सम्मानित र
शक्तिसाली घराना, मनले चाहेको सबै गर्न सकिने वैभव, सुन्दर र स्वस्थ शरीर, अनि
तेजिलो दिमाग कसलाई मन पर्दैन होला? विडम्वना
नै भनौ, संसारमा थोरैले मात्र यो मौका पाउँछन्। अधिकाङ्सलाई जीवनमा संघर्ष नगरी छाक टार्नै कठिन। केही न केही कुराले सबैलाई कैदी बनाएकै
हुन्छ। यो संसारमा हरेक दिन आफूले चाहेको
जस्तो गरी जीवन जीउन पाउने मानिस भेट्टाउन गाह्रै पर्ला। कहिँ न कहिँ, आज नभए भोलि मानिसले नचाहेरै पनि
जीवनका परिस्थितिसँग सम्झौता गर्नै पर्ने हुन्छ।
हर पल, हर दिन, र हर समय कुनै प्रकारको कमीविना जीवन जीउने चाहाना भएर पनि मानिसलाई
यो संसारमा त्यो जीवन जीउन सम्भव छैन। कसैको
जन्मै दुःखदायी, कसैलाई हुर्किंदै जीवनले ठग्छ, कसैले युवावस्थामा दुःखसँग सामना
गर्नु पर्ने, कसैको लाउँला खाउँला भन्ने उमेरमा सबैकुरा हुरीले उडाएर लान्छ त कोही
दुःखलाई साथमै लगेर चिहानमा जान्छन्। दुःख
मानिसलाई मन पर्दैन तर यसले मानिसलाई छोड्दैन पनि।
मानिसको डर नै
जीवनमा दुःख आउँछ कि भन्ने हुन्छ। दुःख
नआओस् भनेर नै सन्तानलाई असल, इमानदार र मेहनती बन्न सिकाइन्छ। दुःख नपाउन् भनेर नै तिनीहरूलाई पढाइन्छ र दक्ष
बनाइन्छ। किसानले घाम, पानी, झरी र जाडोमा
सकि नसकि बालीनाली लाउनु र कटनी गर्नुको कारण दुःखलाई जीवनबाट परै राख्नको लागि
हो। व्यापारी होस् वा जागिरे, सबैले
दुःखलाई परै राख्नको लागि दुःख गरिरहेका हुन्छन्। कति त आफू सुखमा बस्नको लागि अरूलाई दुःख
दिन्छन्। आफू बाँच्न अरूलाई मारिरहेका
हुन्छन्; अरूको सुखलाई चोरीरहेका हुन्छन्।
सुख प्राप्त गर्नको लागि मानिसले असल र खारब केही भन्दैन; दुष्टताको सिमा
तोडेर आफ्नो भन्दा अरूको जीवनलाई नारकीय बनाउन पछि पर्दैन। जसरी हुन्छ जीवनबाट दुःखलाई हटाएर सुखलाई
निम्त्याउनु नै मानिसको उदेस्य बन्न गएको छ।
तर यो संसारमा त्यो उदेस्य कसैले पनि प्राप्त गर्न सकेको छैन। दुःखलाई विर्सन कतिले मदिरा सेवन गर्छन्, कति
वनवास हुन्छन्, कति दार्शनिक हुन्छन्, कति के कति के।
यदि मानिसलाई
दुःख मन पर्दैन भने सायद मानिस दुःखका लागि बनिएकै हैन कि? सायद उ सुखका लागि बनिएको हो कि? हामी बसेको संसारमा साँचो सुख प्राप्त गर्न
सम्भव छैन भने कुन संसारमा त्यो सुख प्राप्त गर्न सकिन्छ होला? लौकिक संसारमा यदि यो सम्भव छैन भने, के हामी
अलौकिक संसारको आशा गर्न सक्छौं त? यदि
त्यहाँ सुखमय अलौकिक संसारको अस्तित्व छ भने, त्यो संसारमा हामी कसरी जान सक्छौं?
