जीवनमा केही न केही कुराको चिन्ता प्राय सबैलाई हुन्छ
किनकि यो मानवीय स्वभाव हो। यदि हामीलाई कुनै कुराको चिन्ता लाग्दैन भने हामी
मानसिक समस्याको शिकार भैरहेका हुनसक्दछौं र जीवनमा यसले ठूलो खति ल्याउनसक्छ। एकातिर
चिन्ता लाग्नु स्वस्थ मानवीय स्वभाव हो भने, अर्कोतिर, चिन्ताले हामीलाई नाश पनि गर्नसक्छ।
यसको अस्वाभाविक उपस्थितिले हाम्रो जीवनमा ठूलो मानसिक वा भावनात्मक गडबडीको साङ्केतिक
प्रमाण दिइरहेको हुनसक्छ। यदि समयमै यसको ठीक निवारण भएन भने हाम्रो जीवनबाट यसले
मानसिक, शारीरिक, सामाजिक र आत्मिक खुसीहरू सदाका लागि लुटेर लान सक्छ। यसमा भएको
नकरात्मक शक्तिले जीवनप्रतिको हाम्रो दृष्टिकोणलाई यसरी क्षति गर्छ कि हामी असल र खराबलाई
छुट्याउनै सक्दैनौं र चिन्ता मुक्त हुनको लागि यसले हामीलाई नैतिकताका सीमानाहरू
पनि मास्न प्रोत्साहन गर्दछ र हाम्रो आत्मिक जीवनलाई निस्सासिदिन्छ (मत्ति १३:२२)।
नेपाली ख्रीष्टियान नेतृत्वको परिवेशलाई हेर्दा, मण्डली र मण्डलीको नाममा हुने आर्थिक अनिमियतता चिन्ताकै कारण आएको हो भनेको खण्डमा फरक नपर्ला। २००२ सालमा भोइस अफ भक्ति ले “नेपाली मण्डलीको स्वास्थ्य परिक्षण” भन्ने लेख छापेको थियो। त्यसको प्रतिक्रियामा मैले “परिक्षणकर्ता नै को छ र?” भन्ने प्रश्न गर्दै नेपाली मण्डलीको स्वास्थ्य बिग्रिनुमा मण्डलीका अगुवामा जीविकोपार्जनको लागि भएको चिन्ता एउटा ठूलो कारण भएको बताएको थिएँ जसको कारण मभन्दा अग्रज धेरै सेवकहरूलाई चित्त पनि दुःखेको गुनासो सुन्न पाएँ।
नेपाली ख्रीष्टियान नेतृत्वको परिवेशलाई हेर्दा, मण्डली र मण्डलीको नाममा हुने आर्थिक अनिमियतता चिन्ताकै कारण आएको हो भनेको खण्डमा फरक नपर्ला। २००२ सालमा भोइस अफ भक्ति ले “नेपाली मण्डलीको स्वास्थ्य परिक्षण” भन्ने लेख छापेको थियो। त्यसको प्रतिक्रियामा मैले “परिक्षणकर्ता नै को छ र?” भन्ने प्रश्न गर्दै नेपाली मण्डलीको स्वास्थ्य बिग्रिनुमा मण्डलीका अगुवामा जीविकोपार्जनको लागि भएको चिन्ता एउटा ठूलो कारण भएको बताएको थिएँ जसको कारण मभन्दा अग्रज धेरै सेवकहरूलाई चित्त पनि दुःखेको गुनासो सुन्न पाएँ।
“सेवा गर्ने दर्शन
छ तर सपोर्ट पाएको छैन!” यो वाक्यांश बाइबल स्कूलका विद्यार्थीहरू,
मण्डलीमा केही समय दिएर सेवामा सहायता पुर्याइरहेका
सेवकहरू र अन्यका मुखबाट धेरै चोटि सुनेको छु।
“फुल–टाइम सेवा गर्ने मन थियो तर स्पोन्सर पाएको छैन”, “तपाई त देश-विदेश जानुहुन्छ, हाम्रो लागि पनि
