July 28, 2020

सिबि गहतराज नेपाली इसाई समुदायका लागि चुनौती या अवसर??


एक सय वर्ष अघिका कोरियाका एक गरीब ख्रीष्टियन र उनका धनी मालिकको वास्तविक उदाहरण आज पनि कोरियन चर्चहरूमा बेलाबखत उल्लेख गरिएको सुनिन्छ।

नोकर र मालिक एउटै चर्चका सदस्य भएको कारण हरेक आइतवार आराधनामा जाँदा मालिक घोडा माथि र नोकरले घोडाको लगाम समातेर बाटोमा डोर्याउँदै चर्चमा जाने गर्थे।

 

समय बित्दै जाँदा एक दिन ती नोकर उक्त चर्चको एल्डर हुनको लागि चुनिएछन् र विधिवत तरिकाले उनी त्यो चर्चको एल्डर पदमा नियुक्त भए।  प्रेस्बिटेरिएन चर्चमा पास्टर र एल्डरको आत्मिक अधिकार बराबर नै हुन्छ।  फरक यति मात्रै कि पास्टरलाई चर्चबाट पारिश्रमिक दिइन्छ भने एल्डरले उल्टै चर्चलाई आर्थिक सहयोग गर्नुपर्ने हुन्छ।  त्यसकारण यी नव-नियुक्त एल्डरले पनि आफ्नो मालिकको सेवालाई निरन्तरता दिंदै चर्चको एल्डरको जिम्मेवारी वहन गर्नुपर्ने भयो।

 

उनी एल्डर पदमा नियुक्त भएपछिको पहिलो आइतवार सधैं झैं मालिकलाई घोडामा राखेर लगामले डोर्याउदै चर्चतिर लागे।  घरबाट चर्च पुग्न आधा बाटो काटे पछि ती मालिकले घोडा रोक्छन् र तल झरेर नोकरलाई घोडामा चढ्न आग्रह गर्छन्।  ती नोकर अलमल्लमा पर्छन्।  कोरियाली संस्कृतिमा मालिक र नोकरविचको भेदभावको खाडल धेरै गहिरो छ।  तापनि ती मालिकले नोकरलाई सम्झाउँछन् र भन्छन् “घरमा तिमी मेरो कामदार हौ तर चर्चमा तिमी मेरो आत्मिक गुरु हौ त्यसकारण यो आधा बाटो देखी उता म मेरो आत्मिक गुरुलाई घोडामा चढाएर चर्चसम्म डोर्याउन चाहन्छु”।  त्यो दिन देखी सधैं घरबाट घोडामा मालिक चढ्थे भने चर्चमा पुग्दा घोडाबाट नोकर झर्थे र त्यसै गरी चर्चबाट नोकर घोडामा चढ्थे भने घर पुग्दा मालिक झर्थे।  यी दुई विश्वसीले कोरियाली चर्च इतिहासमा एउटा आदर्श ख्रीष्टियन सम्बन्धलाई अमर बनाएर गए।

 

हरेक समाजमा अनुसरण गर्न लायकका आदर्श पात्रहरू हुन्छन् जसले मानव विवेकलाई सही र गलत छुट्याउन मदत गर्दछन्।  यस्ता आदर्श पात्रहरू जन्मनको लागि उक्त समाजमा विध्यमान मानवीय दर्शन र धार्मिक आस्थाले महत्वपूर्ण भुमिका खेलेको हुन्छ।

 

इसाई विश्वासीलाई बाइबलले संसारमा नुन र ज्योति बन्न आह्वान गरेको छ।  अन्धकारमा हराइरहेको मानिसको सामु येशू जस्तै बनेर परमेश्वरलाई प्रतिविम्वित गर्न हामीलाई आदेश दिइएको छ।  ज्यानको बाजि लगाएर मृत्युको चिन्ह क्रूस बोक्दै उहाँको चेला बन्न येशूले हामीलाई बोलाउनुभएको छ।  

 

