January 15, 2019

भोलि पछुताउनुपर्ने गरी जीवन नबिताउँ!

१७औं शताब्दीका फ्रान्सेली विद्वान ब्लेज पास्कल भन्छन्; "येशू ख्रीष्टबिना मानिसले आफ्नो जीवन के हो? मृत्यु के हो? परमेश्वर को हो? र ऊ आफै को हो? भनी ज्ञान हासिल गर्ने कुनै आधार छैन"।
त्यसैकारण मित्र, यदि तपाईंले येशूलाई भेट्नुभएको छ भने जीवन के हो भनेर जान्नुभएको छ। जीवन कसरी जीउने भनी थाहा पाउनुभएको छ।
येशूले भन्नुभयो; "म तिमीहरूलाई प्रशस्तताको जीवन दिन आएँ"। प्रशस्त खुसी, आनन्द, उद्देस्य र अर्थले भरिएको जीवन।
येशूलाई भेट्न अघि मेरो जीवनको परिभाषा अरू मानिसले गरेको थियो। मेरो किताब "ज्योतिषीले भत्काएको जीवन"मा मैले यसको लामो बयान गरेको छु।
तर येशूलाई भेटे पछि अरू मानिसले मेरो बारेमा के भन्छन् त्यसको मलाई कुनै पर्बाह छैन कारण मेरो अन्तिम भलो चाहने केबल येशू मात्रै हुनुहुन्छ। उहाँले मलाई दिएको प्रशस्ततामा मैले जीउन जानेको छु, छानेको छु।
तपाईंको जीवन कस्तो छ? के जीवनको अर्थ र उद्देस्य हात पार्नुभएको छ? के त्यो अर्थ र उद्देस्यले तपाईंको मृत्यु पछिको जीवनलाई पनि समेटेको छ? मरे पछि म स्वर्ग जान्छु नै भन्ने निश्चयता पाउनुभएको छ? येशूले भन्नुभयो "बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ (स्वर्ग) आउन सक्दैन"।
येशूलाई चिन्नुभएकोछ भने तपाइँसँग प्रशस्तताको जीवन छ। प्रत्यक दिनको जीवन रहरलाग्दो बन्नसक्छ। समयको नदी बग्दै गए पनि फर्केर हेर्दा हामीलाई कुनै पछुतो लाग्दैन। आजको दिनमा जीवन कठिन छ भने पनि हामी हरेस खाँदैनौं किनभने येशूले हामीलाई हाम्रा कठिनाइमा साथ दिने प्रतिज्ञा गर्नुभएको छ। उहाँ भन्नुहुन्छ "हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ र म तिमीहरूलाई विश्राम दिनेछु"।
त्यसकारण मित्र, अरू मानिसलाई तपाईंको जीवन परिभाषित गर्न नदिनुहोस्। अरू मानिसले तपाईंको खुसीको सिमा नकोरोस् कारण येशूले हामीलाई अपार शान्ति, आनन्द र खुसीको प्रतिज्ञा गर्नुभएको छ।
तलको तस्बीर हामीले दश वर्ष अघि कोरियामा रहँदा खिचेका थियौं। आज हामी भारतको गुवाहाटीमा बस्छौं। कोरियाको दाँजोमा यो सहर धेरै पछि छ तर हाम्रो जीवनमा आनन्द र खुसीको कमि छैन कारण हामी जहाँ भए पनि जीवनको उद्देस्य र अर्थ हामीले येशूमा पाएका छौं। त्यसैकारण हरेक दिन हाम्रा लागि रहर लाग्दो बन्दछ। भोलि यो ठाउँ छोडेर अर्कै ठाउँमा जाँदा जब हामी यो समयलाई फर्केर हेर्नेछौं तब त्यो बेला पनि आनन्दित हुनेछौं। आजको दिन हामी आनन्दित छौं भने हाम्रो हिजो र भोलि आफै आनन्दित हुनेछ।
भोलि पछुताउनुपर्ने गरी जीवन नबिताउँ!

No comments:

Post a Comment