August 15, 2019

माइन्ड योर ओन बिजनेस!


जीवन छोटो छ भनेर हामीलाई कसैले भनी रहनु नपर्ने हो।  आफैले दिन गन्न जान्नुपर्ने हो।  तर हामी मध्य धेरैले आफ्ना दिन गन्न जानेका हुँदैनौ या गन्न चहाँदैनौ पनि।  लाग्छ कि मृत्युको बारेमा सोचेन भने सायद त्यो हामीबाट टाढै रहनेछ।   बाइबल भन्छ कि आफ्ना दिन गन्न नजान्ने व्यक्ति मुर्ख वा निर्बुद्धी हो।

त्यो व्यक्तिले आफ्ना दिन गन्न जान्दैन जसको जीवनमा उद्देस्य हुँदैन।  उद्देस्यहीनताले समय गएको थाहा पाउँदैन।  आज भोलि भरे भन्दै कित ऊ बुढ्यौलीको दास बन्न पुग्छ कि अकालै मर्छ।


येशू ख्रीष्टलाई मुक्तिदाता भनी स्वीकार गर्ने प्रत्येक व्यक्तिले आफ्नो जीवनको उद्देस्य पत्तालगाएको हुनुपर्छ कारण बाइबलमा त्यो उद्देस्य स्पस्टरूपमा उल्लेख गरिएकोछ।  मत्ती र मर्कूसको पुस्तकमा त्यो उद्देस्यलाई संसारभरि येशूको सुसमाचार प्रचार गर्नु भनिएकोछ भने प्रेरितको पुस्तकमा त्यसलाई “संसारभरि मेरा (येशूका) साक्षी हुनेछौ” (१:८) भनिएकोछ।  त्यसकारण यो निश्चय छ कि एउटा ख्रीष्टियन संसारमा रहनुको उद्देस्य येशूको गवाही बन्नु हो।  येशूको गवाही बन्न नचहाने व्यक्ति ख्रीष्टियन हुनसक्दैन। 

येशूको गवाही बन्नु भनेकै उहाँको प्रतिनिधि बन्नु हो।  येशूको आत्मिक अस्तित्वलाई शारीरिक जीवनमा प्रतिविम्बित गर्नु हो।  येशूको बारेमा ज्ञान नभएको मानिसले जब एउटा ख्रीष्टियनलाई भेट्दछ तब उसले येशूलाई देख्दछ।  येशूलाई देखे पछि उसले विश्वास गर्ने वा नगर्ने निर्णय उसको आफ्नो हातमा हुन्छ तर येशूको बारेमा म अनभिज्ञ छु भनेर उसले भन्न सक्दैन।  त्यसकारण येशूलाई नचिन्ने मानिसको सामु येशूको गवाही बनेर जीवन जिउनु एउटा ख्रीष्टियनको मुख्य उद्देस्य हो र हुनै पर्छ।    

येशूको गवाही बन्न एउटा ख्रीष्टियनले आफ्नो मन, वचन, र कर्मको ख्याल गर्नु पर्छ।  गैर ख्रीष्टियन मित्रको मुक्तिको लागि मनबाटै चिन्ता जागेर आउनुपर्छ।  परमेश्वरको प्रेमले मित्रहरूलाई सुसमाचार सुनाउन हृदयबाटै प्रेरणा जागेर आएको हुनुपर्छ।  परमेश्वरको प्रेम बाहेक अन्य कुनै मनासयले सुसमाचार सुनाउनु हुँदैन।  जब हाम्रो मनासय ठिक हुन्छ र प्रेमबाट प्रेरित हुन्छौं तब हाम्रो बोली वा भाषामा मिठास आउँछ।  बोलीमा यथार्तता र मिठास भएको मानिसको व्यवहार पनि असल हुनजान्छ।  सुन्नेहरूले भनेको कुरालाई गम्भिरतापूर्वक लिन्छन्। 

येशूको गवाही बोलेर भन्दा उदाहरणीय जीवनबाट बढी प्रभावकारी हुन्छ।  सज्जन व्यक्तित्व, सुखी परिवार, वफादार मित्रता, सत्यवादी र मेहनती जीवनशैली भएको व्यक्तिलाई सबैले मन पराउँछन्।  जीवनका यी असल गुणहरू आफै उत्पन्न हुँदैनन्।  त्यसको लागि आत्मिक, बौद्धिक, र शारीरिक परिश्रम गर्नै पर्छ।  अल्छे मानिसमा यी गुणहरू हुँदैनन् जसको कारण उसले बढी बोलेर मानिसलाई प्रभावित पार्न खोज्छ।  उदाहरणीय जीवनविनाको सुसमाचार प्रचारको परिणाम नकरात्मक हुनजान्छ।

अल्छेपना जीवनलाई नाश गर्ने एक भयानक रोग नै हो।  बाइबलले त अल्छे मानिसलाई खाना पनि नखानु भनेको छ कारण आफ्नो पेट पाल्नको लागि अल्छेले अनावस्यकरूपमा अरूको काममा हात हाल्छ, अरूको कुरा काट्छ र मित्रहरूमा फाटो हालिदिन्छ।  जसरी अल्छेको जीवनमा भौतिक गरिबीले वास गर्दछ त्यसरी नै उसमा बौद्धिक र आत्मिक दरिद्रताले वास गरेको हुन्छ।  अल्छे ख्रीष्टियन येशूको गवाही बन्नुको साटो कलङ्क बन्दछ।

अर्कोतिर, मेहनत गर्ने ख्रीष्टियनको जीवनमा भौतिक, आत्मिक र बौद्धिक विकासको सिमा हुँदैन कारण परमेश्वर आफैले भन्नुभएको छ कि उहाँले आफ्ना मानिसका हातको मेहनतमा स्वर्गका ढोकाहरू खोलेर अपार आशिष् दिनुहुनेछ (व्यवस्था २८:१-१४)।

प्रत्येक विहान उठेर परमेश्वरको वचन अध्ययन, आराधना र प्रार्थना त्यो व्यक्तिले मात्र गर्न सक्छ जो मेहनती छ।  मण्डलीका सेवा संगति र प्रार्थना सभामा निरन्तर भाग लिन पनि मेहनत बिना सम्भव हुँदैन।  दीन दु:खी र असहायलाई मदत र परमेश्वरको राज्यको लागि योगदान पुर्याउन पनि मेहनत नै चाहिन्छ। 

मेहनती हातहरूमा परमेश्वरको आशिष आउँदछ।  त्यो व्यक्तिले जे पनि गर्दछ त्यसमा त्यो सफल हुन्छ (भजन १:३)।  तर अल्छेको जीवनमा दरिद्रता र विनाश उसले सोचेको समय भन्दा चाँडै आइपुग्छन् (हितोपदेश २४:३३-३४)।

मेहनती मानिस नै येशूको उत्तम गवाही बन्दछ।  मन, वचन र कर्मद्वारा उसले येशूलाई प्रतिविम्बित गरिरहेको हुन्छ।  जब उसको संसार छोड्ने समय आउँदछ तब उसमा येशूलाई भेट्ने चहानाले तिब्ररूप लिन्छ।  रमाउँदै आनन्दमा उसले यो संसारलाई बिदा दिन्छ।
(c) Bhojraj Bhatta

No comments:

Post a Comment