हिन्दी सिनेमा हेर्ने साधारण दर्शक देखि भारतका प्रधानमन्त्रीले हाँस्य कलाकार कादर खानको निधनमा दुःख व्यक्त गरेका छन्। सन् २०१८को अन्तिम दिन ८१ वर्षको उमेरमा खानले
यो संसार छोडे। त्यसैगरी केही वर्ष अघि
विश्वका अधिकाङ्स मानिसलाई आफ्नो हाँस्य कलाकारिताद्वारा दुःख बिर्सन मदत गर्ने
मानिस रबिन विलियमस्ले संसार छोड्दा धेरै रोएका थिए।
आधुनिक संसारको उदयसँगै जन्मेको सिनेमाको संसारलाई हामीले हेर्यौं
भने हाँस्य फिल्महरूले प्रारम्भकालबाटै अग्रिम स्थान लिएको छ। चार्लि च्यापलेन र मिस्टर बिनको बारेमा नसुन्ने
मानिस संसारमा बिरलै होलान्।
संसार दुःखले भरिएको छ। विश्वप्रख्यात मनोवैज्ञानिक जोर्डन पिटरसन
भन्छन् “जीवन एक वियोगान्त (ट्य्राजिडि) हो”।
उनको यो भनाइको पछाडि वर्षौं सम्म धेरै मानिसलाई जीवनसँग सङ्घर्ष गर्न
आफूले दिएको परामर्शको अनुभव छ।
पास्टरीय सेवाले मलाई पनि मानिसको जीवनलाई नजिकबाट नियाल्ने
मौका दियो। जीवनमा दुःख वा समस्या नभएको
ख्रीष्टियान विश्वासी आज सम्म भेटेको छैन।
कुनै न कुनै क्षेत्रमा, आज नभए भोलि, आफू निर्दोषहुँदा पनि मानिसले दुःख
भोगी नै रहेका हुन्छन्। जीवजन्तुको
संसारलाई क्यामराले कैद गरेका भिडियो हेर्यौं भने त्यो संसारको दुःख अझै दर्दनाक
छ। अपराधी मानसिकताका मानिसले शक्तिको आडमा
निर्दयी पशु सरहनै धेरै मानिसको जीवनलाई तहसनहस गर्दै आएका छन्। विगतको दास प्रथा, निरङ्कुश शासकहरू र आजको मानव
बेचबिखन र सामन्ती सोचका मानिसहरूले धेरैको जीवनलाई नारकीय बनाएको छ।
यहूदी बिद्वान भिक्टोर फ्य्राङ्कल नाजी ग्याँस भट्टीबाट
बच्न सफलभएपछि आफ्नो अनुभवको आधारमा भन्छन् “मैले मानिसमा सबैभन्दा उत्तम र घृणित
कुरा देखेको छुँ”। उनी भन्छन् कि ती
ग्याँस भट्टीमा निर्दोष मानिसलाई बन्द गरेर उनीहरूलाई जलाउन आगो सल्काउने व्यक्ति
पनि मानिस नै हो र ती ग्याँस भट्टीमा जलाइनको लागि छिर्दाखेरी मुखमा प्रभुको
प्रार्थना र शेमा (यहूदी प्रार्थना) उच्चारण गर्दै र तीनै नाजीलाई क्षमा दिने
व्यक्ति पनि मानिस नै हो। तर एउटा घृणित
कुराले भरिएको छ भने अर्को असल (उत्तम) कुराले।
दुष्टताले भरिएको मानिसले अरूलाई दुःख दिन मनपराउँछ भने भलाइले भरिएको
मानिसले दुःखमा परेकालाई सान्त्वना दिन।
त्यसैकारण बाइबल भन्छ “जब धर्मीको उन्नति हुन्छ, तब सहरै आनन्दित
हुन्छ। जब दुष्टको नाश हुन्छ, तब रमाहट
हुन्छ। धर्मात्माको आशीर्वादले सहरको
उन्नति हुन्छ, तर दुष्टहरूको मुखले त्यसको भताभुङ्ग हुन्छ” (हितोपदेश ११.१०-११)।
प्रिय मित्र, हामीमा पनि धर्मी वा दुष्ट बन्नसक्ने सम्भावनाहरू
छन्। चाहेको खण्डमा हामी पनि मानिसको
जीवनमा हाँसो वा आँसु ल्याउन सक्छौं। हो,
हामी कादर खानले जस्तै करोडौं मानिसको जीवनमा हाँसो ल्याउन नसकौंला तर हामी बसेको
ठाउँमा, हाम्रा चारैतिर रहेका मानिसको जीवनमा कि हाँसो कि आँसु ल्याउन
सक्छौं। हामी दुष्टताले भरिएका छौं भने
आँसु ल्याउने छौं। भलाइले भरिएका छौं भने
हाँसो। असल मानिस हौं भने हाम्रो उन्नतिमा
र दुष्ट हौं भने हाम्रो पतनमा मानिसहरू रमाउने छन्।
पास्टरको नाताले मैले मानिसको जीवनलाई मुल्याङ्कन गर्ने आधार
स्थानीय मण्डलीमा खेलेको भुमिका नै हो कारण हाम्रो लागि मण्डली एउटा परिवार हो र
त्यो नै हाम्रो संसार हो। हाम्रो कारण
त्यो मण्डलीका सदस्यहरूमा हाँसो थपिएको छ भने हामी असल मार्गमा हिँड्दै छौं। हाम्रो उन्नतिमा त्यहाँका मानिसहरू रमाउनेछन् र
आफ्नो दुःखलाई केही समयको लागि भएपनि भुल्नेछन्।
तर स्थानीय मण्डलीका सदस्यहरूको जीवनमा हाँसो ल्याउनुको सट्टा उनीहरूको
जीवन र मण्डलीमा आँसु ल्याइरहेका छौं भने, त्यो असल मार्ग होइन। त्यसले हाम्रो पनि भलाई गर्ने छैन कारण हामी जे
छर्छौं त्यसको कटनी गर्ने छौं।
प्रेरित पावल भन्छन् “भलाइ गर्ने काममा हामी नथाकौं, किनभने
यदि हिम्मत हारेनौं भने ठीक समयमा हामी कटनी गर्नेछौं। यसकारण मौका पाएअनुसार हामी सबै मानिसको भलाइ
गर्दैजाऔं, विशेष गरी तिनीहरूको, जो हाम्रो विश्वासका परिवारका हुन्” (गलाती
६.९-१०)। यसरी यदि हामी स्थानीय मण्डलीमा
भलाइ गर्ने मानिस हौं भने परमेश्वरले हामीलाई संसारका धेरै मानिसको जीवनमा हाँसो
ल्याउने मानिस पनि बनाउन सक्नुहुनेछ। “आनन्द गर्नेहरूसँग आनन्द गर्दै र रुनेहरूसँग
रुदै” (रोमी १२.१५) हामी दुःखी मानिसहरूका निम्ति परमेश्वरका सान्त्वनाका साधन
बन्नसकौं! हामी मरेर जाँदा मानिसमा खुसीको
सट्टा पिडाका आँसु झरुन्!
No comments:
Post a Comment