आफ्नो क्रूस बोकेर हिंडेको मानिसलाई उसको लक्षमा पुग्न न सतावट, खेदो, जेल, नेलले रोक्न सक्छ न यस संसारका पापूर्ण अभिलाषाहरूले।  यस संसारको नजरमा चाहे ऊ मालिक होस् वा नोकर उसको जीवनको उद्देस्य येशू जस्तै बनेर प्रेमको भोको संसारमा प्रेमको सन्देशवाहक र अन्धकारमा हराइरहेको मानिसको लागि जीवनको ज्योति दिने उज्यालो बन्नु हुन्छ। 

 

विडम्वना नै भनौं, नेपाली इसाई समाजमा चर्चका साधारण सदस्यहरू आफ्नो क्रूस बोकेर येशूका पाइला पछ्याइरहेका छन् भने चर्चको नेतृत्व यहूदा इस्करियोतले जस्तै चाँदिका सिक्का बटुल्न मै व्यस्त भएको देखिन्छ।  यहूदा इस्कोरियोत एकातिर येशूलाई बेच्न शासकहरूसँग सम्झौता गरिरहेको थियो भने अर्कोतिर येशूलाई प्रेमको चुम्बन पनि खाइरहेको थियो।  उसभित्र एक कसिमको द्वन्द नै चलेको देखिन्छ।

 

हुनत इसाई नेतृत्वलाई यसरी यहूदासँग दाँज्दा धेरैलाई रिस उठ्नु स्वभाविक हो कारण सबैले येशूलाई बेचेका छैनन्।   तापनि अग्रपंतिमा रहेको नेतृत्वले क्रूस बोकेको पनि हामीले देखेका छैनौं भन्दा फरक नपर्ला।  कुनै न कुनै तरिकाले सेवालाई आफ्नो स्वार्थपूर्तिको साधन बनाएको देखिन्छ।  कतिले सम्पत्तिलाई, कतिले शक्तिलाई, कतिले ख्यातिलाई, र कतिले शारीरिक अभिलाषालाई मालिक बनाएको देखिन्छ।  थोरैले मात्रै त्यागको जीवन विताएको छ तर आर्थिक शक्तिको सामु त्यागपूर्ण जीवन पनि ओझेल पर्दोरहेछ।

 

चाँदिका सिक्काको शक्तिको प्रमाण नेपाली चर्चमा विध्यमान विभाजनले छर्लङ्ग पारेको छ। सेवाकाईं गर्दा धन आर्जन गर्ने कुनै सम्भावना हुन्थेन भने मण्डली यसरी विभाजन हुने थिएन।  भएकै खण्डमा पनि शिक्षा र सैद्धान्तिक मतभेदको कारण हुन्थ्यो होला जसलाई मिलाउन मण्डली फेरी एकतामा आउन वाध्य हुनुपर्थ्यो।

 

यहूदाले झैं चाँदिका सिक्का बटुल्नुभन्दा नेपाली चर्चका अगुवाहरूले यूहन्नाले पत्रुसलाई उसको स्थानमा फर्केर आउन मदत गरेझैं (यूहन्ना २१) एक अर्कालाई उचालेको भए आज नेपाली मण्डलीलाई गैर इसाई समाजले पनि कति धेरै इज्जत गर्ने थियो।

 

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सीबी गहतराजसँग मेरो व्यक्तिगत चिनजान छैन भने पनि हुन्छ कारण अहिले सम्म एकपटक मात्र हाम्रो भेट भएको छ।  त्यो पनि एउटा औपचारिक कार्यक्रममा अतिथिकोरूपमा भाग लिंदा उहाँको छेवैको कुर्सीमा बस्न पुगेको थिएँ।  अभिवादन पछि सम्वोधन गर्न “दाई भनौं कि भाइ?” भनेर सोद्धा थाहा भयो कि उहाँ केही वर्षले भाइ हुँदोरहेछ।  

 

