February 18, 2019

प्रकृतिका नियम र येशूका वचन पालन गर्ने मानिसको जीवनमा हरियाली।


लामो समय पछि आज झिमझिम पानी पर्‍यो र महिनौं देखि उडिरहेको धुलो केही समयको लागि भए पनि हराएको छ।  सधैं हरिया देखिने नरिवल, खजुर वा सुपारीका रूखहरू धुलोको कारण फुस्रा देखिएका थिए तर आज परेको पानीले तिनीहरूको हरियाली फिर्तागरेकोछ।  सायद यो पानीले यसपालिको हिउँदलाई बिदा दिन्छ होला।  अब केही दिनमै बनपाखा, डाँडाकाँडा र खेतबारीमा हरियाली छाउनेछ, वसन्तका गीतहरू चराचुङ्गिले गाउनेछन्। 

मेरो जन्मथलो, डोटीको जोरायलमा पनि फाल्गुन महिनाको अन्त्यसँगै वसन्तका पालुवाहरूले पहाडको हावामा नौलो सुगन्ध फैलाएको अनुभव अझै ताजा छ र अहिले पनि त्यो सुगन्ध छरिदैछ होला कारण प्रकृतिले आफ्नो नियम उलङ्घन गर्दैन।  हिउँदको जाडोले सुकेका गौचरनमा टुसाउँदै गरेको हरियाली र पिरौलमा लागेको आगोको कारण उजाड भएको जङ्गलले हिउँदपछिको पानीको कारण केही दिनमै काँचुली फेरेको देखिन्थ्यो र आज पनि त्यस्तै छ होला।  हिउँदको अन्त्यमा परेको पानीले मरिसकेको वनस्पतिलाई जीवनदान दिदोरहेछ!  धुलोले छापिएका फुस्रा रूखहरू हुन् वा आगोले डढाइएका र हिउदको चिसोले सुकाइएका वनस्पति हुन्, हिउँद पछिको पानी कहिले परोस् भनी कति उत्सुक हुन्छन् होला।  प्रकृतिको नियम कति इमानदार छ। हिउँद पछि पानी परिनैहाल्छ।  पानी परेपछि वनस्पतिले पालुवा हालिनैहाल्छ।

मानिस मात्रै त्यो प्राणी हो जसले प्रकृतिको नियमलाई शक्तिले भ्याए सम्म उलङ्घन गर्न चाहन्छ।  एक-आपसमा प्रेम गर्दा मानिसलाई राम्रो हुन्छ तर ऊ घृणामा जिउन चाहन्छ।  निश्वार्थ सेवा गर्दा उसलाई अपार आनन्द आउँछ तर ऊ आफ्नो स्वार्थको लागि मात्रै सबै कुरा गर्न चाहन्छ।  पापरहित जीवन विताउँदा उसको शारीरिक, मानसिक र भावनात्मक जीवन स्वस्थ रहन्छ तर उसलाई पापमै जिउन मन पर्छ।  मानिस परमेश्वरको स्वरुपमा र परमेश्वरको साथमा रहनको लागि बनाइएको प्राणी हो तर ऊ परमेश्वरबाट टाढा जान चाहन्छ।  आफ्नो सृष्टिकर्तालाई पुज्नुपर्ने हो तर ऊ सृष्टिको पुजा गर्न चाहन्छ।  उसले जे गर्नुपर्ने हो त्यो गर्न चाहँदैन तर जुन कुरा उसको लागि हानिकारक छ, त्यो ऊ गर्न चाहन्छ। 

शरीरमा बल र दिमागमा सोच्ने शक्ति रहुन्जेलसम्म मात्र मानिस विद्रोही भएर जिउने प्रयास गर्छ कारण ऊ सृष्टिमा भएका प्राणीहरुमध्य निकै कम्जोर प्राणी हो।  प्रकृतिको नियम परिवर्तन गर्न सक्ने क्षमता उसमा छैन।  नियम विपरित लामो समयसम्म जीवन विताउन सम्भव पनि छैन।  कहिँ न कहिँ उसको जीवनमा धुलोले उसलाई छोप्छ, आगोले पोल्छ र चिसोले सुकाउँछ।  जीवनमा हिउँदको सामना गर्नै पर्छ उसले।  एक दिन जीवनमा भएको हरियाली (जवानी) ओइलाउनेछ, पातहरू खस्नेछन्, आगो लाग्नेछ।  प्रकृतिको नियम विपरित गए विनाश अवस्य आउँछ।   दुःखको कुरा, जीवन ओइलाउन थालेपछि, सुक्न थालेपछि र डढ्न थालेपछि मात्रै मानिस आफूले बाटो विराएको तथ्यलाई महसुस गर्न थाल्छ र  जीवनको औचित्य, अस्तित्व, उद्देस्य र गन्तव्यको चिन्ता गर्न थाल्छ।  तर त्यतिबेलासम्म धेरैका लागि समयले डाँडा काटिसकेको हुन्छ; जीवन ओरालो लागिसकेको हुन्छ। 