सहायता गर्ने मानिस खोजिदिनुस् न”, “सपोर्ट गर्नुहुन्छ भने हामी तपाईँसगै मिलेर काम
गर्न चाहान्छौँ” भनेर धेरै
पास्टर, अगुवा मित्रहरूले भेटेरै वा फोन, ईमेलमार्फत मलाई धेरै चोटि अनुरोध गर्नुभएको
छ। सायद काठमाण्डौमा आशा मण्डलीको भवन देखेर हो
वा मेरो पढाइको लागि कोरिया आउने जाने भएको कारण हो मित्रहरूले त मसँग धेरै पैसा
भएको भन्ठान्दारहेछन्। केही वर्ष यता कोरियामै एउटा अन्तराष्ट्रिय मण्डलीमा सेवा
गर्न थालेपछि त झन् धेरैको आँखाको तारो नै बन्न पुगेछु। सेवा नै पैसा, पैसा नै
सेवा! कतिपय नजिकका मित्रहरूले ठूलो रकमको
आशामा राखेका प्रस्तावहरूको कारण हाम्रो मित्रता सदाको लागि टुङ्गिन पुगेको छ।
एकपटक कुनै जिल्लाका ३५ वटा
मण्डलीहरूको सङ्युक्त सम्मेलन रहेछ र वक्ता खोज्ने क्रममा मलाई पनि फोन गरे। मैले
भनें, “प्रार्थना गरेर
भोलि खबर गर्छु, तपाईंको नम्बर दिनुहोस।” उहाँहरू आफैले मलाई नै फोन गर्ने मर्जी देखाउनुभयो।
श्रीमतीसँग मिलेर प्रार्थना पनि गरें र त्यसै समय दिल्ली पनि जानुपर्ने र बाटो पनि
त्यतै पर्ने भएको कारण मैले सकरात्मक जवाफ दिने निर्णय गरें र भोलिपल्ट फोन पनि आयो। फोनमा “म आउन तयार छु” मात्र के भनेको थिएँ, “हामी अहिले नै तपाईँलाई भेट्न आउँछौं” भन्न थाले। त्यति टाढाबाट किन आउनुहुन्छ,
फोनमै सबै कुरा गर्दा भैहाल्छ नि भनेर सम्झाएको थिएँ तर “आधिकारिक निमन्त्रणा पत्र” मेरो हातैमा नथमाई नहुने रे! “हामी दुई भाइ आधा घण्टामा तपाईको चर्चमा आइपुग्छौं” भनेको कारण म
छक्क परें। मित्रहरूको बसाइ त काठमाण्डौमै रहेछ। आए, बसे, चिया पिए, प्रार्थना पनि गरियो, चिट्ठी पनि बुझियो तर साथीहरू त
उठ्दैनन्। अति नै भएपछि एउटाले भन्यो, “सर, हाम्रो निमन्त्रणा पत्र एक पटक हेर्नुहोस न!” फोन गर्नुभयो,
आफै आएर सबै कुरा स्पष्ट पारिसक्नुभयो, त्यसकारण यो पत्र
पढ्न जरूरी छैन, पछि पढौंला भनेर मेलै उहाँको सम्मान गर्न खोज्दा एक छिन अकमक्क
हुनुभयो। पढ्नै पर्ने भन्न थालेपछि, खोलेर हेर्दा, २ दिनको सम्मेलनको लागि वक्ताले
रु ८०,०००।– दिनुपर्ने सर्त रहेछ! वक्तालाई दिनुपर्ने ठाउँमा उल्टै वक्ताले पो
दिनुपर्ने भनी सोध्दा, “तपाईँ त
देश-विदेश जाने मान्छे धेरै दाताहरू छन् होला, हामीलाई यति सानो रकम सहयोग गरेबापत
हाम्रो सम्मेलनको फोटो र भिडियोबाट त तपाईँले अझ कति कमाउन सक्नुहुन्छ होला!” यस्तो कुरा सुनेपछि धुर्मुसेको जस्तै मेरो पनि
लाटो रिस उठेर आयो र आजसम्म उहाँहरूसँग मेरो फेरि भेट भएको
छैन र हुनु पनि नपरोस्।
