March 1, 2019

दिने व्यक्तिलाई परमेश्वर बिर्सनुहुन्नः अगस्टिनको जीवन।

बाइबल भन्छ मानिस परमेश्वरको स्वरूपमा बनेको प्राणी हो।  सुन्दा नै अचम्म लाग्‍ने।  मानौ मानिस परमेश्वर जस्तै छ।  हो पनि।  संसारमा न कुनै चिज छ न कुनै प्राणी जससँग मानिसको तुलना गर्न सकिन्छ।  बाइबलले भन्छ कि यो भौतिक संसार मानिसकै लागि बनेको हो; “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ” (उत्पत्ती १.२८)।  मानिसले आफ्नो वशमा पार्न नसकेका कुराहरू अब थोरै मात्र छन्।

तपानि मानिसले इतिहास वशमा पार्न सकेको छैन।  लाग्छ मानिसको इतिहास परमेश्वर आफैले नयन्त्रण गरिरहनुभएको छ।  आज सम्म उपलब्ध भएका मानवीय ऐतिहासिक प्रमाणहरूले देखाउँछन् कि विगतमा धेरै शक्तिशाली राज्य र साम्राज्यहरू आए अनि गए।  त्यो समयका महान सहरहरू खोज्न आज जमिन उत्खनन् गर्नु पर्छ र आजका महान सहरहरूको पनि एकदिन त्यस्तै अवस्था आउनेछ।

मानव इतिहास मात्रै नभएर, मानिसको व्यक्तिगत जीवनको गति पनि उसको वशमा छैन।  भोलि के हुने हो कसैले भन्न सक्दैन।  आजको दिन र अहिलेको क्षण मात्रै उसको हातमा छ।  तापनि जन्म र मृत्यु, सत्ता र शक्ति, आशा र निराशा, दुःख र सुख मानिसको जीवनका अभिन्न पाटाहरू बनेका हुन्छन् र लाग्छ प्रत्यक व्यक्तिको जीवन पनि परमेश्वरले आफ्नै इच्छा अनुसार नियन्त्रण गरिरहनुभएको छ।  मानिसले चाहेर नत उसले आफ्नो जीवनमा एक दिन थप्न सक्छ न त उसले फुलेको कपाल कालो बनाउन सक्छ (मत्ती ६.२७)।  भनिन्छ जब भेनाजुएलाका पूर्व राष्ट्रपति ह्युगोस चावेस मृथ्युशैयामा थिए तब उनले आफ्नो शैन्य कमान्डरलाई रुँदै भनेका थिए “म मर्न चहान्न, दयागरी मलाई मर्न नदेऊ”।[1]  यो क्रन्दन नै उनको अन्तिम अभिव्यक्ति हुनगयो। मानिसले नचाहे पनि इतिहासले आफ्नो पाना आफै पल्टाउनेछ।

यो घाँस जस्तै छिन मै मौलाउने र छिनमै ओइलाउने जीवनमा पनि अनन्त परमेश्वरको आफ्नो योजना लुकेको हुँदोरहेछ।  बाइबल भन्छ “परमेश्वरको आफ्नै हातले  यी सबै गर्नुभएको हो भनी कसले जान्दैन र?  जीवितहरू सबैका प्राण, सबै मानिस-जातिका आत्मा परमेश्वरकै हातमा छ” (अय्यूब १२.९-१०)।  मानिसको आत्मा मात्रै नभएर उसको शरीर र सबै परिस्थितिहरू पनि परमेश्वरकै हातमा र उहाँकै वशमा हुँदारहेछन् कारण परमेश्वर भन्नुहुन्छ “म तिमीहरूलाई कुनै रीतिले छोड्नेछैनँ, म तिमीहरूलाई त्याग्‍नेछैनँ” (हिब्रू १३.५)।  मावन इतिहासमा आफ्नो नियन्त्रण कायम राख्‍न परमेश्वरले मानिसलाई नै प्रयोग गरेको देखिन्छ।  मानिसको जीवन र वचनबाट परमेश्वरले आफ्नो जीवन र वचन मानव इतिहासमा प्रकाशित गर्दै आउनुभएको तथ्य साधारण व्यक्ति देखि असाधारण व्यक्तित्वको जीवनीले छर्लङ्गै पारेको देखिन्छ। उत्तर अफ्रिकाको हिप्पो सहरबासी अगस्टिनको जीवनी एक यस्तै उदाहरण हो। 

