July 2, 2020

निरन्तर प्रगतिको रहस्य

अज्ञानता मानिसको यस्तो शत्रु हो जसले जीवनका सुख र खुसीहरू चोरेर लगेको आफूलाई थाहै हुँदैन।  त्यो भन्दा पनि बढी डरलाग्दो शत्रु अल्पज्ञान हो।  अज्ञानीलाई जब कसैले चोरको पहिचान गराइदिन्छ तब उसले आफ्नो जिउधनको सुरक्षाको लागि ढोकामा गजबार लगाउँछ भने अल्पज्ञानीले उसको घरको गजबारलाई बाहिरबाटै कसरी खोल्न सकिन्छ भनेर चोरलाई नै उपदेश दिंदै हिंड्छ।  त्यसकारण अज्ञानीको जीवनमा विकास र उन्नतिको लागि आशा हुन्छ भने अल्पज्ञानीको लागि आशा हुँदैन।

 

अज्ञानी हुनु हाम्रो भुल होइन।  जन्मसिद्ध सबै कुरा कसैले पनि सिकेर आएको हुँदैन। कतिपटक जीवनका प्रतिकूल परिस्थितिले ज्ञानको सीमा कोरिदिएको हुन्छ भने कतिपटक आफ्नै शारीरिक र मानसिक स्वास्थ्यले साथ दिएको हुँदैन। धार्मिक अन्धविश्वास, सामाजिक रूढिवादी र सामन्ती वर्गले लादेका परम्पराको कारण ज्ञानको ढोका खट्खटाउन पनि मानिस कतिपटक असमर्थ हुन्छ।  

 

यस्तो अवस्थामा अज्ञानताको घेरा तोड्न एकाद मानिस आफै सफल भए पनि अधिकांसलाई बाह्य सहायताको आवस्यकता पर्दछ।  तर परम्परावाद र सामन्तवादको सहारामा शासन गरिरहेको वर्गले सर्वसाधारण मानिसले अज्ञानताको घेरा तोडेर ज्ञानको उज्यालोतिर गएको देख्न चहाँदैन।  अज्ञानताको अन्धकारमा अन्यायको जालो बुनेर असहाय मानिसहरूमाथि अत्याचार गर्ने आदत बसेको वर्गका लागि ज्ञानको ज्योति घातक हुनजाने भएको कारण त्यसलाई रोक्न धर्म र राष्ट्रवादको आवरण भित्र लुकेर बुद्धिजिवी वर्गको नरसंहार गर्न पछि नपर्ने शासक र समुहहरू आज पनि संसारमा सक्रिय छन्। 

 

कुनै समाज वा राष्ट्र ज्ञानको ज्योतिसँग कति डराउँछ भन्ने तथ्यलाई थाहा गर्न उक्त समाज वा राष्ट्रले बाइबल प्रति अपनाएको दृष्टिकोणले स्पस्ट पार्दछ।  जुन समाज र देशमा बाइबल र बाइबलीय आस्थालाई प्रतिवन्द लगाएको हुन्छ त्यहाँ धर्म र राष्ट्रवादको नाममा निरङ्कुशताले हैकम जमाएको हुन्छ र त्यहाँका मानिसका नैसर्गिक हक र अधिकारको पनि हनन् गरिएको हुन्छ।  उदाहरणका लागि नेपालमा उत्पीडित र शोषित वर्गको हातमा बाइबल नपरोस भन्नका लागि ब्राह्मणवादी र साम्यवादी सरकारले देशको सम्विधानको मर्मलाई नै कुन्ठ्याएर यस्तो कानून बनाए जसमा बाइबल बोकेर हिंड्ने जस कसैलाई पनि सरकारले चाहेको खण्डमा धर्म प्रचारको अपराधी ठानिन्छ।  


तापनि आजको विश्व हिजोको भन्दा धेरै फरक छ।  हिजोको विश्वमा शोषकहरूले मानिसलाई अज्ञानताको पर्खाल भित्र राख्न सक्थे भने आज त्यो पर्खाल केही हदसम्म ढलिसकेको छ।  इन्टरनेटको आविस्कार र सामाजिक सन्जालका कारण निरङ्कुश शासक र शोषक वर्गको निन्द्रा हराएको छ भने दमनको पर्खाल भित्र अज्ञानताको अन्धकारमा भौंतारिरहेका सर्वसाधारण मानिसलाई पनि ज्ञानको ज्योतिले स्वतन्त्रताको स्वाद चखाइसक्यो।  अब सजिलै शोषक वर्गले मानिसको आँखामा छारो हाल्न नसक्ने अवस्थामा विश्वका अधिकांस देशमा आइसकेको छ।  ७० वर्ष अघि नेपाली नागरिकलाई अक्षेर चिन्ने अधिकार थिएन भने आज प्राय: सबैको हातमा यस्तो साधन छ जसको सही प्रयोगले ज्ञानको खानी खोल्न सक्छ।  हामीलाई अब अज्ञानतामा बसिरहने कुनै वाहाना छैन।  छ भने केवल अल्पज्ञानको कारण हुनसक्छ।      

 

ज्ञानी व्यक्तिले जति धेरै ज्ञान हासिल गर्छ त्यति धेरै उसलाई थाहा हुन्छ कि ऊ अझै कति अज्ञानी छ।  त्यसैकारण ज्ञानको बाटोमा लागेको मानिसको जीवनमा विकास र उन्नतिको सीमा हुँदैन।  उसले आफ्नो मगजलाई अन्धविश्वास, परम्परा र रूढिवाद जस्ता प्रगति विरोधी तत्वहरूको कैदी हुनदिंदैन।  जीवनका कुनै पनि क्षेत्रमा ऊ अतिवादी बन्दैन तर सबै सम्भावनाहरूका लागि मगजका ढोकाहरूलाई खुला राख्छ जसका कारण थप प्रगति र उन्नतिका ढोकाहरू पनि उसको जीवनमा खुलै रहन्छन्।

 

यदि तपाईंको जीवन उन्नति र प्रगतिको दिशातिर गैरहेको छैन भने सायद तपाईंले आफ्नो मगजलाई अल्पज्ञानको शिकार बनाउनुभएको छ या अन्धविश्वास, रूढिवाद र परम्पराको।  आजको समयमा शोषक वर्गले हामीलाई ज्ञान हासिल गर्नबाट रोक्न सक्दैन, सक्छ त केवल आफ्नै स्वइच्छाले।

No comments:

Post a Comment