यो संसारको
दुःखले चलाउने सबै भन्दा ठूलो हतियार नै भोक-प्यास हो जस्तो लाग्छ।
पेट पाल्नैको लागि मानिसले आफैलाई कसैको दास, कसैको नोकर, कसैको कैदी भएर
जीउनुपर्ने। पेट पाल्नैको लागि खतरा र
जोखिम उठाउनुपर्ने। पेट कै लागि आफ्ना र
आफन्तहरूबाट विछोडिएर विदेशी भुमिमा पसिना बगाउनुपर्ने। गास, बास र कपासको समस्याको सामाधान नहुन्जेल मानिसलाइ
ऐस-आरामाकोबारेमा सोच्ने फुर्सद पनि हुँदैन।
जब सम्म पेट भरिएको हुँदैन र शरीरमा न्यानो लुगाफाटो हुँदैन तब सम्म सुख र
मनोरन्जनले जीवनमा कुनै माने राख्दैनन्।
बाइबलले पनि भन्छ
कि मानिसलाइ परमेश्वरले दुःखको लागि बनाउनुभएको होइन। पापमा फस्नुभन्दा पहिले मानिसलाइ दुःख भन्ने
कुरा थाहै थिएन। यो संसारमा अनन्त सुखका साथ
रहन परमेश्वरले उसलाई बनाएको थियो तर पापको कारण मानिसले त्यो सुख, त्यो वैभव
गुमायो र संसार उसका लागि वैरी हुनगएको तथ्य बाइबलले प्रकाशित पारेको छ। धर्तीले उसका लागि काँडा र सिउँडी उमार्ने र
निधारको पसिनाले पेट पाल्नुपर्ने परमेश्वरीय सरापको कारण मानिसलाई यो संसारमा सुख
प्राप्त गर्ने कुनै सम्भावना नभएको कुरा बाइबलले प्रस्ट पारेको छ। पापको ज्याला मृत्यु हो भन्ने कुरा थाहा पाएरै
मानिसले पाप गर्यो र सुखमय जीवनबाट वन्चित हुनगयो।
तर बाइबलले
बताएको परमेश्वर गजबको हुनुहुन्छ! पापमा
पतन भएर दुःख र मृत्युको दास बनिसकेको मानिसलाइ उहाँले प्रेम गर्न छोड्नु भएन। मानिसको पाप क्षमा गर्न उहाँ आफै मानिस बनेर
आउनुभयो; क्रूसको मृत्युद्वारा उसको पापको ज्याला तिरिदिनुभयो। बाइबल भन्छ “हामी पापी छँदै ख्रीष्ट हाम्रा
निम्ति मर्नुभयो” र “उहाँमाथि विश्वासगर्ने कोही पनि नाश हुने छैन”। काँडा र सिउँडी र निधारको पसिनाको सरापबाट पनि
येशूले मानिसलाई छुट्कारा दिएको तथ्यलाई बाइबलले यसरी बताउँछ; “हाम्रा निम्ति सराप
बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको सरापबट मोल तिरेर छुटाउनुभयो...ताकि
अब्राहामलाई दिएको आशिष् हामीमा आओस्”।
पाप र सराप बाट मुक्ति पाएको मानिसले अब पेट पाल्न पसिना बगाउनुपर्ने
वाध्यता छैन कारण “मानिस रोटीले मात्र होइन तर परमेश्वरको मुखबाट निस्केको वचनले
बाँच्दछ”।
येशू प्रभु
आफैले भन्नुभयो “जीवनको रोटी म हुँ। मकहाँ
आउने भोकाउनेछैन, र ममाथि विश्वास गर्ने कहिल्यै तिर्खाउनेछैन”। यो संसारमा रोटीकोलागि पसिना बगाउनेहरूलाई
उहाँले भन्नुभयो “नष्ट हुने भोजनको निम्ति परिश्रम नगर, तर अनन्त जीवनसम्म रहने
भोजनको निम्ति परश्रम गर”। यस्तो रोटीको
लागि कस्तो परिश्रम गर्ने भन्न प्रश्नमा उहाँले जवाफ दिनुभयो “ममाथि विश्वास गर”। येशूमाथि विश्वास गर्ने मानिस न भोकाउनेछ न
तिर्खाउने। पूर्ण सन्तुष्टिका साथ जीवन
विताउनेछ।
यसको मतलब
ख्रीष्टियनहरू खान खाँदैनन् र पानी पनि पिउँदैनन् भन्न खोजेको होइन। तर जीउनुको उदेस्य रोटीको लागि नभएर येशूको
लागि हुन जान्छ। उसका पापबाट मुक्तिदिने
येशू ख्रीष्टको सेवाको लागि मानिस जीउँछ कारण उहाँमाथि विश्वास गर्नेका निम्ति यो
संसार मात्रै अन्तिम संसार होइन। अनन्त,
सुखी र कहिल्यै दुःख नहुने संसारमा जाने बाटो पनि येशूले म नै हुँ भनेर यसरी
भन्नुभएको छ; “बाटो, सत्य र जीवन म नै हुँ”।
मानिसलाई पापबाट मुक्ति दिएर सबै सराप र दुःखबाट पनि उहाँले मुक्ति
दिनुभएको कारण मानिसले निधारको पसिनाको कमाइबाट पेट पाल्नुपर्दैन। उसको पेट पाल्ने जिम्मा येशूले लिनुभएको
छ। गास,बास र कपासकोबारेमा येशूले
भन्नुभयो “पहिला ईश्वरको राज्य र उहाँको धार्मिकता खोज र त्यसपछि यी सबै थोक
तिमीहरूलाई दिइनेछन्”।
त्यसकरण,
येशूमा विश्वासगर्ने किसानले पेटकोलागि किसानी गर्दैन, परमेश्वरको लागि गर्छ। व्यापारीले पेटको लागि व्यापार गर्दैन,
परमेश्वरको लागि गर्छ। जागिरेले पनि हाकिम
वा मालिकको लागि होइन परमेश्वरको लागि गर्छ।
जसले जे गर्छ त्यो सबै परमेश्वरको लागि गरेको कारण न कसैसँग दुष्मनी गर्नु
पर्याछ, न कसैसँग प्रतिस्पर्दा। विश्वास गर्ने
मानिसको हातको सबै मेहेनतमा आशिष् दिने प्रतिज्ञा परमेश्वरले गर्नुभएकोछ। संसारमा रहुन्जेल जीवनमा दुःख, घटीकमी र अभाव
आए पनि केवल छोटो समयको लागि मात्रै हो कारण येशूमा विश्वास गरेर जीउने मानिसको
लागि उहाँले वचन दिनुभएको छ कि यदि हामीले हृदयबाटै उहाँको राज्य र धार्मिकता
खोजेको खण्डमा उहाँले हामीलाई यसै संसारमा पनि दुःख मुक्त जीवन जीउने शक्ति
दिनुहुनेछ। बाइबल भन्छ “परमप्रभुको
आशिष्ले धन-सम्पत्ती ल्याउँछ, अनि उहाँले त्यसमाथि दुःख थप्नुहुन्न” (हितोपदेश
१०.२२)।
No comments:
Post a Comment