अगस्टिनको जन्म सन् ३५४, अफ्रिकाको थागास्टेबासी साधारण रोमी नागरिक र किसान परिवारमा भएको थियो।  भुमध्यसागरबाट यो सहर झण्डै ७५कि.मि. दक्षिणी पहाडी इलाकामा पर्दथ्यो।  सानै उमेरबाट अगस्टिनमा तीक्ष्ण बुद्धिको लक्षण देखिएको कारण उनका माता-पिताले उनलाई किसानीको लागि नभएर उच्‍चशिक्षाको लागि तयार गर्दै थिए।  दुःखको कुरा अगस्टिन सोह्र वर्षको हुँदा अचानक उनका पिताको निधन भयो र ठुलो सहरमा गएर उच्‍चशिक्षा हाँसिल गर्ने सपना पनि सिद्दियो।  आमा मोनिका र भाइ-बैनीको रेखदेखको जिम्मा जवान अगस्टिनकै काँधमा पर्‍यो जसको कारण चाहेर पनि त्यो सानो सहर थागास्टे छोड्न सक्ने अवस्था उनको थिएन।  उनकी आमा परमेश्वरमा निकै समर्पीत स्त्री थिइन्।  आफ्ना सन्तानको लागि रातदिन आँसु बगाएर प्रार्थनामा लागिनै रहन्थिन्।

आमाको प्रार्थनाको जवाफ नै होला, उनकै एक धनाढ्य गाउँले रोमानियानसले अगस्टिनको त्यो सम्भावनाले भरिएको दिमागलाई खेर गएको देख्‍न सकेनन्।  लाग्‍ने जति सबै खर्च आफैले बेहोर्ने गरी अगस्टिनलाई माडुरोसको विश्वविध्यालयमा उच्‍चशिक्षाको लागि जान अग्रह गरे।  अगस्टिनले पनि “के खोज्छस् … आँखो” भनेझैं, अशिक्षाको अन्धकारबाट उच्‍चशिक्षाको ज्योतिमा जानपाउने मौकालाई चुकाएनन्।  केही वर्षमै सारा उत्तरी अफ्रिकामा एक विशिष्ट विद्वानकोरूपमा उनले आफैलाई खडा गरे।  खेद यति मात्रै थियो कि उनको त्यो अभूतपूर्व सोचमा बाइबलले ठाउँ पाएन।  बाइबलाई अज्ञानीहरूको विचार भन्दै उनी ग्रिक दर्शन र फारसी धार्मिक मत मनिकिएनिजम्का अनुयायी बने जसको कारण आमा मोनिकाको हृदय टुक्रियो।  नौ वर्षसम्म उनले प्रख्यात सहर कार्थेजमा अध्यापन गर्नुकासाथै धेरैलाई बाइबलीय विश्वासबाट अलग गर्दै मनिकिएन मतमा ल्याएर त्यो मतलाई निकै बलियो बनाउन सफल भए।  तापनि रोमी रमझम र फैलिँदै गएको ख्यातिले उनलाई खासै आत्म-सन्तुष्टि दिएन।  यतिबेलासम्म उनकी प्रेमिकाबाट एकजना छोरा पनि जन्मिसकेको थियो। आमाले निरन्तर येशूमा फर्कन गरेको अग्रहको कारण अफ्रिका माहादेशनै छोड्न मन लाग्यो र एक रात आमालाई कार्थेजमा एक्लै छोडेर प्रेमिका र छोरालाई लिएर उनी रोमतिर लागे।  छोराले यसरी एक्लै छोडेर समुन्द्रपार गए पनि मोनिकाले प्रार्थना गर्न छोडिनन्। 

