July 23, 2021

जीवन कति छोटो अनि परिवर्तनशील छ!

जीवन कति छोटो अनि परिवर्तनशील छ! आफ्नै जीवनलाई नियालेर हेर्दा म जन्मेको दिन देखि १७ वर्षको उमेर सम्म जीवनको अर्थ खोज्दैमा समय बित्यो। खोजको निष्कर्षमा आइपुग्दा अर्थविहीन जीवन जिउनु भन्दा आत्महत्या नै उत्तम लाग्न थालेको थियो। तर अचानक ठूलो परिवर्तन आयो। १८औं वर्षमा येशू ख्रीष्टसँग जम्काभेट भयो। उहाँले बोलेका जीवनका वाणी सुन्दै गर्दा जिउने रहरहरू पलाएर आए। फलस्वरूप जीवनलाई सार्थक बनाएरै संसार छोड्ने आँट पनि आयो। 
मृत्युको मुखबाट छुटाएर जीवनको मार्गमा डोर्याउने येशूको अनुयायी हुनु भन्दा उत्तम अर्को विकल्प थिएन। सम्पूर्ण जीवन येशूको चरणमा सेलाएँ। १९ वर्षको उमेरमा पहिलो पटक एउटा चर्चमा येशू-भक्तको रूपमा प्रवचन दिने मौका मिल्यो। त्यो प्रवचन प्रति भक्तजनहरूको प्रतिक्रियाले मलाई येशू-वक्ता भएर नै जीवन बिताउने हौसला मिल्यो। 

त्यो पहिलो प्रवचन दिएको आज ३४ वर्ष भए छ। झट्ट हेर्दा यो अवधि लामो देखिन्छ तर आफूलाई हिजो जस्तै लाग्छ त्यो दिन। यो छोटो यात्राको दौरानमा धेरै परिवर्तनहरूसँग संघर्षका साथै सम्झौता गर्नु पर्यो। येशूको अनुयायी बनेकै कारण आफन्तहरू बिराना भए; कतिले बोल्नै छोडे। चर्च भित्रका विकृति र विसङ्गतिको विरूद्ध आवाज उठाउँदा विदेशी मिसनरीहरू र स्वदेशी पास्टरहरूको आक्रमणको तारो बनियो। 

व्यक्तिगत जीवनमा पनि गजबका परिवर्तनहरू आए। १९वर्षे जीवनमा देखेका कतिपय सपनाहरू पुरा भएर गए भने कतिले नयाँ रूप लिए। समयसँगै साथीभाइहरू फेरिए, स्थानहरू फेरिए, सेवा पुर्याइएका चर्चहरू फेरिए, शिक्षा दिइएका बाइबल कलेजहरू फेरिए। 

शरीरमा अनेक किसिमका परिवर्तनहरू आए। बाल्यकाल देखिनै जमा गरिएका शारीरिक कमजोरीहरूको सामना गर्न र तिनीहरूमाथि विजय प्राप्त गर्न लौकिक र अलौकिक सहयोगको अनुभव गरियो। 

परिवारमा पनि परिवर्तन आयो। एक मात्र छोरा हुर्केर अर्कै देशमा आफ्नो भविस्य निर्माण गर्दैछ। आमा-बाबु र परिवारका अन्य सदस्यहरूले संसार छोडेर गए। कतिपय सङ्गि दौंतरीहरूले संसार छोडिसके भने कति शत्रुमा परिणत भए। कतिपय मित्रहरूले चिन्नै छोडे। 

देश, समाज, राजनीति, कला र संस्कृतिमा पनि गजबको परिवर्तन आयो। सबै भन्दा गरीब र भ्रष्ट देशहरूको सुचिको अग्रपङ्तिमा आफ्नो देशको नाम देख्नु पर्यो। हिजो एउटाले अर्काको टाउकोको मोल तोक्नेहरू आज राजनीतिक शक्ति उपभोग गर्न एउटाले अर्कोलाई कहिले काखी च्यापेको त कहिले बुई चढाएको पनि देख्नु पर्यो। 

समाज पनि कति परिवर्तन भयो! वैदेशीक रोजगारी र स्वदेशी वेरोजगारीले आमा-बाबु, छोरा-छोरी, दाजु-भाइ, दिदी-बैनी र श्रीमान-श्रीमतीको एउटै छानामुनि बस्ने र एउटै भान्सामा खाने रहरलाई सपनामा मात्र सिमित पारिदियो। 

कला र संस्कृतिले पनि परिवर्तनको मार खानै पर्यो। नाम चलेका र मन पर्ने गायक, अभिनेता-नेत्री, कवी र लेखकहरू पनि विदेशमै विलीन भए। कतिपय स्वदेशमै रहेका प्रतिभाहरू परिवर्तनको चपेटमा परेको कारण फल्न र फुल्न नै सकेका छैनन्। आज होला कि भोलि भन्दै समयले डाडाँ काटेको पत्तै नलाग्दो रहेछ। 

यो छोटो जीवनमा यति धेरै परिवर्तनको सामना गर्न सजिलो छैन। स्वभावैले मानिस स्थायित्व चाहन्छ। परिचित वातावरणमै सुरक्षाको अनुभूति हुन्छ मानिसलाई। नयाँ देश, नयाँ भाषा, नयाँ परिस्थिति र परिवेशमा अपनत्व र परिचय खोज्दा खोज्दै उमेर ढल्किन्छ, सपनाहरू थन्किन्छन्, सम्बन्धहरू टुट्छन् र शरीरले धोका दिन्छ। सुखमय जीवनको खोजिमा हिँडेको मान्छे कतिपटक त जीवन नै गुमाउन पुग्छ।

