![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhTm5a4xviKcz023Hw5rxYXbklYj1O8_IL3ZHMnf1Vrqa2JKxqpwN9YOyPthfi7QJT6txo5IDKuyTTa-P4aYGnnaYwVEmJxzONeFGeEVTiV2FvvoSR27lDrTbyFMXAaoMxlsU_yuqd7mvY/s400/Albert_Anker_-_Schnapstrinker.jpg)
आज खराब
स्वास्थ्यको कारण साप्ताहिक सेवामा जान सकिएन।
जीवनमा विरलै यसरी आराधना सेवामा अनुपस्थित भएको छु। बिहानको १० बज्यो, बाहिर टन्टलापुर घाम लागेकोछ। श्रीमतीले नास्ता बनाएर टेबुलमा राखेर चर्च
गएको पनि दुई घण्टा भैसक्यो तर खाने मन पटक्क छैन। हामी बसेको टोलमा रहेको चर्चको आराधनामा गाएका
भजनहरूको मधुरो आवाजले मन निकै खल्बलिरहेकोछ।
बिस्तरामा जता फर्के पनि चित्त नबुझ्दा छेउमै रहेको ल्यापटप तानी यो मनमा
उठेका छालहरूलाई शान्त पार्ने प्रयास गर्दैछु।
तर कताबाट सुरू गर्ने थाहै छैन।
जब म शरीरमा
कम्जोर हुन्छु तब कता कता जीवनको समीक्षा गर्नतिर लाग्छु कारण एक दिन मैले यो
शरीरलाई बिदा दिनै पर्नेछ। केही गरी सोचेको
भन्दा छिटै येशूलाई भेट्नु परेको खण्डमा प्रभुले मलाई के भन्नुहुन्छहोला भनेर
कल्पनाको संसारमा डुब्छु।
आज भने मलाई
मातृ भूमिको धेरै याद आइरहेको छ। म
हुर्केको गाउँ (डोटी, जोरायलको सेगुनी) छोडेको पनि चार दशक भए छ। आज सम्म एक पटक पनि फर्केर जाने मौका मिलेको
छैन। त्यसपछि बुडर डोटी हुँदै कैलाली धनगढी
छोडेको ३१ वर्ष भैसकेछ। बेलाबखत आवत जावत
गरिरहेको भए पनि काठमाण्डो छोडेको १५ वर्ष भए छ भने कोरिया छोडेको पनि ४ वर्ष हुनै
आँट्यो। हाल आसामको उखरमाउलो गर्मीका
बाबजुद एउटा मण्डली स्थापना भैसकेको छ र अब कुन दिन प्रभुले फेरी झिटीझाम्टी बोकेर
यहाँबाट अन्त कतै जा भन्नुहुन्छ त्यसैको पर्खाइमा छु। उमेरले डाँडा काटेको कारण पनि होला, कहिले काहिं
प्रभुसँग गुनासो गर्दै भन्न मन लाग्छ “मैले बिउ मात्र कति छर्नु, कटनी गर्ने मौका
पनि दिनुहोस् न प्रभु। आराम गर्ने मौका
पनि दिनुहोस् न प्रभु। यो अभाव र अनिश्चितता
बाट छुटकारा दिनुहोस् न प्रभु”। तर यो गुनासो
पोखाइनसक्दा नै मेरो मनले मलाई मेरो सेवाका सुरूका दिनमा लैजान्छ र अचानक गुनासो
गर्ने कुनै कारण भेटाउँदिनँ।
हिन्दु साधुको
जीवनमा आधारित “आगोले जवाफ दिने परमेश्वर” नामको पुस्तकले येशूलाई मेरो मुक्तिदाता
भनी स्वीकार गर्न ढोका खोल्यो भने जोन बनियानको “पिल्ग्रिम्स प्रोग्रेस” (तिर्थ
यात्रीका कदम) ले सम्पूर्ण जीवन येशूकै सेवाको लागि अर्पित गर्न मदत गर्यो। भारतका लागि आफ्नो जीवन दिने बेलायती मिसनरी
विलियम केरी, बर्माका लागि जीवन दिने अमेरिकी मिसनरी अडोनिराम जड्सन, चीनका लागि
जीवन दिने बेलायती मिसनरी हड्सन टेलर जस्ता सयौं प्रभुका दासहरूले मेरो कलिलो मगजमा
त्याग र बलिदानको जीवन अपनाउन अटल प्रेरणाको छाप लगाई सकेका थिए। उहाँहरूको दुःखको तुलनामा मेरो त एउटा केस पनि
झरेको छैन। हो, मेरो वाल्यकाल दुःखदायी थियो।