किन हामी सेवा गर्नको लागि “सपोर्ट” “स्पोन्सर” वा “सहयोग” खोजिरहेका छौं त? किन परमेश्वरको बोलावटलाई शिरोपर गरेर
उहाँको सेवामा लाग्न तयार छैनौं? किन दाताहरूकै खोजीमा भौंतारिरहेका छौं? यी
प्रश्नहरूको जवाफ मेरो जीवनमा घटेका केही घटनाहरू र अनुभवसँग धेरै मेल खान्छ।
जुन दिन मैले मेरो जीवन
प्रभुलाई सुम्पें (लगभग १८ वर्षको थिएँ) त्यसै दिनदेखि उहाँको बोलावटले मेरो
हृदयलाई कैदी बनायो। तर आफूभन्दा अग्रज अगुवाकहाँ गएर "म पनि परमेश्वरको सेवा
गर्छु" भनेको कारण “तँलाई कसले
सपोर्ट गर्छ?” भन्ने प्रश्न पहिलो पटक मेरो कानमा परेको थियो। त्योभन्दा पहिला
सेवा गरेबापत “सपोर्ट” पाइन्छ भन्ने कुरा मेरो
मगजमै थिएन। केही समयपछि धनगढीको ऐश्वर्य विद्यानिकेतनमा पढाउँदै गर्दा मैले मेरो
सेवा त्यसै स्कूलका शिक्षक र विद्यार्थीहरूलाई सुसमाचार सुनाउँदै सुरु गरें। त्यो
स्कूलको हेडमास्टर दार्जिलिङ्का एक जना ख्रीष्टियान दाजु थिए र ४, ५ जना अरू
ख्रीष्टियान शिक्षकहरू पनि त्यहाँ थिए। पढाउन सुरु गरेको केही महिनाको अन्तरालमै
मैले २ जना शिक्षक र केही विद्यार्थीहरूलाई सुसमाचार सुनाएर आई. सी. आई.
(काठमाण्डौ) को ठेगानामा पत्राचार गराइरहेको थिएँ। यसरी प्रभुको सुसमाचार सुनाउने
मौका पाउँदा साह्रै आनन्द लागेको थियो। एक दिन, वर्षे विदा सकेर स्कूल खोलेको एक महिना
हुन लागेको थियो। हेडमास्टरले मलाई उहाँको कार्यालय कोठामा बोलाउनुभयो। मैले सोचें,
“तलब दिनको लागि होला” कारण वर्षे विदापछिको
महिनामा २ महिनाको तलब एकैचोटि पाइन्थ्यो त्यो बेला। हेडमास्टरको कोठामा पुग्दा,
उहाँ एक्लै हुनुहुन्थ्यो र “भट्ट सर बस्नुहोस” भन्नुभयो। अरू बेला जहिले पनि “भोज भाइ” भन्ने मान्छे, आज किन झर्केर मेरो जात काटेको
होला भनेर म अलमल्ल परें। कालो अनुहार लगाएर आफ्नो टेबलमुनिबाट एउटा पोको निकालेर “यो के हो?” भनेर मतिर
फाल्नुभयो। खोलेर हेर्दा ती त आइसीआईले पठाएको सुसमाचारका पर्चाहरू रहेछन्। त्यति नै
बेला उहाँले मलाई २ वटा विकल्प दिनुभयो। एउटा धर्म प्रचार गरेको कारण जेल र अर्को २ महिनाको तलबबिना चुपचाप स्कूल छोड्ने। अब
उप्ररान्त सेवाको कामबाहेक अरू कुनै काम नगर्ने निर्णय लिएर चुपचाप मैले त्यो
स्कूल छोडें र आजसम्म प्रभुले मलाई भोकै राख्नुभएको छैन। “तँलाई कसले सपोर्ट गर्छ” भन्ने दाइले आखिरमा चर्चको घर–जग्गा खाई छाडे र “२ महिनाको तलब छोडेर जा” भन्ने दाइलाई पनि केही वर्षपछि त्यहाँका मानिसहरूले कालो
मोसोसहित जुत्ताका माला लगाई सहर घुमाएर निकालि छाडे।
