April 2, 2016

नेपालमा बढ्दै गएको धार्मिक अतिवाद

ऐतिहाँसिक हिसाबले नेपाल पुरानो देश भए पनि विस्वकासामु यसको परिचय त्यति लामो छैन। बेलाँएती सामराज्यको राजनैतिक तवरले सामना गर्न सफल भए पनि कुटनैतिक क्षेत्रमा नेपालले खासै सफलता हाँसिल गर्न सकेन कारण एकिकरणको समयबाटै शाहावंसिय राजाहरूले धर्मलाई राजनितिसँग जोडेको कारण देशलाई विज्ञानको ज्योति तर्फ लानुको सट्टा अन्धविस्वासको गुफातिर धकेलिदियो। बाह्रौ सताब्दीतिर जसरी ईस्लामिक सभ्यताले विज्ञान र विकासलाई त्यागेर रुखो धार्मिक चरमपन्थि बाटो अपनायो त्यसरी नै नेपालका शाहावंसिय शासकहरूले पनि आफ्नो शक्ति सन्चय गर्न नेपालबाट ज्ञान विज्ञान र धार्मिक स्वतन्त्रतालाई नष्ट गर्दै हिन्दु धर्मलाई दमनको हतियार बनाई बौद्ध र किराँत धर्मावलम्विहरूलाई आफ्नो वसमा राख्न सफल भए भने ईस्लाम र ईसाई धर्मावलम्विहरूलाई देशद्रोहिको रुपमा स्थापित गर्न सफल भए। यि दुई धर्महरूको प्रभावलाई निष्क्रिय पार्न नेपालले झण्डै २५० वर्षसम्म देशमा ज्ञान र विज्ञानको ज्योति चम्कन दिएन जसको कारण नेपाल आजसम्म विस्व-मानचित्रमा सबै भन्दा पिछडिएका राष्ट्रहरूको सम्मान पाईरहेको छ र यसका शासकहरू यो पिछडापनलाई नै आफ्नो व्यक्तिगत फाइदाको माध्यम बनाईरहेका छन्। धनी र विकसित राष्ट्रहरूको सामु नेपालका शासकहरू “मेरो देश गरिब छ” भन्दै भिक मागिरहेकाछन् र पाएको अनुदानबाट भ्रष्टाचारतन्त्रलाई निरन्तरता दिइरहेकाछन्। विडम्वनाको कुरो; संसारमा जतिपनि धनी र विकसति देशहरू छन्, ति सबै देशहरूमा धार्मिक अतिवाद र अन्धविस्वास भन्दा वैज्ञानिक सोच र तकनिकिले पहिलो स्थान पाएको छ।  चीन जस्तो विशाल देशमा पनि तिब्र विकाश आउनुमा मार्कस्वादको देनलाई इन्कार गर्न मिल्दैन कारण यदि चीनमा धार्मिक अन्धविस्वासलाई विस्थापित नगरिएको भए सायद आज चीन आन्तरिक द्वन्द र भ्रष्टाचारकै भुमरिमा रूमलिरहेको देश हुने थियो होला।  खाडिक्षेत्रका केहि मुलुकहरू धनि भएपनि त्यहाँ मानवविकास आउन सदियौ लाग्नेछ कारण जुनसुकै धर्मलाई पनि जब अतिवादि तरिकाले मानिसमा लादिन्छ त्यसले मानव कल्याण गर्दैन; शासकवर्गको मात्र कल्याण गर्दछ।  

