June 4, 2022

कति छिटै बुढेसकाल लागेछ!


बीस पच्चिस वर्षको जवान अवस्थामा जीवन लामो छ जस्तो लाग्छ। भविस्य आफ्नै वशमा रहेको भान हुन्छ र आफू भन्दा बीस-तीस वर्ष पाका मानिसलाई हेर्दा लाग्छ कि म त्यो उमेरमा पुग्दा त मैले के के नै गरिसकेको हुन्छु होला! हो पनि। समय, परिस्थिति र स्वास्थ्यले साथ दिएको खण्डमा बीस पच्चिस वर्षको अन्तरालमा भौतिक सफलताका धेरै तलाहरू चढीसकेका हुनसक्छौं। नेपला जस्तो गरीबदेशबाट विदेश जाने सपना भएकाहरू विश्वका विकसित देशका नागरिक बन्न सकेकोमा गर्व गरिरहेका हुनसक्छन्। शिक्षाका भोकाहरूले विद्वानको बिल्ला भिरेका हुनसक्छन्। धनका भोकाहरूले पुगीसरी कमाएका हुनसक्छन्। शक्तिका भोकाहरूले सत्ता हात पारेका हुनसक्छन्। ख्यातिका भोकाहरूले नाम कमाएका हुनसक्छन्। प्रेमका भोकाहरूले दाम्पत्य जीवन बसालेका हुनसक्छन्। सबै सपनाहरू साकार भएका हुनसक्छन्। आदि इत्यादि।

तर एउटा विडम्वना! बीस वर्षे जीवनबाट चालिसेमा फड्को मार्दा विकसित देशको नागरिकता, शिक्षा, सम्पत्ति, शक्ति, ख्याति र दाम्पत्य जीवनले पनि अन्तरआत्मालाई खुसी पार्न नसक्दा आफैलाई अचम्म लाग्नसक्छ। तापनि भित्रको खिन्नता बाहिर ल्याउनुभएन। अरूलाई देखाउनकै लागि भए पनि आफ्ना उपलब्धिहरूमा रमाएको परिदृष्य निर्माण गर्नै पर्यो। सामाजिक सन्जालको उदयले बाहिरी र भित्री यथार्थविच पर्खाल लाउन निकै सजिलो बनाएको छ। देश-विदेश घुमेका, नयाँ घर-घडेरी र गाडि जोडेका, महङ्गा होटेलमा खाना खाएका, शक्तिशाली र प्रख्यात व्यक्तिसँग फोटो खिचेका दृष्यहरूलाई सामाजिक सन्जालमा बेलाबखत राख्न पाए भित्रको वास्तविकता सुरक्षित भएको भान पर्छ। साथीभाइ र आफन्तको सामु शिर ठाडो पार्न सजिलो हुन्छ।

तापनि अरूलाई प्रभाव पार्न निर्माण गरीएको बाहिरी जीवनले भित्रभित्रै आफूलाई खोक्रो बनाइएको थाहै हुँदैन। विदेशमा बस्नेहरू स्वदेश फर्कन चहान्छन्। विद्वानहरू लेख्नपढ्नै छोड्छन्। शक्ति, सम्पत्ति र ख्याति भएकाहरूलाई भएकोले नपुगेर अरू थुपार्न नैतिकताका पर्खाल तोड्छन्। रहरलाग्दो परिवार भएकाहरू परिवारको बिचल्ली पार्दै परपुरूष र परस्त्रीको पछि लाग्छन्। अन्त्यमा केही गर्दा पनि भएन भने भित्रको रित्तोपन मेटाउन रक्सी र अन्य मादक पदार्थका शीकार बन्छन्। कोही मानसिक रोगी बन्नपुग्छन् त कोही संसारबाटै बिदा हुन्छन्।