सेवा गरेबापत पैसा पाइन्छ
भन्ने भावना हामीभन्दा अघिका अग्रजहरूले नै हाम्रो मगजमा हालिदिएका हुन्। दोष उहाँहरूको पनि होइन; दोष परिस्थितिको हो।
सेवा गर्दा पनि खान लाउन चाहिन्छ नै; बिरामी हुँदा औषधि–उपचार गर्नैपर्छ र छोराछोरी पढाउनै पर्छ
पास्टरले पनि। नेपालमा प्रभुका अधिकांश दासहरूले सुरुका दिनहरूमा आर्थिक क्षेत्रमा
धेरै दुःख गरेका थिए। तर उहाँहरूका दुःखका दिनहरू धेरै लामो समयसम्म रहेनन् कारण
नेपालको सतावटले विदेशी मिसनरीहरूलाई त रोक्यो तर विदेशी सहयोगलाई रोक्न
सकेन। पास्टरहरूको दुःखलाई उठाउनको लागि
विदेशी मित्रहरूले सक्दो सहयोग गर्न थाले र छोटो समयमै हाम्रा गरीब पास्टर,
प्रचारकहरूको आर्थिक अवस्थामा असामान्य वृद्धि आयो। छोराछोरीलाई देश-विदेशमा पढाउन
थालियो, गाँस-वसको चिन्ताबाट मुक्त हुनको लागि सहरिया क्षेत्रमा घर-घडेरी पनि
जुट्न थालियो कारण मण्डलीमा विभाजन नआएको भए पास्टरहरू संख्यामा पनि थोरै थियो।
विदेशी दाताहरूलाई पनि यस्ता सुविधाहरू दिनको लागि खासै मोटो रकम खर्च गर्नु नपर्ने।
यसरी पास्टरको जीवनमा आएको आर्थिक विकासले धेरै नयाँ पुस्ताका सेवकहरूलाई पनि
लोभ्याउन थाल्यो र सेवालाई वैकल्पिक आयआर्जनको माध्यमको रूपमा लिइन थालियो। पहिलो
पुस्ताका पास्टरहरूमा आएको आर्थिक विकासका साथै नेपाली मण्डलीमा विभाजनको सुरुआत
हुनगयो कारण धेरैलाई धनी बन्नुथियो।
त्यसै समयमा अन्तराष्ट्रिय
मिसन संस्थाहरूमा पनि नौलो परिवर्तन आयो। विदेशी मिसनरीलाई खटाउनुभन्दा स्वदेशी
सेवकलाई सहयोग गरेको खण्डमा थोरै लगानीमा धेरै काम गर्न सकिने भन्ने विचारको हावी पश्चिमा
मुलुकका मण्डली र मिसनमा भयो। यो नौलो
विचारलाई कार्यान्वयन गर्नको लागि विदेशी मण्डली र मिसनहरूले विभिन्न देशहरूमा सम्पर्क
विन्दु खोज्न थाले। यो विचारको फाइदा
नेपालका पहिलो र दोश्रो पुस्ताका अगुवाहरूले विना लाज उठाए कारण गाउँभेकमा र
सहरिया क्षेत्रमा पनि धेरै यस्ता सेवकहरू छन् जो साँच्चै प्रभुको सेवा गर्न चाहन्छन्
तर उहाँहरूको आर्थिक खाँचो पनि छ। यस्तो
अवस्थामा कसैले विनासर्त सहायता गर्छ भने उहाँहरूले लिँदा केही फरक पर्दैन तर
दिनेहरूले कति पाउँछन्, कहाँबाट पाउँछन्, किन दिन्छन, आदि प्रश्नहरू सोध्नलाई उहाँहरूमा
आँटै आउँदैन कारण उहाँहरूलाई पनि आर्थिक चिन्ता छ। चिन्ताको कारण एक जनाबाट मात्रै
नभएर झुटै बोलेर अन्य यस्ता दाताहरूकहाँ जाने सेवकहरूको पनि कमी छैन अब।
परमेश्वरको सेवा गर्दा परमेश्वरले जुटाउनुहुन्छ भन्नुचाहिँ यी दाताहरू नै परमेश्वर