मध्यकालिन यूरोप पनि त्यतिबेला मात्रै मानव कल्याण र विकासको बाटोमा लाग्यो जब उसले आफुमाथि लादिएको धार्मिक अतिवादको जुवालाई भाँच्न सफल भयो।  धर्म जब राजनितिमा मिसिन्छ यसले कहिल्यै पनि मानवताको भलो गर्दैन चाहे त्यो जुनसुकै धर्म किन नहोस। धर्म त मानिस र ईस्वरको सम्वन्धको कुरा हो जसलाई कुनै राज्य वा समुदायले लादेर कायम हुने कुरा होईन। यो त स्वतन्त्र मानव आत्माले चिन्तन मनन् गरेर आफ्नो मनले खाएको मत मतान्तर अपनाउनु; मठ, मन्दीर, मस्जीद, गिर्जा, गुर्द्वारा जानु; भगवान, ईस्वर, परमेश्वर, अल्ला, खुदा भनि पुकार्नु; गिता, ग्रन्थ, कुरान, बाइबल, त्रिपट आदि पढ्नु हो। जब मानिसबाट यो स्वतन्त्रता खोसिन्छ तब त्यसलाई धर्म भन्न मिल्दैन कारण जसले मानिसलाई यो स्वतन्त्र मगज, इच्छा र चाहाना सहित सिर्जना गरेको छ उसले कहिल्यै पनि मानिसको ईच्छा विपरित जबरजस्ति गरिएको पुजा अवस्य चाहाँदैन होला; यदि चाहन्थ्यो भने मानिसलाई पशु भन्दा फरक प्राणीको रूपमा बनाउने आवस्यकता नै थिएन होला।  त्यसकारण धार्मिक अतिबादले मानिसको मानव हुने आधारभुत अधिकारलाई नै हरण गरेको हुन्छ।  

हिन्दु धर्मले विस्वमा आदरणिय स्थान अोगट्न सफल हुनुमा रविन्द्रनाथ ठाकुर जस्ता यसका प्रतिनिधिले आफ्ना अनुयायीहरूलाई दिएको स्वतन्त्राको कारण हो।  “सबै धर्म बराबर हुन्” भन्ने निति जब विस्वका सामु राखियो तब यसलाई संसारमा एउटा उदार धर्मको रुपमा लिईयो र आज सम्म पनि लिइन्छ।  भारत जस्तो माहान विविधताले भरिएको देशमा हिन्दु धर्मको वाहुल्य भएपनि यसले हिँजो सम्म सबै धर्मको सम्मान गर्दै आफ्नो स्थानलाई सम्मानपुर्वक पहिलो स्थानमा राख्दै आऐको थियो तर ति दिन सायद अब गैसकेका छन कारण भारतमा पनि यो माहान धर्म राजनितिको शिकार भैसकेको छ।

एसियाको सबै भन्दा उदार देशको रुपमा चिनिने नेपाल देशमा पनि धर्मलाई फेरि राजनितिमा मिसाईँदैछ; २५० बर्ष अधिको दिनलाई फेरि निम्त्याईँदैछ जसको कारण देश मानव विकास र वैज्ञानिक सोचतिर जानुको सट्टा अन्धविस्वासकै गुफामा धकेलिँदैछ। 


देश विकासका लागि मानव अधिकार र मानव स्वतन्त्रता नभइनहुने तत्व हुन तर धार्मिक अतिवाद र दमनले यिनिहरूलाई फस्टाउन दिँदैन कारण धर्मको राजनितिकरण भगवान वा ईश्वरको लागि नभएर मानिसमा भएको दुष्टतालाई लुकाउन गरिन्छ। नेपालमा पनि गुमेको शक्ति र पतनभएको नैतिकतालाई फेरि हातपार्नको लागि ईसाईकरणको वाहानामा हिन्दु धर्मलाई हतियार बनाईँदै छ।  यदि नेपालको सम्विधानले दिएको धार्मिक स्वतन्त्रतालाई संस्थागत गर्न सके मानव कल्याण र देश विकाशमा ठुलो फड्को पार गर्नसकिने थियो तर देश लुट्न पल्केका नेताहरूले जनताको आँखामा धर्मको छारो हालेर आफ्नो भ्रष्टाचारको दुनो सोझ्याइरहेका छन्; जनताहरू अन्धकारमा तालि बजाईरहेका छन्। यस्तै छ हाम्रो देशको चलन!

No comments:

Post a Comment