यसरी हेर्दा हेर्दै जीवन बुढेसकालको उकालो लाग्छ। भौतिक सफलता त हातमा हुनसक्छ तर शरीरले साथ दिन छोड्छ। शरीर स्वस्थ भए पनि सफलतामा रमाउन साथ दिने परिवारका सदस्यहरूले छोडिसकेको हुन सक्छ। जवानीमा जीवन लामो छ जस्तो लाग्थ्यो तर अहिले कति छोटो जस्तो लाग्छ। जवानीमा आफू निकै बलवान लाग्थ्यो तर अहिले कति कमजोर जस्तो लाग्छ। हातमा सम्पत्ति र शक्तिहुँदा संसारै कब्जामा छ जस्तो लाग्थ्यो तर जब शरीर र सम्बन्धहरूले साथ दिन छोड्छन् तब आफ्नै कम्जोरीहरूको सरणमा आत्मासमर्पण गर्नु पर्ने दिन पनि आउँदारहेछन्।

भौतिक सफलता हातपार्न सफल भएकाहरूको अवस्था त यस्तो हुनसक्छ भने ती व्यक्तिको जीवन कस्तो होला जसले जीवनका कुनै क्षेत्रमा पनि सफलता हासिल गर्न सकेकोछैन? जवानीमा सोचेको थियो कि कुनै दिन परिस्थितिले साथ दिन्छ होला। तर सफलताको अनुहार देख्नै नपाई जवानीले उनीहरूलाई बुढेसकालको ढोकामा राखिदिन्छ। शरीरले साथ दिन छोड्छ। छोराछोरीहरूको संघर्ष हेर्दा भकानो फुटेर आउँछ। समयले कति छिटै डाँडा काटेछ।

धनी होस् या गरीब, समयको गति बराबर छ। जीवनका ऋतुहरू कसैका लागि पर्खेर बस्दैनन्। हेर्दा हेर्दै बीस वर्षे जीवन चालिसे र चालिसे साठीमा परिणत हुन्छ। साठीको दसकमा टेकिसके पछि जीवन लगभग बिदाइको तयारीमा लागेजस्तै हो। त्यो उमेरमा आएर नयाँ सुरूवातको सपना देख्नु अपवाद मात्र हुनसक्छ।

तर बाइबललाई जीवनको आधार मान्ने व्यक्तिका लागि जवानी भन्दा बुढेसकाला झनै अर्थपूर्ण हुनजान्छ कारण बाइबलले उसलाई जीवनका हरेक ऋतुमा कसरी जिउनु पर्छ भनी सिकाएको हुन्छ। सफलतामा नम्र र असफलतामा आशावादी बन्न उसले जानेको हुन्छ। जवानीमा होस या बुढेसकालमा; उसको जीवनलाई नियन्त्रण गर्ने अलौकिक शक्तिसँग ऊ व्यक्तिगत तवरमा परिचित हुन्छ। सैद्धान्तिक या धार्मिक आधारमा मात्र नभएर व्यवहारिक अनुभवमा उसले त्यो अलौकिक शक्तिलाई चिनेको हुन्छ। त्यसैकारण जवानहरूलाई बाइबल भन्छ; “दु:खको समय र वृद्धावस्था आउन अघि नै, जब तिमीले भन्नेछौ, ‘यस समयमा मेरो मन लाग्दैन,’ ती समयभन्दा अघि नै आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर” (उपदेशक १२:१)।

मानिसको स्वभाव नै यस्तो छ कि यसले आफ्नो सृष्टिकर्तालई रुचाउँदैन। सृष्टिकर्ताको नजिक आउन पनि चहाँदैन। बरू सृष्टिको पूजा गर्न सजिलै तयार हुन्छ तर सृष्टिकर्ताको बारेमा ऊ सोच्न पनि चहाँदैन। सृष्टिकर्ताको ऊ दुष्मन बन्न तयार हुन्छ। दुखको कुरा; ऊ भित्रको खालिपनलाई सृष्टिले भर्न सक्दैन। फलस्वरूप बुढेसकाल उसको लागि दुष्मन नै बन्न जान्छ। जसरी ऊ परमेश्वरको सम्झना गर्न चहाँदैन त्यसरी नै ऊ बुढेसकालबाट पनि टाढै रहन चहान्छ।

