February 23, 2018

पास्टर ज्यू, तपाईंको योग्यता?



मानव समाजको प्रगति वा दुर्गतिहुनुमा अगुवाको धेरै ठूलो भुमिका हुन्छ।  अगुवाविना कुनै समाज प्रगति गर्न सक्दैन।  हितोपदेश २९:१८ले भन्छ "जहाँ अगुवा (दर्शन) हुँदैन त्यहाँ मानिसहरू भाँडिन्छन्"।  अगुवालाई दर्शनसँग तुलना गरिएकोछ र  दर्शनविनाको अगुवाले समाजलाई प्रगतितिर लान सक्दैन।  एउटा परिवारले प्रगति गर्नकोलागि पनि अगुवाको आवस्यकता पर्दछ   

मण्डली परमेश्वरको विश्वव्यापी परिवार हो।  तर यसको स्थानिय आकार पनि छ।  विश्वव्यापी मण्डली बलियो हुनको लागि स्थानिय मण्डली बलियो हुनु आवस्यक छ।  स्थानिय मण्डलीलाई पालनपोषण गर्नकोलागि परमेश्वरले आत्मिक गोठालो नियुक्त गर्नुभएकोछ जसलाई बिभिन्न विदेसी सम्प्रदायहरूमा बेग्ला बेग्लै नामले चिनिए पनि नेपाली परिवेसमा स्थापना भएको मण्डलीको अगुवालाई हामी "पास्टर" भनेर चिन्छौं।  विश्वासीको जीवनमा प्रतक्ष असरपार्ने व्यक्ति स्थानिय मण्डलीको पास्टर नै हो। 

पास्टरीय जिम्मेवारीलाई सम्बोधन गर्दै प्रभुले पत्रुसलाई भन्नुभयो; "मेरो बगाललाई खुवाउ, मेरो बगालको हेरचाह गर" (यूहन्ना २१:१५-१७)।  पत्रुसले जीवनभरि प्रभुको बगालको हेरचाह गरे र अन्तिम्मा आफूभन्दा पछिका गोठालाहरुलाई यसरी भन्नुहुन्छ; "तिमीहरूको रेखदेखमा राखिएको परमेश्वरका बगलको हेरचाह गर।  करले होइन तर स्वेच्छाले, धनको लोभले होइन तर उत्साहसाथ, तिमीहरूको जिम्मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन, तर बगालको निम्ति उदाहरण भएर" (१पत्रुस ५:२-३)।         

प्रेरित पावलले पास्टरीय जीवनकोबारेमा तीनवटा पत्रहरू लेखेको छ (१,२ तिमोथी, तितस) र आफ्नै जीवनको उदाहरणबाट असल सेवक बन्न हामीलाई प्रेरणा दिएको छ।  यो सेवामा जसकसैलाई सजिलै हात नहाल्नको लागि याकूब चेतावनि दिँदै भन्छन्; "भाइ हो, तिमीहरूमध्य धेरै जना शिक्षक नहोओ।  किनकि तिमीहरू जान्दछौ, हामी शिक्षा दिनेहरूको न्याय अझ कठोर रूपले हुनेछ" (३:१)।  याकूबका भाइ यहूदाले जब स्वार्थ र धनको लोभमा सेवागर्नेहरूले मण्डलीमा विनास ल्याइरहेको देखे तब असल अगुवाहरूलाई सल्लाहादिँदै भन्छन्; "सन्तहरूलाई सदाकालको निम्ति सुम्पिएको विश्वासको रक्षा गर" (३पद)। 

यस किसिमले नयाँ नियममा धेरै पटक मण्डलीको अगुवाकोबारेमा उल्लेख गर्दै उनीहरूको जीवनमा हुनुपर्ने गुणहरू, जिम्मेवारीहरू, र योग्यताहरूको विष्लेषण गरिएकोछ।  तापनि आज यो सानो पाठमा म पास्टरमा हुनुपर्ने गुणहरू मध्य तीन वटालाई छोटकरिमा उल्लेख गर्न चाहन्छु।  मण्डली र विश्वासीहरूको उन्नतिको लागि निम्न योग्यताहरू अतिनै आवस्यक छन्।