खुसीको कुरा के छ भने, प्रकृति परमेश्वरको सृजना हो।  मानिस पनि प्रकृतिकै अङ्ग हो।मानिस असफल हुनु भनेको सृष्टिले फेल खानु हो; सृष्टिकर्ता असफल हुनु हो।  तर सृष्टिकर्ता असफल हुनुपर्ने कारण छैन कारण सृष्टिको अन्य कुनै पनि क्षेत्रमा उहाँ असफल हुनुभएको देखिएको छैन।  त्यसैकारण मानिसमा देखिएको समस्यालाई समाधान गर्न परमेश्वर आफै येशू ख्रीष्टमा मानिस बनेर आउनुभयो र भन्नुभयो “बाटो, सत्य, र जीवन म नै हुँ”।  प्रकृतिको नियम विपरित गएर आफैलाई विनाशको बाटोमा धकेलिरहेको मानिसलाई ठिक बाटोमा ल्याएर जीवनको उद्देस्य र गन्तव्य दिन येशू संसारमा मानिस बनेर आउनुभयो।  उहाँले भन्नुभयो “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ र म तिमीहरूलाई विश्राम दिनेछु”।  येशूले बोलेका वचन पालन गर्नु प्रकृतिका नियम पालनगर्नु हो।  विनाशतिर गैरहेको मानिसलाई ती वचनले जीवनको बाटोमा ल्याउँछन र सही गन्तमाव्यमा पुर्‍याउँछन्।  येशूलाई चिन्नु सृष्टि र सृष्टिकर्ता बिचको सम्बन्धलाई चिनेर जीवन जिउन जान्नु हो।

पापको धुलो र हिलोले छोपिएर फुस्रो भैसकेको मानिसलाई येशूको रगतले पखालिदिन्छ।  पापको रापले पोलिएको र सुकेको मानिसलाई येशूले दिने जीवनको पानीले सदाको लागि हरियालीमा परिणत गरिदिन्छ।  सुकिसकेको, मरिसकेको र दुर्गन्धित जीवनमा येशूका वचनले हिउँदपछिको पानीले जस्तै नयाँ वसन्तका पालुवाहरू उमारिदिन्छन्।  ती नयाँ पालुवाले दिने बास्ना जस्तै पवित्र आत्माले मानिसको जीवनमा जीवनको सुगन्ध छरिदिनुहुन्छ।  जीवन हरियो, भरियो र रहरलाग्दो बन्न जान्छ कारण यो प्रकृतिको नियमनै हो।

प्रकृतिको नियम तोड्नु आफ्नै विनाश निम्त्याउनु हो।  केही समय सम्म प्रकृतिको नियम विपरित जीवन चलिनै रहन सक्छ तर मानिस केही समयको लागि मात्र सृजिएको प्राणी  होइन।  ऊ अनन्त प्राणी हो।  उसको गन्तव्य पनि अनन्त छ।  परमेश्वरको स्वरूपमा बनेको कारण उसको गन्तव्य पनि परमेश्वरसँगै रहनु हो जसलाई हामी स्वर्ग भन्छौं।  येशू ख्रीष्ट संसारमा आउनुको उद्देस्य परमेश्वरको नियम उल्लङ्घन गरेर कहिल्यै स्वर्ग जान नसक्ने मानिसलाई त्यहाँ लानु हो।  बाइबल भन्छ; “परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र पुत्रलाई दिनुभयो ताकि उहाँमाथि विश्वासी गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्”। बाइबलले यो पनि भन्छ कि “जससँग पुत्र (येशू) छ त्यससँग जीवन छ।  जससँग पुत्र छैन त्यससँग जीवन छैन”।  कसैसँग पुत्र हुनु भनेको येशूलाई आफ्नो सुकिसकेको जीवनमा हरियाली दिनसक्ने परमेश्वरको उपाए हो भनी विश्वास गर्नु हो, स्वीकार गर्नु हो।  येशूलाई विश्वास गर्ने मर्‍यो भने पनि त्यो बाँच्ने छ भनी येशूले दाबि गर्नुभएको छ।

येशूलाई विश्वास गर्ने मानिसको जीवन वसन्तका पालुवा जस्तै हुनेछ।  उसका सुकेका पातहरू फेरि हरिया हुनेछन्। सुकिसकेका जराहरूमा येशूले नयाँ जीवन हालिदिनुहुनेछ।त्यो मानिस खोलाको किनारमा रोपेको रूख जस्तै हुनेछ जसका पात फेरि कहिल्यै ओइलाउने छैनन्।  यो संसारमा रहुन्जेल उसको जीवनलाई हरियालीमा राख्न आशिषको स्वर्गीय झरी येशूले वर्षाउनुहुनेछ।  जब यो संसारको जीवनमा उसको सुर्य अस्ताउनेछ तब ऊ अनन्तको राज्यमा उदाउनेछ कारण येशू उसलाई अनन्त जीवन दिन आउनुभएको हो।  तर येशू बिनाको जीवन प्रकृतिको नियम विपरित बाँचिरहेको जीवन जस्तै हो, उजाड र सुखा हुँदै यो कुनै पनि बेला नाश हुनसक्छ कारण प्रकृतिको विरुद्द मानिस जानसक्दैन।

No comments:

Post a Comment