गरिबीले मानिसलाई धेरै पटक धोका
दिन्छ। यसको चपेटामा परेको व्यक्तिलाई लाग्न सक्छ कि आफूसँग सोचे जति सम्पत्ति
भैदिएको भए जीवनका सारा समस्याहरू सजिलै समाधान हुनेथिए। बाइबलले पनि कता कता यस्तै विचारलाई समर्थन
गरेको जस्तो लाग्छ। राजा सोलोमन भन्छन्; “पैसाले नै हर कुरा सुल्झाउँछ” (उपदेशक
१०.१९), अर्थात, सबै कुराको उत्तर पैसामा नै छ।
“धनले धेरै मित्र बनाउँछ, तर गरीब मानिसको मित्रले उसलाई त्याग्छ”, “गरीब
मानिस आफ्ना सबै आफन्तहरूबाट त्यागिन्छ” (हितोपदेश १९.४, ७)।
सोलोमनका यी भनाइहरू मानव
अनुभवका वस्तविकतामा आधारित छन्। यी कुराहरूलाई प्रमाणित गर्न हामीले अन्त कतै
हेर्नु पर्दैन; हाम्रो आफ्नै जीवनमा, हाम्रै मित्रहरू र परिवारमा दैनिक घटिरहेका
घटनाहरूलाई सोलोमनले व्यक्त गरेका हुन्। उपदेशकको पुस्तकभरि नै सोलोमन भन्छन् “आकाशमुनि
सबै कुरा व्यर्थै छन्” र निष्कर्षमा स्वीकार गर्छन् कि “परमेश्वरको भय र
आज्ञापालन” आकाशभन्दा माथिका कुराहरू हुन्।
त्यसकारण यिनै कुराहरूमा लाग्नु मानिसको निम्ति लाभदायक हुनेछ कारण एक दिन
परमेश्वरको सामु आकाशमुनि गरेका सबै कामको लेखा मानिसले दिनुपर्नेछ। मित्र कमाएका
वा गुमाएका, परिवारले स्वीकारेका वा इन्कारेका, सबै थोकको उत्तर पाए पनि नपाए पनि,
ती सबै कुरा क्षणिक र आकाशमुनि नै रहने कुराहरू हुन्। तर ती कुराहरूसँग संसारमा
रहुन्जेलसम्म हाम्रो सम्बन्ध जस्तो थियो, त्यसको लेखा आकाशमाथि परमेश्वरको सामु
हामीले एकदिन दिनै पर्नेछ। सोलोमनले उपदेशकको पुस्तकको अन्तमा दिएको निष्कर्ष गरीब
र धनी दुवैका लागि महत्त्वपूर्ण छ।