अफ्रिकामा कमाएको ख्यातिको कारण रोममा पनि आफ्नो ख्याति स्थापित गर्न अगस्टिनलाई समय लागेन।  छोटो समयमै उनी रोमी सम्राटका प्रवक्ता बने।  त्यो बेलामा रोमी सम्राट भ्यालिन्टिनिएन मिलान सहरबाट साशन गर्थे र त्यसै सहरमा प्रख्यात विषप आम्ब्रोजले पनि सेवा गर्दथे।  छोरा मिलानमा छ भन्ने खबर सुनेपछि आमा मोनिकाले रोमोको यात्रा सुरु गरिन् कारण उनलाई विषप आम्ब्रोजको वचन सुन्ने धेरै ठूलो चाहना थियो।  आमा मिलान आइपुग्‍नुभन्दा पहिल्यै अगस्टिनको विषप आम्ब्रोजसँग भेट भैसकेको थियो।  पहिलो भेटमै आम्ब्रोजको प्रभावले अगस्टिनलाई बाइबल फेरी पढ्न प्रेरणा मिल्यो।  येशूमा विश्वास नभएपनि विषपको प्रचारगर्ने शैली सारै मनपरेको कारण प्रत्येक हप्ता अगस्टिन चर्चमा जान थाले।

अगस्टिनको जीवनमा विश्वासको ठूलो बाधक उनको तिब्र योन अभिलाषा थियो। एक साँझ साथीहरूसँग पापसँगको संघर्षको बारेमा छलफल गरिसकेपछि उनलाई निकै अशान्ति भयो र घरबाट निस्केर बगैचामा बिलौना गरिरहेको बेला एउटा बालकको आवाज आउँछ “किताबको मुठा खोल र पढ”।  दुई तीन चोटी त्यो आवाज आएपछि उनी भित्र जान्छन् र पहिला पढ्दै गरेको बाइबलको मुठा खोल्छन् र उनको आँखा रोमीको पुस्तक १३:१३-१४मा पर्दछ। अनौठो प्रकाश नै भनौ, त्यो बाइबलको खण्डले अगस्टिनमा भयानक परिवर्तन ल्यायो।  त्यसको केही समयपछि आफ्नो १५ वर्षीय छोरासँगै विषप आम्ब्रोजको हातबाट उनी बप्तिस्मा लिन्छन्। अगस्टिनको ख्याति सुनेर उनका गाउँले र सहयोगी रोमानियानस पनि अफ्रिकाबाट मिलानमा उनलाई भेट्न आउँछन् र भन्छन् “मैले गरेका सबै लगानी तिमी जस्तै फाइदाजनक भैदिएको भए कति राम्रो!”

बप्तिस्मा लिएको केही समयमै उनले सम्राटको सेवाबाट राजीनामा दिन्छन् र आजीवन ब्रह्मचारी रहेर बाइबलको अध्यन र ध्यान गर्ने भन्दै आफ्नी प्रेमिकालाई अफ्रिका फर्काउँछन्। केही वर्षपछि रोम छोडेर उनी आफ्नै गाउँ थागास्टे आउँछन् तर बाटोमै आमाको मृत्युले उनलाई व्याकुल बनाउँछ र थागास्टेमा आफ्नै पुरानो घरमा छोरा आडेओडेटससँग बसेर पहिला मनिकिएनिजममा लागेका मित्रलाई येशूमा फर्काउने प्रयास गर्छन्।  एक दिन अचानक टाउको दुखेर बिस वर्षे छोराको मृत्यु हुन्छ र अगस्टिनको संसार पूर्णरूपले अध्यारो हुनजान्छ। तापनि मनिकिएनिजमको विरुद्द लेखेका लेखको कारण उत्तर अफ्रिकामा उनलाई नचिन्ने मानिस कमै थिए।

