June 26, 2018

दुःखमा पनि परमेश्वरको भलाइमा विश्वास गर्नु भन्दा अर्को असल विकल्प छैन।


आजको यो रङ्गीचङ्गी सामाजिक सन्जालमा आफ्ना दुःख र विरहका तस्बिर र चित्कारहरू हामी थोरै भन्दा थोरैले मात्रै प्रसारण गर्न सक्छौं।  “मुटु माथि ढुङ्गा राखी” भनेझैं, दुःखलाई लुकाएर चिल्ला तस्बिर र रमाइला क्षणहरूलाई नै मित्रहरूका सामु पस्किन्छौं।  हो पनि।  बिगतमा हामीसँग क्यामरा थिएन।  वर्षमा संयोग मिलाएर परिवारिक वा सुभअवसरका तस्बिरहरूलाई फोटोएल्बममा सजाएर राख्थ्यौं र साथी-भाइ, इष्टमित्र र पाहुना घरमा आउँदा ती फोटोमा कैद गरिएर राखिएका रमाइला क्षणहरूका एल्बम निकालेर हेर्न दिन्थ्यौं।

तर आज आधुनिक विकासले हाम्रो जीवनका सबै क्षणहरूलाई विश्वसामु छर्लङ्ग पारिदिएको छ।  खुसीका क्षणहरू देखाउनुको सट्टा दुःखका क्षणलाई लुकाउन गार्‍ह भएको छ।  शुभचिन्तकहरूले त हाम्रा दुःखमा सहानुभूति देखाउनु हुनेनै छ तर कतिपय यस्ता मित्रहरूपनि छन् जो हाम्रा दुःखमा खुसीयाली मनाउन पछि पर्दैनन्।  ख्रीष्टीयान भनेर के गर्ने, यस्ता पास्टर प्रचारक पनि देखिए जसले चर्चका सदस्यहरूलाई आफ्ना सत्रुलाई प्रेमको साटो सराप्‍न पनि सिकाइरहेका छन्। 

त्यसकारण मित्र, येशूमा विश्वास गर्दा पनि जीवनमा दुःख आउने छ।  परिस्थितिहरू हाम्रो वश भन्दा बाहिर जानेछन्।  हामी एकलो, असहाय र निरास पनि हुनेछौं।  तर यस्तो परिस्थितिमा पनि परमेश्वरको भलाइमा विश्वास गर्नु भन्दा अर्को असल विकल्प छैन।  शरीरमा रोग लाग्दा निरास भएर मृत्यु पर्खिनु भन्दा येशूको रगतको शक्तिमा भएको चङ्गाइमा विश्वास गर्दै निको हुने आशा गर्नु असल हुनेछ।  गरिबीले पेलेको बेलामा पनि हिनतावोधले भरिनुभन्दा येशूले दिने प्रशस्तताको जीवनलाई विश्वासका साथ स्वीकार गर्नु असल हुनेछ।  सत्रुले घेरेको बेला पनि ती सबैलाई क्षमा दिँदै परमेश्वरले गर्नसक्‍ने महान उद्धारमा भरोसा राख्‍नु असल हुनेछ।  परिक्षामा परेर शैतानको दोष र आत्मग्लानिले गाँजिनुभन्दा येशूको क्रूसको छहारीमा गएर उहाँको क्षमादानलाई स्वीकार गर्दै उहाँकै हात समात्नु असल हुनेछ।
येशू प्रभु यति प्रेमिलो हुनुहुन्छ कि उहाँले हाम्रालागि आफ्नो प्राण दिनुभयो र आज उहाँ मुर्दाबाट बौरीउठेको जीवित परमेश्वर हुनुहुन्छ र अँझ बढी हामीलाई सम्हाल्न चाहनुहुन्छ।  उहाँको भलाइमा विश्वास गरेर हामी विजयी जीवनका भागीदार बनेको उहाँ चहानुहुन्छ।

त्यसकारण दुःखसँग डराएर त्यसैका दास बनेर नबसौं तर त्यो दुःखमा पनि हामीलाई विजय दिने प्रभुको शक्तिमा विश्वास गरेर विजयको प्रतिक्षामा बसौं।  यर्मियालाई परमेश्वरले दिएको प्रतिज्ञालाई स्वीकार गर्दै परमेश्वरमा पुकारौं र उहाँले हामीलाई जवाफ दिनुहुनेछ।  मलाई पुकार्, र म तँलाई जवाफ दिनेछु र तैंले नजानेका गहिरा र गुप्‍त कुराहरू म तँलाई बताउनेछु” (यर्मिया ३३.३)। 

No comments:

Post a Comment