यस्ता परिवर्तनका बावजूद मेरो जीवनलाई फर्केर हेर्दा आफैलाई अचम्म लाग्छ। स्वदेशमा होस या विदेशमा, अभावमा होस या प्रशस्ततामा, मित्रहरूका विचमा होस या शत्रुहरूका विचमा, घरमा होस या अस्पतालमा; म मेरो आफ्नै संसारमा म रमाएको भेट्टाउँछु। आत्मसन्तुष्टिले भरिएको र जीवनसँग कुनै गुनासो नभएको व्यक्तिको रूपमा भेट्टाउँछु। जीवनमा थपिने हरेक वर्षहरू मेरो लागि उपहार जस्तै लाग्छन् भने यी वर्षहरूमा आउने परिवर्तन सुखी, स्वास्थ र सम्पन्न जीवनतिर मलाई डोर्याउने पथ-प्रदर्शक जस्तै लाग्छन्। बितेका वर्षहरू र आएको परिवर्तनसँग मेरो कुनै गुनासो छैन; बरु धन्यवादी छुँ। 

यो परिवर्तनशील जीवनमा मलाई निरन्तर सम्हाली राख्ने तीन वटा सत्य छन्। पहिलो सत्य हो येशू ख्रीष्टको प्रेम। जुन् येशूले मलाई १७ वर्षको उमेरमा आत्महत्याको मार्गबाट फर्काएर जीवनको मार्गमा ल्याउनुभयो उहाँले आज सम्म पनि मेरो हात छोड्नुभएको छैन। उहाँमा र उहाँद्वारा म सबै कुरा गर्नसक्छु;
“म ख्रीष्‍टसँगै क्रूसमा टाँगिएको छु, अब उप्रान्‍त जिउने म होइनँ, तर ख्रीष्‍ट ममा जिउनुहुन्‍छ। जुन जीवन शरीरमा म अहिले जिउँछु, त्‍यो परमेश्‍वरका पुत्रमा विश्‍वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, र मेरो निम्‍ति आफूलाई अर्पण गर्नुभयो (गलाती २:२०)। “जुनसुकै परिस्‍थितिमा भए पनि त्‍यसमा सन्‍तुष्‍ट रहन मैले सिकेको छु। 12कसरी होचिन र कसरी बढ्‌न म जान्‍दछु। परिपूर्णतामा होस्‌ वा भोकप्‍यासमा होस्, प्रशस्‍ततामा होस्‌ वा अभावमा होस्, सबै परिस्‍थितिमा सन्‍तुष्‍ट रहने रहस्‍य मैले सिकेको छु। 13जसले मलाई शक्ति दिनुहुन्‍छ, उहाँमा नै म सब कुरा गर्न सक्‍छु” (फिलिप्पी ४:११-१३)। 

दोस्रो सत्य हो मेरी श्रीमती र छोराको प्रेम। जन्मसिद्धै त्यागिएको मेरो मानसिकतामा मानवीय प्रेमको खडेरी परेको थियो। मनोविज्ञहरू भन्छन् कि प्रेम लिन र दिन नपाएकै कारण अधिकांस मानिसमा मानसिक रोग लागेको हुन्छ जसले गर्दा नत उनीहरू आफू खुसी हुन्छन् न अरूलाई हुनदिन्छन्। सन् १९९१मा पहिलो पटक उनीसँग भेट भएको थियो। दुई वर्ष पछि वैवाहिक सम्बन्धमा जोडिएका थियौं। मेरो बाँझो जीवनको बारीमा गोडमेल गर्दै नयाँ फूलहरू रोप्ने मालीको रूपमा परमेश्वरले उनलाई पठाएको रहेछ। विवाहको ११ महिना पछि अर्को एउटा फूल परमेश्वरले मेरो सुन्दर बन्दै गरेको बगैचामा उमार्नुभयो। श्रीमतीको आगमनले मानवीय प्रेमको अनुभूति दिएको थियो भने छोराको जन्मले परमेश्वरको प्रेमलाई अनुभव गर्ने अर्को मौका दियो। यसरी यो सानो परिवारमा पनि लौकिक र अलौकिक प्रेमको उपस्थितिले जीवनमा आउने हरेक परिवर्तनको सामना गर्ने आत्मिक, मानसिक र शारीरिक सामर्थ मिल्यो। 

तेस्रो सत्य हो असल मित्रहरूको साथ। आशा चर्चका विश्वासी र अगुवाहरूका साथै अरू धेरै मित्रहरूले मेरो जीवनमा अविस्मरणीय योगदान पुर्याएको छ। यी मित्रहरू मध्य पास्टर गणेश तामाङ्को भूमिका धेरै ठूलो छ। सन् १९९४ साल देखि नै हाम्रो मित्रताले सङ्गि सेवकको रूप लियो र आज आशा चर्च जुन उचाइँमा पुगेको छ त्यसमा उहाँको अतुलनीय योगदान छ।  आशा चर्चले नै मलाई एउटा पास्टरको रूपमा स्थापित गर्यो। 

हाम्रो जीवनमा परमेश्वर र परिवारको प्रेम अनि मित्रहरूको साथ छ भने जस्तासुकै परिवर्तनको पनि सामना गर्न सकिन्छ। छोटो र परिवर्तनशील जीवनमा अपार सुख र शान्तिको अनुभव गर्न सकिन्छ। परमेश्वर, परिवार र मित्रलाई जीवनमा सही स्थान दिनसके शान्ति, सन्तुष्टि र सफलता हामीलाई खोज्दै आउँछन्।

No comments:

Post a Comment