March 4, 2017

सफलता चाहानु पाप होईन

प्रिय मित्र, 
जीवनमा सफलताको चाहानाराख्नु मानव चरित्र हो। स्वास्थ्य, सम्पत्ति, र सम्मानको सेरोफेरोमा यो सफलताले लुकामारी गर्ने भएकोले होला परमेश्वरको वचनले हजारौं बर्ष पहिलेनै यसरी भनेको छ; “नम्रता र परमप्रभुको भयले धन, मान र जीवन (शारीरिक जीवन) ल्याउँछ” (हितोपदेश २२:४)। आदमलाई दिईएको पहिलो आज्ञा (आशिष्) नै “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ” थियो (उत्पत्ति १:२८)

पापले मानिसको जीवनमा चारैतिर विनाश ल्यायो र परमेश्वरको माहान आशिषलाई श्रापमा परिणत गरिदियो। मोशाको व्यवस्थाले त्यो श्रापलाई रोग-व्याज, गरिबी, र शारीरिक वन्धन (कैद वा दासत्त्व) गरी तीन भागमा सारांसित् गरेको छ (व्यवस्था २८:१५-२५) जसको मुख्य उदेस्य मानिसलाई म ृत्युमा लैजानु हो।
तर येशूको वलिदानले हामीलाई पापको शक्तिबाट छुटकारा दिएकोछ। त्यो छुटकारामा हामीले स्वर्गमात्रै नभएर संसारमा रहुन्जेलको जीवन पनि फिर्ता पाएकाछौं। गलाती ३को १३ र १४ले यसरी भन्छ, “हाम्रा निम्ति सराप बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको सरापबाट मोल तिरेर छुटाउनुभयो, किनकि ‘काठमा (क्रूसमा) झुण्डिने हरेक श्रापित हुन्छ’ भन्ने लेखिएको छ। उहाँले हामीलाई मोल तिरेर छुटाउनुभयो, ताकि अब्राहामलाई दिइएको आशिष् ख्रीष्ट येशूद्वारा अन्यजातिहरूमा आओस्, र हामी विश्वासद्वारा प्रतिज्ञाका पवित्र आत्मा प्राप्त गर्न सकौं”।
त्यसकारण मित्र, यदि तपाईँले येशूलाई प्रभु र मुक्तिदाता भनि स्वीकार गर्नुभएको छ भने अब्राहामको आशिषमा तपाईंको पनि हक छ। अदनको बगैचामा आएको श्रापलाई येशूले आफैमा बोकेको कारण अब तपाईं हामी अब्राहाम, इसहाँक र याकुबका परमेश्वरले उहाँहारूलाई दिनुभएको आशिषका भागिदार भएका छौं; विस्वासद्वारा हामी अब्राहामका सन्तान भएकाछौं। येसूका सङ्गि हकदार भएकाछौं।
तपनि जीवनमा सफलता टाढै रहेको जस्तो किन लाग्छ त? जति प्रयास गरेपनि जीवन अगाडि बढ्नुको सट्टा पछाडितिरै गएको जस्तो किन लाग्छ? घटिकमि र अभाव, रोग-व्याज र अस्वास्थ्य, सत्रुता र अशान्तिले किन घेरिनै रहन्छ जीवनमा? आशिष् भन्दा श्रापकै बसमा किन जानुपरिरहेको छ त?
मित्र, येशूले हाम्रा लागि जित्नुभएको जीवनलाई हातपार्नेहो भने केही कुराहरूलाई हामीले स्पस्ट रूपले जान्नु र ती कुरालाई जीवनमा लागु गर्नु नित्तान्त आवस्यक छ।
१) विश्वास: ख्रीष्टियन जीवनमा विश्वासको ठुलो महत्व छ। तर त्यो विश्वास परमेस्वरको वचन र प्रतिज्ञामा अडिएको हुनुपर्छ। येशूले भन्नुभयो “विश्वास गर्नेका निम्ति सबै कुरा सम्भव छन्” (मर्कूस ९:२३)।
परमेश्वरमा विश्वास गर्नु भनेको नै आफैलाई नम्र तुल्याउनु हो; आफ्नो शक्ति र सामर्थले केही गर्न सकिँदैन भनि स्वीकार गर्दै जीवनलाई पूर्णरूपले येशूमा समर्पण गर्नु हो (यूहन्ना १५:४ र ७)। नम्र व्यक्तिले मात्रै पूर्णरूपले परमेश्वरलाई विश्वास गर्नसक्छ।

