समयको आफ्नै शासन हुँदोरहेछ।
उसको सामु सबैले शिर निहुराउनु नै पर्छ।
जीवनमा समयमै येशूलाई चिन्न पाउनु कति आनन्द! येशूको अनुयायी बनेको झण्डै सात वर्ष पछि मेरो विवाहको
लागि आमा-बाबुबाट केही आर्थीक सहयोग मिल्छ कि भनेर म मेरो गाउँ गएको थिएँ। सबैका छोराछोरीले कमाएर ल्याउने समाजमा आदर्शका
कुरा गर्ने छोराको हातमा आफ्नै विवाहको लागि एक सुको नभएको देख्दा मेरा माता पिताको
मन निकै दु:खेछ। बुबासँग त खासै बोलचाल हुनसक्दैनथ्यो
तर एक दिन निकै दु:खी भएर आमाले भनिन् “कसैका जीवनमा पाँच वर्ष वा दस वर्ष फेर पड्डाहान्
तर तेरा जीवनमा जीवनकै फेर पड्यो”। डोटेली
भाषामा यो निकै पिडादायी र ममताले भरिएको वेदान थियो; असफल छोराको लागि आमाको विलौना
थियो। विवाहको कुरा सुन्दा त आमा निकै खुसी
हुनुभएको थियो तर ‘यिसु धर्ममा’ लागेको सात वर्ष सम्म पनि हातमा एक कौडी नभएको तथ्य
थाहापाएपछि निकै दु:खी हुनुभयो। बुबाले कुनै
आर्थीक सहयोग गर्न नसक्ने भनेपछि घरबाट निस्कने बेला आमाले आफ्नो कानमा लगाइरहेका
दुईवटा पुरानो जमानाका फुलीहरू त्यतिनै खेर झिकेर मेरो हातमा थमाउनुभयो र तिनै फुलीबाट
श्रीमतीको औंलामा विवाहको औंठी लाउन सफल भएको थिएँ।
विवाहको चौबीस वर्ष पछि पचासौं वसन्तमा टेकेकै वर्ष म र मेरी श्रीमतीले
कोरियाको सफल सेवा र आरामदायी बसाइँलाई बिदा दिएर आसामको गुवाहाटि एरपोर्टमा अवतरण गर्यौं। श्रीमतीको माइत मणिपूर परेको कारण बेलाबखत यो सहरबाट
आवत-जावत गरिन्थ्यो तर यसको बारेमा खासै ज्ञान थिएन। सानो एरपोर्टबाट बाहिर निस्केपछि कता कता आन्तरिक
मनमा गल्ती त गरिएन कि जस्तो पनि लाग्न थालेको थियो। सबै कुराहरू निकै परायी र अनौठा लागिरहेका थिए। कोरियाको मात्रै नभएर काठमाण्डोको दाँजोमा पनि गुवाहाटि धेरै पछि देखिन थाल्यो
र फेरी पच्चीस वर्ष पहिला आमाले भनेको कुरा मनमा आयो र आफैले आफैलाई सोध्न थालें
कि कतै फेरी मेरो जीवनमा अर्को फेर त पर्ने होइन?