1. विश्वासीहरूलाई परमेश्वरको वचनमा डोर्‍याउनसक्‍ने:  स्थानिय पास्टरले बाइबललाई पूर्णरूपले खाएको हुनुपर्छ।  उत्तपत्ती देखी प्रकाश सम्मका पुस्तकहरूको नाम सुन्ने वितिक्कै त्यो पुस्तकमा के लेखिएको छ भनेर मोटामोटी रूपरेखाको छाप उसको मजगमा लागेको हुनुपर्छ।  दैनिक डिभोसन् र प्रचारको लागि गरिने बाइबल अध्यनका अतिरिक्त वर्षमा कम्तिमा पनि एक पटक सरसर्ति पुरा बाइबल पढेकै हुनुपर्छ।  यदि तपाईंको मण्डलीको पास्टरले वचन खाएको छैन भने उसले तपाईंलाई सानातिना उदाहरणहरू, आफ्ना सपनाहरू, दर्शनहरू र अनुभवहरूमा सिमित राख्छ र मनमा लागेका कुराहरूको समर्थनको लागि बाइबलका केही पदहरू पल्टाउँदै आत्मिक अगुवाको स्वाङ् पार्न सक्छ तर यसले विश्वासीलाई वचनको पुरा खुराँक पुग्दैन।  बाइबलका केही मनपर्ने पुस्तक र खण्डहरूबाटमात्रै वचन प्रचार गर्छभने उसले बाइबल अध्यन गरेकोछैन भनि जान्नुपर्छ।  विश्वासीहरूलाई सम्पूर्ण बाइबलका पुस्तकहरूबाट सिकाउन सक्‍नुपर्छ।  नत्र यस्तो पास्टरको मुनि रहने विश्वासीहरू सजिलै झूटा शिक्षाका शिकार बन्नपुग्छन्। 

2. विश्वासीहरूलाई पवित्र आत्माको भरिपूर्णतामा डोर्‍याउनसक्‍ने:  पवित्र आत्माको भरिपूर्णताको साँचो अनुभव एउटा पास्टरको जीवनमा नभई नहुने कुरा हो।  व्यक्तिगत जीवनमा जब पास्टरले आत्माको शक्तिको अनुभव गरेको हुन्छ तब उसले विश्वासीहरूलाई पनि यो अनुभवमा डोर्‍याउन सक्छ।  पवित्र आत्माका वरदानहरू मण्डलीमा कार्यरत हुनको लागि हरेक विश्वासीले आत्माको भरिपूर्णताको अनुभव गर्नुपर्छ।  अन्यभाषा, अगमवाणि, चङ्गाइ र आश्चर्यकर्महरू जब मण्डलीमा देखा पर्दछन् तब ती वरदानहरूको सही प्रयोगबाट मण्डली निर्माण गर्न आत्मामा चलाइएको पास्टरको आवस्यकता पर्दछ।  यदि आत्मा छुट्याउन नसक्ने पास्टर त्यो मण्डलीमा छ भने मण्डलीमा भद्रगोल हुने वा कुनै पनि आत्माका वरदानहरूलाई कामगर्ने ठाउँ नदिएर मण्डली चिसो बन्ने सम्भावन हुन्छ।  त्यसैकारण स्थानिय मण्डलीको पास्टर आफैले विश्वासीलाई बाइबलीय शिक्षाको र अनुभवको आधारमा पवित्र आत्माको शक्तिमा वचन प्रचार, चङ्गाई र दुष्टात्माहरू निकाल्ने कममा अगुवाई गर्न सक्नुपर्छ।  विश्वासीहरूको जीवनमा कार्यरत आत्मिक बन्धनहरू तोड्नको लागि पनि आत्मिक अभिषेकको खाँचो पर्दछ।  नत्र पवित्र आत्माको अगुवाइलाई बुझ्न नसक्ने पास्टरको मुनि रहेका विश्वासीहरू सजिलै झूटा अगम्वक्ता र धार्मिक लुटेराहरूको शिकार बन्न पुग्छन्।  

