एक सय वर्ष अघिका कोरियाका एक गरीब ख्रीष्टियन र उनका धनी मालिकको वास्तविक उदाहरण आज पनि कोरियन चर्चहरूमा बेलाबखत उल्लेख गरिएको सुनिन्छ।
नोकर र मालिक एउटै चर्चका सदस्य भएको कारण हरेक आइतवार आराधनामा जाँदा मालिक घोडा माथि र नोकरले घोडाको लगाम समातेर बाटोमा डोर्याउँदै चर्चमा जाने गर्थे।
समय बित्दै जाँदा एक दिन ती नोकर उक्त चर्चको एल्डर हुनको लागि चुनिएछन् र विधिवत तरिकाले उनी त्यो चर्चको एल्डर पदमा नियुक्त भए। प्रेस्बिटेरिएन चर्चमा पास्टर र एल्डरको आत्मिक अधिकार बराबर नै हुन्छ। फरक यति मात्रै कि पास्टरलाई चर्चबाट पारिश्रमिक दिइन्छ भने एल्डरले उल्टै चर्चलाई आर्थिक सहयोग गर्नुपर्ने हुन्छ। त्यसकारण यी नव-नियुक्त एल्डरले पनि आफ्नो मालिकको सेवालाई निरन्तरता दिंदै चर्चको एल्डरको जिम्मेवारी वहन गर्नुपर्ने भयो।