई बुद्धु। मण्डलीमा वचन प्रचार गर्दा पनि पास्टरले मगजका
मांसपेशी तन्काउने खालका सन्देस भन्दा भावनाका तरङ्गहरू फैलाउने वचन मात्रै प्रचार
गर्न थाले जसको कारण जटील प्रश्नहरुको जवाफ विश्वासीले सिक्नै पाएनन्। इसाई सोचले संसारमा प्रभाव पार्न सकेन।
२) विश्वासीमा सकारात्मक सोचको कमीः डिस्पेन्सेसनलिजमको कारण येशूको आगमन
नजिकै र संसार पनि छिटै नष्ट हुने भएको कारण सांसारिक जीवनमा सफलता, उन्नति,
प्रगित जस्ता कुराको औचित्य नरहेको ठानियो।
फलिफापको सन्देस र सकारात्मक सोचले बाइबलमा भनिएको जस्तो प्रशस्तताको जीवन
प्राप्तिको लागि चाल्नुपर्ने कदमहरुलाई निरुत्साहित गरियो। दुःखी, गरीब, कम्जोर र संसारबाट अपहेलित भएर
जीवन विताउनेलाई ‘आत्मिक’ मानिस भनियो भने संसारमा सफल, स्वास्थ, सम्पन्न र
प्रभावकारी जीवन विताउनेलाई ‘शारीरिक’।
यस्तो सोचको कारण परमेश्वरले दिनुभएको महान् उपहार ‘कल्पना’ (Imagination)लाई विश्वासीले
प्रयोग गर्नै छोडिदियो। कल्पनाले नै सबै
थोक सृजना गर्ने हो। यदि विश्वासीले सकारात्मक
परिस्थितिको कल्पनानै गर्दैन भने नयाँ सृजनाको आशा हुँदैन। “परमेश्वर हामीले मागेको र कल्पना गरेको भन्दा
पनि बढी दिन सक्नुहुन्छ” भन्ने जस्ता बाइबलका प्रतिज्ञाहरूको प्रयोग नै भएन। सबै कुरालाई ‘प्रभुको इच्छा भए’ भन्ने सोचले
इसाई मगजलाई अल्छे बनाइदियो।
यस्तो अवस्थामा हामी के गर्न सक्छौं त? अध्यन गर्दै ज्ञानको परिधि बढाउन सक्छौ भने
कल्पनाद्वारा चाहेको कुरालाई यथार्थमा परिणत गर्नसक्छौं। त्यसकरण;
१) अध्यन गरौः
स्कूल वा कलेज जानुहोस् भनेको होइन।
सक्नुहुन्छ भने जानुहोस्। तर मगजले
पनि परमेश्वरलाई प्रेम गर्ने हो भने हामीमा सिक्ने आत्मा हुनुपर्छ। बाइबल मात्रै होइन, अन्य पुस्तकहरू पनि पढ्नु
पर्यो। अङ्ग्रेजीमा भनाई छ “Readers are Leaders”,
अर्थात ‘किताब पढ्ने नै अगुवा बन्छ’।
इन्टरनेटको संसारमा सिक्न चाहनेको लागि आज ज्ञानको कुनै कमी छैन। हत्केलामा भएको फोन द्वारा चाहेको कुरा हामी
सिक्न सक्छौं।
२) सकारात्मक सोचको विकास गरौः बाइबलमा सकारात्मक सोचलाई ‘विश्वास’
भनिन्छ। “हामी देखिने कुरालाई होइन, तर नदेखिने कुरालाई हेर्छौं”
(२को.४.१८)। “हामी विश्वासद्वारा जीउँछौं,
देखिने कुराको आधारमा होइन” (२को.५.७)।
“विश्वास गर्नेका लागि सबै कुरा सम्भव छ” (मर्कूस ९.२३)। यस किसिमले यदि मगजको प्रयोगबाट हामी
परमेश्वरका प्रतिज्ञाहरूले भने जस्तै कल्पनाहरू गर्न सक्छौं भने एकदिन ती
कल्पनाहरू यसै संसारमा पुराहुने सम्भावना धेरै छन्।
विलियम जेम्सले भनेका छन् कि यदि मानिसले
आफ्नो सोच बदल्न सक्छ भने उसले आफ्नो जीवन बदल्न सक्छ। त्यसरी नै अन्य मनोवैज्ञानिकहरूले पनि भनेका
छन् कि जे हामी सोच्छौं त्यस्तै बन्छौं।
यसै तथ्यलाई बाइबलले हजारौं बर्ष पहिल्यै भनेको थियो कि मानिसले जे सोच्छ ऊ
त्यस्तै बन्छ (हितोपदेश २३.७)। अय्युबको
जीवनमा पनि ती आपत्तिहरू आए जसको बारेमा ऊ सोचिनै रहन्थ्यो (३.२५)।
परमेश्वरलाई मगजले पनि प्रेम गरेको खण्डमा
हामी बुद्धिमानी हुनुका साथै सृजनात्मक कल्पनाहरूले जीवनका परिस्थितिहरूमा
सकारात्मक परिवर्तन ल्याउनेछन्। सफल,
स्वस्थ र प्रभावकारी जीवनद्वारा परमेश्वरको सेवा गर्न सक्नेछौं।
No comments:
Post a Comment