3. विश्वासीहरूको शैक्षिक स्तर उकास्नसक्‍ने: पास्टर एउटा आत्मिक अगुवामात्रै होइन।  जीवनमा उन्नतिको निम्ति प्रेरणा दिने प्रेरक पनि हो।  उन्नतिको निम्ति शिक्षा नै सबै भन्दा महत्वपूर्ण पक्ष हो।  शिक्षा हाँसिल गर्न स्कूल वा कलेज नै जानुपर्छ भन्ने छैन।  मण्डली यस्तो स्थान हो जहाँ एउटा सक्षम पास्टरले आफ्ना विश्वासीहरुलाई जीवनमा उन्नतिगर्न चाहिने सबै ज्ञान र बुद्धि प्रदान गर्नसक्छ।  समय, परिस्थिति र स्थान सुहाउँदो सफल परिवार निर्माण, सफल व्यवसाय निर्माण, र सफल पेशाको निम्ति चाहिने शिक्षा, प्रेरणा र सकरात्मक सोचमा विश्वासीहरूलाई परमेश्वरको वचन र आधुनिक विज्ञानको सहयोगबाट एउटा पास्टरले सिकाउन सक्नुपर्छ।  यसको लागि पास्टर आफैले धेरै मेहेनतका साथ अध्यन गर्नुपर्ने हुन्छ।  अध्यन नगर्ने मानिस सफल अगुवा बन्न सक्दैन।  आजको संसारमा हामीलाई सजिलै अध्यन सामाग्रिहरू मिल्न सक्छन्।  इन्टरनेट र मिडियाको प्रगयोबाट एउटा साधारण लेखपढ गर्नसक्ने पास्टरले पनि आफ्ना विश्वासीलाई चाहिने विषयवस्तुमा राम्रो अध्यन गरेर शिक्षा दिनसक्छ।  समय समयमा सके सम्म छोटो समयका तालिम र गोष्टीहरूमा भाग लिएर पनि आफैलाई सक्षम बनाउन सकिन्छ।  यदि आफूमा त्यस्तो दक्षता छैन भनि ठान्छ भने पनि दक्ष पास्टरहरूलाई बोलाएर विश्वासीको जीवनमा उन्नतिका शिक्षाहरू दिन सक्नुपर्छ।   आत्मिक उन्नतिले हामीलाई शारीरिक र भौतिक उन्नतिमा लानु नै पर्छ।  तर यसको लागि चाहिने आत्मिक र भौतिक ज्ञान पास्टरले हस्तान्तरण गर्नुपर्ने हुन्छ।  समाजका बुद्धिजिवीवर्गहरूले पनि मण्डलीमा आउँदा आत्मिक र बौद्धिक आशिष् पाएको अनुभव गर्नैपर्छ।   यसको लागि पास्टर एउटा दर्शनसास्री नै हुनुपर्छ भनेको होइन।  तर आफूले सेवा पुर्‍याइरहेको समाज कस्तो छ, त्यो समाजका आवस्यकताहरू के कस्ता छन् र कसरी त्यो समाजलाई असल र उन्नत समाज बनाउन सकिन्छ भनि यथार्थपूर्ण शिक्षामा आधारित भएर पास्टरले परमेश्वरको वचनको सेवा गर्नुपर्छ।  यदि पास्टरले आफ्नो समाजलाई बुझ्न सकेन र विश्वासीलाई उत्तम बाटो देखाउन सकेन भने त्यो मण्डली प्रभावरहित हुनेछ र विश्वासीहरू अज्ञानतामा रुमलिरहनेछन्।  प्रगित र उन्नतिबाट बन्चित हुनेछन्।   

यसरी वचनले भरिएको, आत्माले भरिएको, र तत्कालिन समाजको ज्ञान भएको पास्टरले आफ्ना विश्वासीलाई आत्मिक, शारीरिक र भौतिक (आर्थिक) फलिफापमा लैजानेछ। उसको मण्डलीका विश्वासीहरू खोलाको किनारमा रोपेको रूखझैं हुनेछन् जसका पात कहिल्यै ओइलाउँदैनन् र जसले सधैं फल फलाउँछ।  तिनीहरूले जे पनि गर्छन् त्यसमा सफल हुनेछन्।

No comments:

Post a Comment