तर बाइबलले देखाएको परमेश्वर अचम्मको हुनुहुन्छ। मानिसलाई आफ्नै स्वरूपमा बनाएको कारण परमेश्वर मानिसलाई औधी नै प्रेम गर्नुहुन्छ। बाइबलको एउटा पुस्तकमा यो कुरालाई यसरी भन्नुहुन्छ;

4“तिनीहरू मबाट तर्किगएकामा म तिनीहरूलाई क्षमा गर्नेछु। म तिनीहरूलाई सित्तैँमा प्रेम देखाउनेछु, किनकि मेरो रीस तिनीहरूदेखि फर्केको छ। 5म इस्राएलको निम्‍ति शीतझैँ हुनेछु। त्‍यो लिली फूलझैँ फुल्‍नेछ। लेबनानको देवदारुझैँ त्‍यसका जरा गड्‌नेछन्‌। 6त्‍यसका भर्खरै पलाएका मुनाहरू बढ्‌नेछन्‌। त्‍यसको प्रताप जैतूनको रूखझैँ हुनेछ। त्‍यसको बास्‍ना लेबनानको देवदारुझैँ हुनेछ। 7मानिसहरू फेरि त्‍यसको छहारीमा बस्‍नेछन्‌। मकैझैँ त्‍यो लहलह बढ्‌नेछ र दाखको बोटझैँ त्‍यो फुल्‍नेछ, र त्‍यसको ख्‍याति लेबनानको दाखमद्यजस्‍तै हुनेछ” (होशे १४:४-७)।

बाइबलको परमेश्वरतिर फर्कने मानिसको लागि जीवनको जुनसुकै ऋतुमा पनि, जुनसुकै परिस्थितिमा पनि; सफतामा होस् या विफलतामा, स्वस्थ होस् या अस्वस्थ, धनी या गरीब, परमेश्वरको अलौकिक शक्तिले उसलाई सम्हालेको हुन्छ। उसको उजाड जीवनमा परमेश्वर शीत बनेर आउनुहुन्छ। उसको ओइलाइएको जीवनमा परमेश्वर फूल बनेर आउनुहुन्छ। ऊ सुकिसकेको रूख जस्तो भए पनि परमेश्वरले उसलाई लेबनानको देवदारुझैं बनाएर मानिसहरू उसको छहारीमा बस्न आउनेछन्।

जीवनमा भौतिक सफलताको पछि लागेर परमेश्वरलाई बिर्सनुको सट्टा यदि मानिस परमेश्वरतिर फर्कन्छ र उहाँको सम्झना गर्छ भने निश्चय नै ऊ खोलाको किनारमा रोपेको रूख जस्तै हुनेछ जो खडेरीमा पनि डराउँदैन। जसले सधैं फल फलाउँछ। जसका पात कहिल्यै ओइलाउँदैनन् र उसले जे पनि गर्छ त्यसमा ऊ सफल हुन्छ (यर्मिया १७:७-८; भजनसंग्रह १:१-३)। जीवनसँग हारेकाहरू पनि जब परमेश्वरतिर फर्कन्छन् तिनीहरू विजयको अनुभव गरेर संसारबाट बिदा हुन्छन्। साठीको दसकमा पाइला टेकेकाहरूले पनि नयाँ सपना देख्न सक्छन् र ती सपना साकार पनि हुनजान्छन् कारण परमेस्वरसँग सहकार्य गर्दा समयले खासै फरक पार्दैन। त्यसकारण मित्र, तपाइँको उमेर कति भयो भन्दा पनि तपाइँका पाइलाहरू कुन दिशाँतिर गैरहेको छ भन्नेकुराले बढी माने राख्छ। के तपाइँका पाइलाहरू परमेश्वरतिर फर्केका छन्?

No comments:

Post a Comment