April 12, 2019

इसाई विवाहमा स्वर्गीय आनन्द!


बाइबलले पुरुषलाई घरको पूजाहारी र परिवारको शिर भन्छ।  परिवार भन्नाले पति-पत्नी र छोराछोरीहरू मिलेर बनेको समुह।  आफ्नो परिवारको असल तरिकाले पालन-पोषण र सुरक्षा प्रदान गर्ने पुरुषका छोराछोरीहरू र पत्नीले उसलाई आदर गर्दछन्; माया गर्छन्।  अरू मानिसको सामु ऊ जति नै काम नलाग्ने मानिस किन नहोस् तर उसको परिवारको निम्ति ऊ एक महापुरुष हो।  आफ्नी पत्नी र सन्तानबाट आदर पाउने पुरुषले जीवनमा केही न केही उपलब्धिहरू हासिल गरेरै छाड्छ। 

अर्कोतिर, परिवारलाई असल तरिकाले पालन-पोषण र सुरक्षा प्रदान नगर्ने पुरुष संसारका लागि महापुरुष भए पनि घरमा उसको सम्मान हुँदैन।  परिवारमा आदर नपाउने बाबु (पति)को मनोबल घट्दै जान्छ र पछि ऊ परिवार बाहिर पनि काम नलाग्ने बन्न सक्छ।  ऊ हीनताबोध, मतवालीपन वा नशाको सिकार हुन जान्छ।  कतिले दोस्रो, तेस्रो विवाह पनि गर्छन् तर जीवनमा असल बाटो अपनाउन गाह्रो हुन्छ यस्तो मानिसलाई।  विवाहमा असफल हुने पुरुषको जीवनमा सुख, शान्ति र सफलताले विरलै वास गर्छन्।

परिवारमा बेमेल हुनुमा पतिको मात्रै हात हुन्छ भन्न मिल्दैन।  पत्नीले पनि सजिलै परिवारलाई नाश गर्न सक्छे।  एउटा बहादुर पुरुषलाई पनि मति बिग्रेकी पत्नीले कायल बनाउँदै जीवनसँग हारेको मानिसमा परिणत गर्न सक्छे।  तापनि, बाइबलीय विचारमा पतिलाई ख्रीष्टको संज्ञा दिइएको छ।  अर्थात, आफ्नी श्रीमती जति नै बैगुनी भए पनि उसको लागि ज्यान दिन पति तयार हुनु पर्ने आदेश पुरुषलाई दिइएको छ।  श्रीमतीबाट आदर नपाउने श्रीमानले ख्रीष्टले दिने आदरलाई मध्यनजर गरेर आफ्नो बहादुरीपनमा कमी आउन दिनु हुँदैन।  वास्तवमा बैगुनी जीवन साथीलाई निश्वार्थ प्रेम गर्न सक्नु ख्रीष्टको चरित्रलाई धारण गर्नु हो।  ख्रीष्ट जस्तै बन्नु हो।  दार्शनिक सुक्रातले पनि भनेका छन् “जसरी हुन्छ विवाहचाहिँ गर।  असल श्रीमती पायौ भने खुसी मानिस बन्नेछौ, खराब पायौ भने दार्शनिक”।  असफल विवाहमा बेखुसी भएर हार खानु भन्दा एउटा साहसी पुरुषले त्यसलाई प्रेरणाको स्रोत बनाउन सक्छ।

असल जीवन साथी पाउनु लोग्ने स्वास्नी दुबैको लागि आशिषमय कुरा हो।  तापनि, असल श्रीमती पाउनु श्रीमानको लागि झनै ठूलो आशिष् हो किनभने पुरुषलाई बनाउने र बिगार्ने क्षमता स्त्रीको हातमा हुन्छ।  त्यसैकारण बाइबल भन्छ कि  “सम्पत्ति आमा-बाबुबाट आएको हुन्छ, तर विवेकी पत्नीचाहिँ परमप्रभुबाटै आएकी हो” (हितोपदेश १९:१४)।  विवेकी पत्नीले आफ्नो पतिको सफलतालाई मध्यनजर गरेर उसको मनोबल बढाउँछे र पतिले जीवनमा केही गरेरै छाड्छ।    यस्तै पत्नीका कारण भनिएको छ “प्रत्येक महान पुरुषका पछाडी एउटा महान स्त्री हुन्छे”। 