हो, सेवाका सुरूवातका दिनमा विदेशी मिसनरीहरूका
साथै केही स्वदेशी पास्टरहरूले दुःख दिन सम्म दिए। हो, घटिकमि र अभावहरू जीवनका पाटाहरू बने। तर विगतको समयमा आफ्नो सर्वस्व त्याग्दै जीवनको
बाजी लगाएर परमेश्वरको बोलावटमा स्थीर रहने मिसनरी, पास्टर, प्रचारकको तुलनामा
मैले त गुमाउनुको सट्टा धेरै कुराहरू प्राप्त गरेको छु। आफ्नै जीवनकालमा मैले छरेका बिउहरू उम्रेर फल फलेको
हेर्ने सौभाग्य प्रभुले दिनुभएको छ।
धनगढीको कलवरी
एजी चर्चको सुरूवातका दिनमा मैले पनि पसिना बगाउने मौका पाएको थिएँ। आज त्यो चर्च गजबले मौलाएको छ। भारतको नयाँ दिल्ली स्थित नेपाली एजी चर्चका सुरुवातका
दिनमा त्यहाँ पनि पसिना बगाउने मौका पाएको थिएँ।
आज त्यो चर्च पनि मौलाएको छ।
काठमाण्डो आशा चर्च र छोरी चर्चहरूमा प्रभुले दिनुभएको आशिष् देख्दा आफू त्यसको
अयोग्य भएको ठान्दछु। कोरियामा तीन वटा नेपाली
सङ्गतिहरू सुरू गर्दा पसिना बगाउने मौका मिलेको थियो। आज तीनै वटा सङ्गतिहरू राम्रोसँग चलिरहेकाछन्। साथै एउटा बन्द हुनै लागेको अन्तराष्ट्रीय चर्चलाई
६ वर्षसम्म सेवा पुर्याएपछि आज त्यो चर्च थेजन सहरमै उदाहरण बनेको छ। गुवाहाटीमा छरेको बिउले पनि टुसा हाल्न थालेको
छ।
यु-ट्युब र फेसबुकको
आविस्कार सँगै हजारौं मित्रहरूसँग परमेश्वरको वचन बाँड्न पाउँदा धेरै खुसी लाग्छ। लेखहरू र पुस्तकहरू बाट पनि परमेश्वरले दिनुभएको
बोलावटलाई पूरा गर्ने अवसर परमेश्वरले दिनुभएको छ। मेरो एकलोपनालाई दूर गर्न प्रभुले असल श्रीमती
र छोरा दिनुभएको छ। जहाँ गए पनि मण्डलीको
सेवामा सहयोग गर्न उत्तम सहकर्मीहरू दिनुभएको छ र शारीरिक रूपमा भेट हुन नसके पनि
संसारमा छरफस्ट भै बसेका हजारौं सुभचिन्तक र प्रार्थनामा सम्झने विश्वासी मित्रहरू
प्रभुले दिनुभएको छ। त्यसकारण गुनासो
गर्ने कुनै कारण छैन।
यतिका आशिषहरू
गन्दा जीवनमा बाँकि रहेका दिनमा अँझ बढी समर्पित जीवन बिताउने जोस जागेर
आउँछ। उमेरले डाँडा काटोस् या नकाटोस्,
त्यसको कुनै पर्वाह छैन। भोलि गुवाहाटी
छोडेर अन्त कतै जा भन्नुभएको खण्डमा मेरो झोला सधैं तयार छ। शरीरमा एक मुठी सास रहुन्जेल परमेश्वरले दिनुभएको
तोडालाई आफ्नो स्वार्थको लागि नभएर उहाँ कै महिमाको लागि लगानी गरी नै रहनेछु ताकि
अन्त्यको समयमा हिसाब बुझाउँदा भन्न सकुँ “प्रभु, तपाइँले मलाई पाँच तोडा दिनुभाको
थियो, मैले तपाइँको लागि दश बनाएर ल्याएकोछुँ”।
प्रिय पाठक,
प्रभुले तपाइँलाई दिनुभएको तोडालाई के गर्दै हुनुहुन्छ? कसको र कहाँको लागि जीवन बिताउँदै
हुनुहुन्छ? संसारमा तपाइँले थुपारेका सबै
थोक छोडेर जानुपर्नेछ तर येशूको लागि गर्नुभएका सबै कुराहरू तपाइँको लागि स्वर्गमा
साँचिएर राखिनेछन्। येशूको नाउँमा कसैलाई दिनुभएको
एक गिलास चिसो पानीको पनि प्रभुले लेखा राख्नुहुन्छ।
© Bhojraj Bhatta
No comments:
Post a Comment