विश्वासीको नाताले हो या के हो, मलाई वा अरूलाई सम्वोधन गर्दा पद वा पदवी दर्शाउने उपनाम भन्दा नाता झल्काउने उपनाम नै मन पर्छ।  जस्तै, नेपाली इसाई नारीमाझ डक्टर सरीता थापा अग्रपंतिमा आउनुहुन्छ।  तापनि उहाँलाई सम्वोधन गर्दा “भाउजु” सब्द नै मुखमा पहिले आउँछ।  यहाँ सम्म कि भारतमा कलेज पढ्दा एक दिन मेरा प्रोफेसर डक्टर बालासिंहलाई सम्वोधन गर्दा “ब्रदर बालासिंह” भन्न पुगे जसको कारण लामो समय सम्म सबैको हाँसोको पात्र पनि बनें।  जे होस्, मैले भन्न खोजेको के हो भने मानव अहंकार र अभिलाषाको कारण इसाई भाइचारा धरापमा परेको छ।

 

यो अहंकार र अभिलाषाकै कारण आज सीबी गहतराज नेपाली इसाई समुदायमा जातिय विभेदको सिकार भएका त होइनन् भनेर प्रश्न गर्न मन लागेको छ।  माथि उल्लेख गरेझैं उहाँसँग मेरो व्यक्तिगत चिनजान छैन र माहासंघसँग पनि मेरो कुनै औपचारिक सम्वन्ध छैन।  तापनि उहाँ एक दलितको छोरा भएर पनि नेपाली इसाई समुदायको हक हितको लागि जसरी आवाज उठाउँदै आउनु भएको छ त्यो अन्य व्यक्तिबाट आज सम्म सुनिएको छैन।  विदेशी मिसन, इभान्जेलिकल र एक्युमेनिकल पावरहाउसहरूसँग अन्य पास्टरहरूको आर्थिक साँठ-गाँठ राम्रो होला।  तर नेपाल सरकार र नेपाली मिडियामा इसाईको पक्षमा आवाज उठाउने र उठाउन सक्ने गहतराज मात्र हुन् र छन् भन्दा फरक नपर्ला।  विडम्वना चाहिं यो छ कि गहतराज र महासंघलाई निस्कृय पार्न इभान्जेलिकल र एक्युमेनिकल पावरहाउसको दानापानी खानेहरू दिन रात लागिपरेका देखिन्छन्।

 

गहतराजलाई निस्कृय पार्नुको सट्टा सम्पूर्ण इसाई समुदायले उहाँलाई साथ दिएको खण्डमा एउटा दलितको छोरा पनि इसाई समुदायको उच्च पदस्थ व्यक्ति बन्न सक्दोरहेछ भन्दै सामाजिक रुपान्तरणको ज्वलन्त उदाहरण देशले पाउने थियो।  तर आज नेपाली चर्चले गहतराजलाई साथ दिन सकेन भने यो मौका गुमेर जानेछ र उहाँ जस्तो व्यक्ति पाउन फेरी दसकौं पर्खिनु पर्नेछ। 

 

उहाँ सबै सद्गुणले भरिएको हुनुहुन्छ भन्न खोजेको पनि होइन।  भन्ने नै हो भने मिसनको नाममा आर्थिक वेइमानी र चारित्रिक पतनको साँचो लेखाजोखा गरेको खण्डमा गहतराजलाई ढुङ्गाले हान्नसक्ने इसाई अगुवा भेट्टाउन गाह्रै होला। 

 

त्यसकारण को सही र को गलतको विवादमा जानुभन्दा आत्मिक र सामाजिक हितको लागि गहतराजको हातमा हात राख्दै केही वर्षका लागि उहाँलाई सम्पूर्ण इसाई समुदायले साथ दिएको खण्डमा इतिहासले हाम्रो निर्णयको प्रशंसा गर्नेछ।  नत्र नेपाली चर्च अहंकार र अभिलाषाका साथै जातिय विभेदको पनि सिकार भएको ठहरिनेछ।

3 comments:

  1. डा. भोजज्यूको बिचार र सुझाव अति नै सान्दर्भिक छ। नेपाली ख्रीष्ट्यान बज्रुकहरुलाई अलिक जोडलेनै झकझकाउने Leftist हरुको टड्कारो छ!

    ReplyDelete
  2. Yes...Shie Kura Ho...Jat...ko...Karan...Ho Shatha R Shayeoyg N Pako Sir.....

    ReplyDelete
  3. You are right sir I am completely agree I am sorry what are knowledge do you have you are great sir you are hundred percent right actually CB gotras is so talented he is God sent help for all of us all of we should pray for him always

    ReplyDelete