इसाई विश्वासी भएको नाताले यदि कसैको श्रीमती विवेकहीन छ भने के गर्ने भन्ने प्रश्न आउन सक्छ।  सजिलो जवाफ हो; ख्रीष्टले मण्डलीलाई प्रेम गरेझैं उसलाई प्रेम गर्नु।  तर दैनिक व्यवहारमा त्यो प्रेम उतार्न सजिलो छैन।  तापनि प्रेम गर्न बाहेक अर्को विकल्प बाइबलले दिएको छैन।  प्रेम गर्न लायकको नभए पनि त्यसैलाई प्रेम गर्न बाइबलको आज्ञा छ।  बैगुनी श्रीमतीलाई प्रेम गरेर जीवनमा सफलता हासिल गरेको उदाहरण हामी अय्यूबको जीवनमा देख्छौं। 

जब अय्यूबको जीवनमा महा दु:ख आयो तब उनको दु:खमा साथ दिनुको साटो श्रीमतीले भन्छे, “परमेश्वरलाई सराप् र मर्” (२:९)।  अय्यूब विरक्तहुँदै भन्छन्, “तिमी एक मूर्ख आइमाईजस्तै कुरा गर्दछ्यौ” (२:१०)।  श्रीमती जति नै मूर्ख भए पनि अय्यूब आफ्नो जिम्मेवारीमा कहिल्यै चुकेनन्।  परमेश्वरको सामु उभिएर आफ्नो वैवाहिक जीवनको बारेमा उनी भन्छन्, “कुनै स्त्रीलाई कुद ृष्टिले नहेर्ने मैले मेरो आँखासित वाचा बाँधे (३१:१)।  यदि मेरो ह ृदय कुनै स्त्रीले मोहित पारेको रहेछ भने, अथवा मेरा छिमेकीहरूको ढोकामा म ढुकिबसेको छु भने, मेरी पत्नी अर्को मानिसको कमारी भइजाओस्, र अरू मानिसहरूले त्यससित सम्भोग गरून्” (३१:९-१०)।  अय्यूब भन्दैछन् कि उनकी पत्नी जति नै मूर्ख भए पनि उनले कहिल्यै आफ्नी श्रीमतीसँग मन, वचन र कर्ममा वैवाहिक विश्वासघात गरेनन्। 