२) बुद्धि: सफलताको लागि विश्वास र नम्रताका साथै बुद्धि पनि चाहिन्छ तर यो बुद्धि मानविय चलाँकि होईन। यो परमेश्वरले नै दिने बुद्धि हो; “किनभने परमप्रभुले बुद्धि दिनुहुन्छ, र उहाँको मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्कन्छन्” (हितोपदेश २:६)। अर्थात, “परमप्रभुको भय मान्नु नै बुद्धिको शुरूआत हो, र परमपवित्रकोज्ञान नै समझशक्ति हो” (९:१०)। जीवनमा ईश्वरीय सफलता आउने हो भने हामीमा नम्रता र परमप्रभुको भय नभई नहुने कुराहरू हुन्। नम्रताले विश्वासको बिकास गर्छ भने परमप्रभुको भयले बुद्धिको विकासगर्छ।
३) साहास: त्यसकासाथै हामीमा साहास पनि हुनु जरूरी छ (यहोशू १:६-८)। हामीमा डरको आत्मा हुनुहुँदैन। नत मानिसको डर, नत परिस्थितिको डर, नत गरिबीको डर, नत रोग-व्याजको डर, नत सत्रुको डर, न म ृत्युको डर कारण परमेश्वरले हामीलाई डरको आत्मा होईन तर प्रेम र शक्तिको आत्मा दिनुभएको छ (२तिमोथी १:७)। सत्यतामा जीवन बिताउँदै सत्य बोल्न र सत्यको बाटोमा हिँड्न डराउनुहुँदैन हामीले।
त्यसकारण मित्र, सफलातालाई जीवनमा निम्त्याउँन चाहानुहुन्छ भने; नम्र हुनुहोस। हारको जीवन जीउन तयार हुनुहोस्; कसैले तपाईँला आक्रमण गर्छ भने पनि उनीहरूका लागि प्रार्थना गर्नुहोस्। अरूलाई अगाडी जानदिनुहोस्; उनीहरूको सफलतामा रमाउनुहोस्। कसैले तपाईंको खिल्ली उडाउँछ भने पनि नरिसाउनुहोस्; बरू उनीहरूलाई क्षमा दिनुहोस्।
परमप्रभुको भयमा जीवन विताउनुहोस्। जुनसुकै काम वा सेवा गर्नुहुन्छ त्यसबाट परमेश्वरलाई महिमा दिनुहोस्; प्रभुको बदनाम हुने कुनै कार्य नगर्नुहोस्। आफ्नो विवेकलाई परमेश्वरको सामु सधैं सुद्ध राख्नुहोस्; विवेकको विरूद्ध कहिल्यै नजाउनुहोस् चाँहे जीवनमा जतिसुकै घाटा किन नलागोस्।
डरलाई जीवनमा स्थान नदिनुहोस्; परमेश्वरको शक्तिमा भर पर्दै साहासी जीवन विताउनुहोस्। मानिसको धम्की, परिस्थितिको प्रकोप, र शैतानिक वाधाहरूमा पनि आफ्नो अडानलाई कहिल्यै नछोड्नुहोस्।
परमेश्वरको भलाईमा विश्वास गर्नुहोस्। हामीलाई आशिष् दिनुमा परमेश्वर रमाउनुहुन्छ। त्यसकारण उहाँले गरेका प्रतिज्ञालाई स्वीकार मात्रै नभएर ती प्रतिज्ञालाई उहाँले पुरा गर्नुहुनेछ भनि विश्वास गर्नुहोस्; अब्राहाम झैं आफ्नो विश्वासमा अटल रहनुहोस् (रोमी ४:२०-२१)।
नम्रता,परमेश्वरको भय, साहास र विश्वासलाई जीवनमा कामगर्न दिनुभयो भने सफलताले तपाईंलाई खोज्दै आउनेछ। स्वर्गिय जीवनका आशिषहरू संसारमा रहँदानै हामी अनुभव गर्नसक्नेछौं।

No comments:

Post a Comment