January 20, 2017

सानो दर्शनले ठूलो बोलाहटलाई चपेटमा पार्दछ

मेरो ख्रीष्टिय सेवाकार्यको छोटो समयमा धेरै प्रभुका दास दासीहरूलाई भेट्ने, चिन्ने र उहाँहरूको वारेमा जान्ने मौका पाएकोछु।  उहाँहरू मध्य धेरैको जीवनमा परमेश्वरको ठूलो योजना भएको प्रमाणित हुन्थ्यो; उहाँहरूलाई परमेश्वरले आफ्नो महिमाको लागि माहान तरिकाले चलाउन सक्ने धेरै सम्भावनाहरू देखिन्थे। 

तर उहाँहरूको दर्शन भित्र परमेश्वरको त्यो माहान योजना अटाउन सकेन।  उहाँहरूको दर्शन भनेको नै आर्थिक उन्नति गरेर कुनै सुबिधाजनक ठाउँमा घर-जग्गा होस्, छोरा छोरीलाई राम्रो स्कूलमा पढाउन पाईयोस्, बुढेसकाल सम्म सेवाको लागि झुण्डिरहन कुनै मण्डली वा ख्रीष्टियन संस्था होस् र बेला बखत देस विदेस गुम्न पाईयोस्।  परमेश्वरको हातबाट चलाईएर धेरै मानिसलाई प्रभुमा ल्याउने दर्शन परिवर्तन भएर केवल गिरबीबाट छुटकारा पाउनुमा सिमित भयो। 

यी कुराहरू प्राप्तिका लागि धेरैले परमेश्वरको सामु आफ्नो ईमानदारिता र पवित्रतालाई गुमाईदिए जसको कारण उहाँहरूमा भएको पवित्र आत्माको अभिषेक पनि हटेर गयो।  आत्मिक शक्तिमा नभएर मानविय चतुर्‍याईँमा सेवा गर्ने प्रयास गर्दा उहाँहरूको प्रचारमा र शिक्षामा पनि जिवन्त शक्तिको अभाव हुनथाल्यो; बाईबल प्रचारगर्नु भन्दा आफ्नै अनुभवमा सिमित रहन गए।  सेवाको नाममा जुनसुकै कुरा गर्दा आर्थिक फाईदालाई मात्रै मध्यजनगर गरिएको कारण उहाँहरूले उत्पादन गरेका सेवक सेविकामा पनि त्यो आत्मा सरेर गयो।  असल सेवकहरू उत्पादन गरेर परमेश्वरको माहान बोलाहटलाई आफ्नो जीवनपर्यन्त पनि फैलाउन सक्ने मौकालाई साधारण भौतिक उपलब्धीको कारण सदाको लागि गुमाउन पुगे।

हरेक विश्वासीको लागि पनि यो चेतावनि आवस्यक छ कारण यदि परमेश्वरको वचनलाई हामीले जीवनमा काम गर्न दिएनौं भनें हामीले पनि उहाँबाट पाउनसक्ने माहान आशिषहरू सदाको लागि गुमाउनेछौं।  लूका ८को १४-१५मा प्रभु भन्नुहुन्छ, “काँढाहरूका बीचमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले (वचन) सुन्छन्, तर पछि यस जीवनका चिन्ता, धन, सुख-चैनमा परेर बढ्न पाउँदैनन्, र तिनका फल पाक्न पाउँदैनन्।  तर असल जमिनमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले वचन सुनेर निष्कपट र भला हृदयमा त्यसलाई जोगाइराख्छन्, र धैर्यसाथ फल फलाउँछन्”। 

प्रिय मित्र, संसारिक कुराको निम्ति चिन्ता गर्नुको सट्टा परमेश्वरको भलाईमा विश्वास गर्नुहोस्, धन-सम्पत्ति भन्दा परमेश्वरले दिने जीवनलाई खोज्नुहोस्, संसारिक सुख-चैन भन्दा परमेश्वरमा रमाउनुहोस्; परमेश्वरको वचनलाई आफ्नो भला र निष्कपट हृदयमा जोगाईराख्‍नुहोस्।  तब, हामीलाई संसारिक आशिष दिनुका साथै आत्मिक बोलाहट पुरागर्न परमेश्वर हाम्रो साथमा हुनुहुनेछ; उहाँको अभिषेकले हामीलाई छोड्ने छैन र जीवनमा हामी धेरै फल फलाउँनेछौं।  उहाँको योजना पुरागर्न परमेश्वरले हामीलाई माहान तरिकाले चलाउनसक्नु हुनेछ र हामी त्यस्ता चेलाहरू निर्माण गर्नेछौँ जसले हाम्रो सेवाकाईँलाई लामो समय सम्म वचाई राख्‍ने छन्। 

No comments:

Post a Comment