भएको जस्तो लाग्छ कारण उनीहरूलाई खुसी पारिएन भने आफ्नो छाक टर्दैन। त्यति मात्रै
नभएर, स्वदेशी मिसनरी उत्पादन गर्ने ठेक्का लिनेहरूले जस्तालाई पनि सेवामा नियुक्त
गरेर उनीहरूको तलबबाट पाइने कमिसनको कारण नेपाली मण्डलीमा अर्को एउटा अभिषाप ल्याए।
यस प्रकारले सेवामा लागेकाहरूले परमेश्वरमा भरोसा गर्न सिकेनन् कारण उनीहरूलाई
परमेश्वरले बोलाएकै थिएन र कतिले त परमेश्वरलाई चिनेकै पनि नहुन सक्छ। आर्थिक
अभाव, बेरोजगारी र असक्षमताको शिकार भएको बेला विदेशी सहयोगको ठेक्का लिएकाहरूले उनीहरूलाई
मण्डलीका पास्टरहरू बनाइदियो; मण्डलीको वा सेवाको नाममा भ्रष्टाचार नगरीकन उनीहरू आर्थिक
चिन्ताबाट मुक्त हुनै सक्दैनन्।
यसैकारण प्रभुले मत्ती
६.२५-३४मा चिन्ताको सट्टा "विश्वास गर" भन्नुभएको छ। चिन्ताले हामीलाई
परमेश्वरभन्दा पनि मानिसमाथि विश्वास गर्न बाध्य बनाउँछ। तर परमेश्वरको राज्य र
उहाँको धार्मिकता हाम्रो लक्ष्य हुने हो भने उहाँले हामीलाई कहिल्यै पनि मानिसको
सामु लज्जित हुन दिनुहुने छैन। हामीलाई के चाहिन्छ, त्यो प्रभु जान्नुहुन्छ र
जान्ने मात्रै नभएर त्यसलाई पूरा गर्ने प्रतिज्ञा पनि उहाँले गर्नुभएको छ। “तिमी ममा रह्यौ र मेरा वचन तिमीमा रहे भने,
तिमीलाई जे इच्छा लाग्छ माग र त्यो तिम्रा निम्ति गरिनेछ” भनी प्रभु भन्नुहुन्छ (यूहन्ना १५.७)। हामीलाई यी प्रतिज्ञाहरू थाहा त छ, तर विश्वास
गर्दैनौं र मानिसमा नै भरोसा राख्छौं जसको कारण हाम्रो आत्मविश्वासका साथै आत्मसम्मान
पनि घटेर जान्छ। मानिसले हामीलाई आदर गरे पनि हामी आफैले आफूलाई आदर दिन सक्दैनौं
कारण हाम्रो विवेकले पिरोलिनै रहेको हुन्छ। मागेर गरेको सेवामा साँचो सेवकलाई
कहिल्यै पनि आत्मसन्तुष्टि हुँदैन।
यदि तपाईं मण्डलीको अगुवा
हुनुहुन्छ भने आफ्नो सेवा गर्ने उद्देश्यलाई एक पल्ट विचार गर्नुहोस्। किन सेवामा लाग्नुभएको थियो? पैसाकै लागि हो
भने त तपाईंको लागि मैले भन्नुपर्ने केही छैन्।
तर पैसा नभएर प्रभु नै तपाईंको उद्देश्य थियो भने, जस्तो सुकै दुःख आए पनि
हरेस नखानुहोस्, परमेश्वरका प्रतिज्ञामा भर पर्नुहोस र जब तपाईंका विश्वासीहरूले
तपाईंको परमेश्वरप्रतिको विश्वास देख्नेछन् तब तपाईंलाई आदरका साथै तपाईंको
आर्थिक भार पनि बोक्न तयार हुनेछन् र तपाईंले कसैको सामने सहायताको लागि हात
पसार्नुपर्ने छैन न त झूट नै बोल्नुपर्नेछ। एउटा आत्मसम्मान र प्रभुप्रतिको
पवित्रताले भरिएको दासको जीवनबाट धेरैले आशिष् पाउनेछन्।
No comments:
Post a Comment