August 13, 2018

अनुभव गर्न लायक जीवन


मानिसको जीवन एक विचित्र अनुभव हो। सुख-दुखको सङ्गम। समयको घेराबन्दी। प्रकृतिको नियम।  परिस्थितिको कैदी।  वातावरणको उपज।  

यो गजबको अनुभव गर्न मानिस आफै यो संसारमा आएन; आउन सकिने सम्भावना पनि छैन।  कसैले उसलाई यहाँ राखेको हो।  यो संसार मानिसको सुरूवात हो।  त्यसैकारण, यो संसार मानिसले जीवनदातालाई चिन्ने मौका हो।  शिशुले आमालाई आफू जन्मेको दिन देखि चिन्दै गएझैं, यो संसार मानिसको निम्ति शिशुता हो।  सृष्टिकर्ताका औंलाहरू समात्तदै, अनुहार छाम्दै, अँगालोमा खेल्दै उहाँकै स्वरूपमा हुर्किने घर हो यो संसार।  

मृत्यु पछिको जीवनको त हामी कल्पना मात्रै गर्न सक्छौं।  तर यो संसारमा रहँदाको जीवन आफैमा एक अविस्मरणीय र अनन्त अनुभव रहनेछ।  अजम्मरी जीवनमा हुन आउने सम्भावित अनुभवको अग्रिम स्वाद पनि हो।  सृष्टिकर्ताले गल्ती गरेर हामीलाई यहाँ राखेको होइन; चाहेरै राख्‍नुभएको हो।  त्यसैकारण, आउने संसारको तयारीमा लाग्‍नुमा हाम्रो भलाई छ।  “मरे पछि ...मै राजा” भन्ने नेपाली उखान र “अर्को जुनीमा गरौंला” भन्ने नेपाली मानसिकता धोका हो।  यो जुनीमा नै आउने जुनीको निश्चयता गर्न सकिन्छ भनी येशूले प्रमाणित गर्नुभएको कारण उहाँबाहेक अर्को उपाए छैन; “बाटो सत्य र जीवन म नै हुँ”।

येशू हामीलाई अर्को जुनीको निश्चयता मात्रै होइन, यसै जुनीमा पनि उत्तम जीवन जिउन सकिने शक्ति र सामर्थ दिनुहुन्छ।  येशूलाई चिन्ने, येशूको हातका औंला समात्‍ने प्रत्येक मानिसको निम्ति उहाँ गोठालो हुनुहुन्छ।  उहाँले त्यसलाई हरियो खर्कमा सुताउनुहुन्छ, शान्त पानीको छेउमा डोर्‍याउनुहुन्छ, कठिनाइका घाँटिहरूबाट उकास्‍नुहुन्छ, सत्रुको सामु भोज तयार पार्नुहुन्छ, तेलले उसको शिर अभिषेक गर्नुहुन्छ, आशिषले उसको कचौरा पोखिनेगरि भर्नुहुन्छ; करूणा र भलाइद्वारा जीवनभरि उसको सुरक्षा गर्नुहुन्छ।

परिस्थिति र वातावरणले हामीलाई कैदी बनाएको भए पनि।  दुःखले घेरेको भए पनि।  समयले डाँडा काट्नै लागेको भए पनि।  हामीले हार खानुपर्ने कारण छैन कारण यो संसार हाम्रो सुरुवात मात्र हो।  जीवनको सुरूवात जतिनै प्रतिकूल भए पनि येशूमा हाम्रो जीवनलाई अनुकूल बनाउन सकिन्छ।  जब हामी येशूकहाँ जान्छौं तब अनन्त “लोगोस” जसद्वारा उहाँले सबै थोकको सृष्टि गर्नुभयो, त्यसै लोगोसद्वारा यो जीवनमा स्वर्गीय अनुभवको सृजना येशूले गर्न सक्‍नुहुन्छ।  उहाँले भन्नुभयो; “विश्वास गर्नेको निम्ति सबै थोक सम्भव छ” (मर्कूस ९.२३)।  

मानिसका कुरालाई हामीले नसुनेकै राम्रो कारण प्रायः मानिसहरुले भनेका कुराहरूमा हाम्रो भलो भन्दा कुभलो नै लुकेको हुन्छ।  तर येशूका कुरामा सधैं नै हाम्रो भलाई लुकेको हुन्छ।  उहाँका वचनले हाम्रो जीवनको यो विचित्र अनुभवलाई अझ रहरलाग्दो बनाउँछन्। 

No comments:

Post a Comment