एक दिन आफ्नो निराशाको संसारमा केही भिन्नता आउँछ कि भनेर मित्रहरुको सल्लाहामा त्यहाँको प्रख्यात बन्दरगाहाको सहर हिप्पोमा घुम्न जान्छन्। आइतबारको दिन त्यहाँको चर्चमा आराधनाको लागि जाँदा सबैले उनलाई चिनिहाले र हल्लै हल्लाको बिचमा उनलाई चर्चमा पुजाहारी (सेवक) बन्न आग्रह गरिन्छ।  त्यहाँका वृद्ध विषपले अगस्टिनलाई आफ्नो स्थान दिन्छन् र सन् ३९५मा आफ्नो सारा पैतृक सम्पत्ति चर्चलाई दान दिँदै उनी हिप्पोका विषप नियुक्त हुन्छन् जहाँ उनले आफ्नो मृत्युसम्मै, अर्थात सन् ४३०सम्म सेवा गरे।

उनको लामो सेवाकालको समयमा अगस्टिनले लेखेका झण्डै पचास लाख सब्दहरू आज हामीसँग सुरक्षित छन् तर कति नष्ट भएहोलान् भनेर अनुमान मात्रै गर्न सकिन्छ।  मनिकिएनिजम, डोनेटिजम र एरिएनिजम जस्ता घातक झूटाशिक्षाको विरूद्द लेख्‍नुका साथै परमेश्वरको अनुग्रहले एउटा मानिसको जीवनमा कसरी काम गर्छ भन्ने तथ्यलाई प्रमाणित गर्न उनले आफ्नो जीवनी लेखे।  बाइबलका टिप्पणी र उनले गरेका प्रचारहरूलाई पनि उनी सब्दमा परिणत गर्न सफल भए।  जब सन् ४१०मा रोमको पतन भयो तब ख्रीष्टियन विश्वासलाई नै दोष लगाइएको कारण त्यो दोष मेटाउन उनले “परमेश्वरको सहर (सिटि अफ गड)” नामक महान पुस्तक लेखे जसको प्रभाव आज पनि त्यतिनै जीवित छ।  भनिन्छ प्रेरित पावल पछि प्राचीन मण्डलीलाई सम्हाल्न परमेश्वरले अगस्टिनलाई छान्नुभयो।  उनकै लेखहरूको कारण प्राचीन मण्डली मात्रै नभएर पतन भएको रोमी साम्राज्य पनि फेरी मौलाएर आयो। 

एक जना मानिसको जीवनबाट परमेश्वरले यति धेरै काम गर्नु भयो तर मानौ रोमानियानसले समयमै अगस्टिनलाई पढ्नको लागि सहयोग नगरेको भए उनको अवस्था के हुन्थ्यो होला भनेर हामी केवल कल्पना मात्रै गर्न सक्छौ।  त्यसकारण अगस्टिनको महानतामा हामीले उदारवादी रोमानियानस र प्रार्थनामा दिन रात बिताउने उनकी आमा मोनिकालाई बिर्सनु हुँदैन।

सायद अगस्टिन जस्तै माहान काम हाम्रो हातबाट नहुन सक्छ तर रोमानियानस जस्तै हामी कसैलाई केही सहयोग गर्न सक्छौं होला।  मोनिका जस्तै हामी कसैको लागि प्रार्थना गर्न सक्छौं होला।  हुनसक्छ एक दिन हामीले सहयोग गरेको र हामीले प्रार्थना गरेको व्यक्तिलाई परमेश्वरले आफ्नै प्रकारले चलाउनुहुनेछ र हामीले पनि आफ्नो इनाम पाउनेछौं।  परमेश्वरको लागि जति अगस्टिन महत्वपूर्ण छ त्यतिनै रोमानियानस, आम्ब्रोज र मोनिका पनि महत्वपूर्ण छन्।  त्यसकारण मित्र परमेश्वरको राज्यमा हामीले दिएको एक गिलास चिसो पानीको पनि लेखा राखिनेछ कारण परमेश्वरले प्रत्यक मानिसलाई आफ्नो उद्देस्य पुरागर्न उनीहरूको आफ्नै स्थानमा राख्‍नुभएको छ।  कुनै मानिस तिर्खाएर तपाईंको सामु आएको खण्डमा एक गिलास चिसो पानी दिन नबिर्सनुहोला।



[1] https://www.washingtontimes.com/news/2013/mar/7/hugo-chavezs-last-words-please-dont-let-me-die/

No comments:

Post a Comment