मण्डली इतिहासमा पनि धेरै परमेश्वरका दासहरू छन् जसको जीवनमा वैवाहिक आनन्द मिलेन।  तापनि उनीहरूले आफ्नो जीवन साथीलाई आफ्नो तर्फबाट कहिल्यै विश्वासघात गरेनन्।  नत उनीहरूले परमेश्वरको सेवा गर्न नै बन्द गरे।  ख्रीष्टले जस्तै प्रेम गरी नै रहे र परमेश्वरको बोलावटलाई पूरा गरेरै छाडे।  यस्तै दु:खी विवाहको उदारण हो रेभ जोन वेस्लिको विवाह।  इसाई जगतमा आज वेस्लिको बारेमा थाहा नभएका मानिसहरू थोरै होलान्।  तर उनी विवाहमा सफल र सुखी हुन सकेनन्।  उनको विवाहको सुरूवात नै राम्रो थिएन।  लामो समय सम्म अविवाहित रहेरै परमेश्वरको सेवा गर्ने निर्णय लिएका वेस्लिले अचानक ४७ वर्षको उमेरमा ४१ वर्षीय विधवा मेरी भाजेल्लेसँग वैवाहिक सम्बन्धमा बाँधिन पुगे।  धेरैले उनलाई यो विवाह नगर्न सुझाव दिएका थिए तर उनको जिद्दी थियो “यो परमेश्वरको इच्छा हो”।  सायद उनलाई नम्र बनाउने परमेश्वरको इच्छा नै थियो होला यो विवाह!  ३० वर्षको अवधिमा यो विवाहले वेस्लिलाई निकै रुवायो।  विवाहको सात वर्ष पछि पहिलो पटक मेरीले उनलाई छोड्छिन् तर पछि फेरी आफै फर्केर आउँछिन् र तेस्रो पटक छोड्दा वेस्लिले आफ्नो डायरिमा लेखेका छन् “मैले तिमीलाई छोडेको होइन, जा भनेको पनि होइन, र फर्केर आइजा पनि भन्ने छैन”।[1]  त्यसपछि उनी फर्किन पनि फर्किनन्।  हुन त वेस्लिका पनि पतिको नाताले कम्जोरीहरू थिए कारण विववाहापूर्व नै उनले भनेका थिए कि उनी जीवनमा कहिल्यै पनि अन्य वैवाहिक पतिले जस्तै आफ्नी पत्नीसँग समय बिताउने छैनन् कारण उनलाई परमेश्वरले सुसमाचार प्रचार गर्न बोलाउनुभएको हो।  यस्तो व्यक्तिले त विवाह नै नगर्नु पर्ने थियो।  उनका मित्रहरू र विषेश गरी उनका भाइ चार्लसले त उनलाई वैवाहिक सम्बन्धमा नबाँधिन धेरै खुसामद गरेका थिए।  त्यो बेला उनले कसैको कुरा सुनेन्।  त्यति मात्रै नभएर घरमा श्रीमतीलाई एक्लै छोडेर अन्य महिला प्रचारकहरूसँग सेवामा हप्तौं बिताउँदा एकलोपनाले गाँजिएकी श्रीमतीको मनमा अनेकौं शङ्काहरू उठ्ने नै भए।  वेस्लि र महिला मित्रहरू बिचको ममतापूर्ण पत्राचारले ती शङ्काहरूलाई झन् टेवा पुर्‍यायो।  वेस्लिले यो कहिल्यै बुझेनन्।  उल्टै श्रीमतीलाई दोष दिएर एकोहोरो सेवामा लागि नै रहे।  सुसमाचारको लागि र मण्डलीको लागि उनले धेरै ठूलो काम गरे तर विवाहमा असफल भए।  यस्तो असफल विवाहमा रहेर भए पनि सेवामा त्यत्रो ठूलो सफलता हासिल गर्नु भनेको साधारण कुरा थिएन।  वस्लि एक बहादुर पुरुष नै थिए।

हो, वेस्लिको विवाह असाधारण नै थियो तर लोग्ने-स्वास्नी मिलेर विवाहलाई राम्रो बनाउने निर्णय गरेको खण्डमा प्रत्येक विवाहमा चरम सुख, शान्ति, आनन्द प्राप्त गर्नुकासाथै परमेश्वरको राज्यको लागि पनि महान काम गर्न सकिन्छ।  श्रीमानले आफ्नी श्रीमतीलाई ख्रीष्टले मण्डलीलाई प्रेम गरेझैं र श्रीमतीले आफ्नो श्रीमानको मण्डलीले ख्रीष्टको आदर गरेझैं आदर गरेको खण्डमा त्यो विवाह अतिनै आशिषमय हुन जान्छ।  आशिषमय विवाहमा जन्मेका र हुर्केका छोराछोरीहरू आफ्नो जीवनमा सफल परिवार निर्माण गर्न सक्छन्।  सफल परिवार निर्माण गर्दै अघि बढेको इसाई समाजमा परमेश्वरको राज्य पनि फैलिदै जान्छ।  त्यसैकारण होला कि यदि कसैले आफ्नो परिवार असल तरिकाले सन्चालन गर्न सक्दैन भने ऊ मण्डली सन्चालन गर्न योग्यको हुँदैन भनेको (१तिमोथी ३:५)।

[1] Journal for Wednesday, January 23, 1771.

No comments:

Post a Comment