January 26, 2017

बुढेसकाल लाग्दैमा आत्मिक नबनिँदो रहेछ!

गाब्रिएल दूतको सन्देस पछि तपाईंको वचनअनुसार होस्भन्दै मरियम यहूदियाको पाहाडि गाउँमा बस्ने नातेरदार एलीशिवाको घरतिर लागिन्। गाउँका घरहरूका ढोका प्राय खुलै भएको कारण होला, एलीशिबाले देख्नुअघिनै मरियम भित्र पस्छिन् र अभिवादन चढाउँछिन्। मरियमको मुखबाट निस्केको सालोमको आवाज एलीशिबाको कानमा के परेको थियो, छ महिनाको पेटको बालक यूहन्ना र आमा दुबै आत्माले भरिँदै र आनन्दले गदगद हुँदै परमेश्वरलाई प्रशंसा गर्नथाले र मरियमले पनि एउटा माहान स्तुतिको भजन गाउँदै त्यो घरलाई नै हल्लाएको हुनुपर्छ (लूका १:३९-५५)। पवित्र आत्माले भरिएका मानिसहरू हल्ला गर्छन् भन्ने आरोपलाई यी तीनै जनाले प्रमाणित गर्दछन्।

तर एकजना चाहिँ चुपचाप कुनामा बसेर यी सबै गतिविधिहरूलाई टुलुटुलु हेरेर बसिरहेको थियो होला र त्यो हो पुजाहारी जकरियाह। भन्ने हो भने, सबै भन्दा बढी स्तुति र प्रशंसाको हल्ला जकरियाहको मुखबाट निस्कनुपर्ने थियो कारण उ त जीवन भरि मन्दिरमा सेवागर्ने पुजाहारी थियो। तर उनै गाब्रिएल दूतले दिएको परमेश्वरको वचनलाई विश्वास गर्न नसकेकोकारण उनको मुखबाट दूतले बोलि खोसेर नौ महिनाको लागि लाटो बनाईदिएको थियो। मरियम, एलीशिबा र यूहन्ना पवित्र आत्माले भरिन्छन् र परमेश्वरलाई आराधना चढाउँछन् तर जकरियाह उनको अविश्वासको कारण लाटो भएर बस्नुपर्‍यो। उमेरको हिसाबले, अनुभवको हिसाबले र पेशाको हिसाबले मरियम जकरियाह भन्दा धेरै अयोग्य र असमर्थ स्त्री थिईन् तर उनको विश्वासको कारण जकरियाहलाई उनले धेरै पछि पारिन्।

मानिसको उमेर ढल्कँदैमा र बुढेसकाल लाग्दैमा आत्मिक नहुँदो रहेछ। पेशाले पनि खासै फरक नपार्दो रहेछ चाँहे त्यो पास्टर वा सेवकै किन नहोस्। अध्यन, अध्यापन र अनुभवले पनि मानिसलाई आत्मिक बनाउँछ भन्ने कुनै निश्चयता नहुँदो रहेछ।

तर, जुनसुकै उमेरको, पेशाको, अनुभव वा विना अनुभवको, स्त्री वा पुरूष, धनी या गरीब, कालो वा गोरो, त्यो मानिस जोसुकै र जस्तोसुकै किन नहोस् यदि पवित्र आत्माको भरपुरि उसको जीवनमा छ भने उ परमेश्वरको अति नै नजिकको मानिस बन्दछ; उ परमेश्वरको मन्दिर बन्दछ। परमेश्वरको सेवा आराधना गर्दा आनन्दको आत्माले उसलाई भर्दछ, परमेश्वरको वचन उसलाई सारै नै स्वादिलो लाग्छ; डर, चिन्ता, फिक्रिले उसलाई बसमा पार्न सक्दैन। लोभ लालच र शरिरका अभिलाषाहरूले उसलाई एक रत्ति पनि आनन्द दिँदैनन्। उसको निम्ति आफ्नो र विरानो भन्ने हुँदैन, सबैलाई उसले एकसमान हेर्दछ। सत्रु र मित्रको उसलाई पर्वाह हुँदैन कारण परमेश्वर उसको सबै थोक बन्नुहुन्छ। संसारको क्षणिक यात्रामा परमेश्वरलाई खुसी पार्दै र सबैको सेवागर्दै अन्त्यको दिनमा स्याबास, असल र विश्वासी नोकर! तँ थोरै कुरामा विश्वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु। तँ आफ्ना मालिकको खुसीमा सहभागी होभन्ने वाक्याङ्स प्रभुको मुखबाट सुन्ने उत्कट ईच्छा गर्दछ।

त्यसकारण मित्रहरू, परमेश्वरको साँचो आत्मिक सेवक बन्नको लागि बुढेसकाल नपर्खनुहोस्। धेरै ठुल-ठुला कामहरू गरेर, सेवा सम्मेलनहरू गरेर, चमत्कारहरू गरेर, टाठोबाँठो भएर प्रभुलाई प्रभावित गरौंला भनेर नसोच्नुहोस्। धेरै अध्यन गरेर, नाम कमायएर, पैसा कमाएर, ठुलठुला महलहरू बनाएर पनि उहाँलाई आकर्शित गर्दै आत्मिक बन्ने प्रयास पनि व्यर्थै हुनेछ। हाम्रो साँचो आत्मिक जीवनको लागि प्रभुले देखाउनुभएको एउटै मात्र बाटो हो; पवित्र आत्माले भरिनु। आत्माले भरिएको मानिसमा रहरलाग्दा आत्माको फल फल्दछ जसको झलक पावलले गलाती ५को २२मा यसरी भन्छन् पवित्र आत्माको फलचाहिं प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम हुन्। यस्ता कुराहरूका विरूद्दमा कुनै व्यवस्था छैन

पवित्र आत्माले भरिएको मानिसको उपस्थितिमा बस्दा सबैलाई आनन्द लाग्छ।

No comments:

Post a Comment