तर आज (मार्च २०, २०१९) म र मेरी श्रीमती गुवाहाटि एरपोर्टमा हाम्रो
हवाइजहाज पर्खीरहेका छौं र तीन वर्ष अघि हामी पहिलो चोटी यहाँ अवतरण गर्दाको भावनाको
याद आइरहेको छ। त्यो बेलामा एरपोर्ट पनि सानो
थियो। आज तीन वर्षकै अन्तरालमा यसले ठूलो रूप
लिँदैछ। त्यो बेलामा गुवाहाटि निकै बिरानो
र परायी लागेको थियो तर आज केही हप्ताको लागि छोड्दा पनि कताकता नरमाइलो लागिरहेकोछ। तीन वर्ष अघि यो सहरमा हामीले
चिनेको मानिस कोही थिएनन् तर आज दसौं परमेश्वरका छोराछोरीसँग हाम्रो घनिष्ट सम्बन्ध बसेको
छ। गुवाहाटि आशा चर्चले हाम्रो ह ृदयमा गहिरो
स्थान ओगटिसकेकोछ र छोटो समयको लागि छोड्नुपर्दा चिन्तावोध भैरहेको छ।
हो, मेरी आमाको नजरमा आज पनि मेरो जीवनमा फेर परेको छ। आमाको मन त हो। आफ्नो सन्तान घुमन्ते जोगी जस्तो भएर बाँचेको कस्लाई
मन पर्ला र? उसले पनि आफ्नो लागि केही गरेकै
देख्ने आशा हुन्छ। दु:खको कुरा यति मात्रै
हो कि मेरी आमाले येशूलाई चिन्नसक्नुभएको छैन।
यदि उहाँले पनि मैले चिनेको येशूलाई चिन्नुभएकोभए आज मेरो जीवनमा ‘फेर परेको’
नभएर परमेश्वरीय अनुग्रह परेको भन्नुहुन्थ्यो होला। मेरो छोराले उसको जीवनमा भएका सबै थोकहरूबाट येशूको
सेवा गरिरहेको छ भनेर गर्व गर्नुहुन्थ्यो होला।
आशा छ सायद त्यो दिन पनि आउनेछ।
मेरो लागि येशूलाई चिन्नु जीवनको सबै भन्दा महान उपलब्धि हो। येशूबिना मेरो जीवन उजाड थियो तर आज उहाँले मेरो
जीवनमा हरियाली दिनुभएको छ। येशूबिना मेरो
जीवन उद्देस्यहीन थियो तर आज उहाँले मलाई उद्देस्य दिनुभएको छ। येशूबिना यो जीवन केवल ७० वा ८० वर्ष सम्म रहला
तर उहाँले मलाई अनन्त जीवन, कहिल्यै नष्ट नहुने जीवन, समयको घेरा भन्दा बाहिरको जीवन
दिनुभएको छ। येशूबिना संसारका जुनसुकै धनी
र विकसित देशमा बसे पनि मानिसको भित्री जीवन खालीनै हुन्छ तर येशू हामीसँग हुनुहुन्छ
भने संसारमा यस्तो कुनै ठाउँ छैन जहाँ हाम्रो जीवन त ृप्त हुँदैन। येशूबिनाको संसारिक धन-सम्पत्ति एउटा भार मात्रै
हो तर येशूसँगै जीवन बिताउँदा हामीलाई चाहिने सबै चिज उहाँले जुटाउनुहुन्छ। येशूबिना हामी पेटका लागि मेहनत गर्छौं तर येशू
हाम्रो जीवनमा हुनुहुन्छ भने हामी परमेश्वरका लागि काम गर्छौं; हाम्रो पेटपाल्ने जिम्मा
परमेश्वरले लिनुभएकोछ। हाम्रो जीवनमा आनन्दले
त्यतिबेला बास गर्दछ जब हामी पेटका लागि नभएर
परमेश्वरका लागि परिश्रम गरिरहेकाहुन्छौं।
येशूसँग जीवन बिताउने मानिसको जीवनमा कहिल्यै फेर पर्दैन। उसले आफ्नो उद्देस्य पूरा गर्ने नै छ। ऊ आफ्नो गन्तब्यमा पुग्ने नै छ। यो संसारमा रहुन्जले येशूले दिने प्रशस्त जीवन उसले
उपभोग गर्नेछ। बाइबल भन्छ “जससँग पुत्र (येशू)
छ, त्यससँग जीवन छ, जससँग पुत्र छैन, त्यससँग जिवन छैन” (१यूहन्ना ५:१२)। प्रभु येशू आफै भन्नुहुन्छ “म त तिनीहरूले जीवन
पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ” (यूहन्ना १०:१०)। जसको जीवनमा येशू हुनुहुन्छ त्यससँग नभएको कुनै
कुरा हुँदैन। तापनि येशूलाई विश्वासगर्दा हामीले चुकाउनुपर्ने मुल्य चुकाउनुकोसट्टा सजिलोबाटो छानेका थियौं (छौं), येशूको बोलावटलाई पालनगर्दा मन परेको काम गर्न र चाहेकै ठाउँमा मात्रै जान खोजेका छौं भने उहाँप्रतिको हाम्रो प्रेममा सङ्खा गर्ने स्थान छ। त्यसैकारण दाऊदलेझैं भनौं "मुल्य नपरेको चिज म परमेश्वरलाई चढाउने छैन" (२शमूएल २४:२४)।
आमेन
ReplyDelete