![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEirHtTnmAGxDh3xOYjGczJ7osFBXuLwh1U2v2KydYkhL2tILGI0_dTxSnF4yXqc7o5qBxvrUxTyr41j55-oIVMrPROg1B-nVo0duYOej_XkDpWYZ3rWuBuVmhF8Ru4JS5eiiIutMYmsrCo/s400/%25E0%25A4%259C%25E0%25A4%25AC+%25E0%25A4%25B6%25E0%25A4%25A4%25E0%25A5%258D%25E0%25A4%25B0%25E0%25A5%2581.png)
बेला बेलामा
आफूप्रति दश जना दाजुहरूले गरेको व्यवहार देखेर योसेफलाई ताजुब लाग्थ्यो। सायद म कान्छो भएकै कारण उनीहरूले यस्तो गरेको
होला भन्दै दाजुहरूको निर्दयी व्यवहारलाई उनले खासै गम्भीरतापूर्वक लिएनन्।
एक दिन सबै
जना दाजुहरू वस्तुभाउ चराउने क्रममा घरबाट निकै टाढा पुगेको केही दिन भैसकेको थियो। बुबाको आज्ञा अनुसार योसेफ घरबाट उनीहरूका लागि
केही सामल पुर्याउन र बाबुका लागि गोठाला र वस्तुभाउको खबर ल्याउन निस्के। याकूबले प्राय: योसेफ र बेन्यामिनलाई आफैसँग
राख्थे तर त्यो दिन योसेफलाई नपठाइ भएन।
आफ्नो लागि सामल
लिएर आइरहेको योसेफलाई दाजुहरूले टाढैबाट देखे।
त्यो दिन योसेफले महँगो खाले लुगा लाएका थिए। योसेफ बाबुको प्रेम पात्र बनेको, इमानदार
चरित्रको र परमेश्वरले उनको भविस्यको लागि महान योजना प्रकट गरेको कारण दाजुहरूलाई
पहिले नै रिस उठेको थियो तर आज उनले लाएको त्यो महँगो लुगा देख्ने बित्तिकै
उनीहरूको रिसले सिमा नाँघ्यो।
दाजुहरूलाई
अभिवादन गर्दै योसेफले काँधको भारी भुइँमा राखेर सास मात्र के लिएका थिए अचानक
दाजुहरू उनी माथि झम्टिन्छन्। योसेफले
सोचे कि उनिहरू ठट्टा गर्दैछन्।नभन्दै
उनलाई त मार्न पो खोजेका रहेछन्।
रूबेनदाइको कारण ठाउँको ठाउँमै त मारेनन् तर कसैले नदेख्ने पानी सुकेको
कुवामा उनलाई जिउँदै फालिदिए। त्यो
कुवाबाट आफै बाहिर निस्कने कुनै सम्भावना थिएन।
योसेफलाई अँझै पनि विश्वास थिएन कि दाजुहरूले उनलाई मार्न कै लागि त्यहाँ
फालेको हो भनेर। रिस मरे पछि निकाल्छन्
होला भन्दै योसेफ खाल्डोमा पर्खी रहे। तर
समय बित्दै जाँदा उनी आत्तिन थाले।
चिच्याई चिच्याई बोलाउँदा कसैले पनि माथिबाट जवाफ नदिएको देख्दा उनको मुटु
काम्न थाल्यो। न ठट्टा न क्षणिक रिस। मार्न कै लागि दाजुहरूले आफूलाई त्यहाँ फालेको
कुराको वोध जब योसेफलाई हुन्छ तब उनको शरीर पुरै लुलो भएर भुइँमा खस्छ। जीवनमा के के नै गरौंला भनी साँचेका सपनाहरू
आँखामा झझल्किन्छन्। आफ्ना पिता याकूबले
विश्वास गरेका परमेश्वरलाई पनि सम्झन्छन्।
सपना हो कि
विपना योसेफलाई ठम्याउनै गाह्रो भैरहेको बेला माथिबाट एउटा आवाजले उनलाई
बोलाइरहेको सुन्छन्। नभन्दै माथिबाट
फालेको डोरी उनको छेउमै हल्लिरहेको थियो।
अर्ध-विचेत अवस्थामा भएभरको तागत लगाएर उनी त्यो डोरी समात्दै कुवाबाट
बाहिर निस्कन्छन्। आतङ्कित हुँदै
दाजुहरूको अनुहार नियाल्छन् तर कसैको अनुहारमा पनि दया वा खेदको संकेत थिएन। तापनि मृत्युको मुखबाट छुटेको कारण उनमा आशा
पलाएर आयो र मनमनै परमेश्वरलाई धन्यवाद दिनथाले।
तर त्यो आशा एकै निमेषमा निराशामा परिणत भयो। हेर्दा हेर्दै निर्दयी दाजुहरूले उनलाई
मिध्यानी व्यापारीहरूका हातमा चाँदिका बिस टुक्रामा दास बनाएर बेचिदिए। मिध्यानीहरूले लगेर उनलाई मिश्रको दास बजारमा
बेचे र योसेफको जीवन दिनानुदिन दु:खदायी हुँदै गयो। दासत्व र दु:खको भुमरीमा योसेफले धेरै वर्षहरू
बिताए।
उदेकलाग्दो
कुरा, मिश्रको झ्यालखानामा कैदी जीवन बिताइरहेको बेला परमेश्वरले उनका दु:खलाई
अन्त्ये गरेर मिश्रको प्रशासक बनाउनुभयो!
दास र कैदीको जीवनबाट अचानक मिश्रको प्रधान मन्त्री बन्न पुगेकोमा योसेफ
आफैलाई कस्तो कस्तो लागिरहेको थियो। सपना
हो कि विपना भने झैं भैरहेको बेला वर्षौं अघि देखेको सपनाको याद आउँछ। बुबा याकूबले त भनेका थिए कि उनले देखेको सपना
अनुसार यस्तो दिन आउनेछ जसमा आमा-बाबु र दाजु-भाइहरूले उनलाई दण्डोवत गर्नुपर्नेछ। त्यो दिन आउन नदिनको लागि नै दाजुहरूले उनलाई
मार्न खोजे तर मार्न नसके पछि दासको रूपमा बेचेका थिए। कस्तो अचम्म, त्यो दिन आएरै छाड्यो। विभिन्न देशका मानिसहरू आफ्नो प्राण बचाउन योसेफको
चरणमा पर्दै थिए!
सात वर्ष
सम्म रहने अनिकालमा दुई वर्षमै संसारमा हाहाकार मच्चियो। मिश्र देश वाहेक अन्य कुनै स्थानमा अन्नपात
रहेन। विभिन्न देशबाट मानिसहरू अन्न खरिद
गर्न मिश्रमा आउन थाले। कनान देशबाट याकूबले
पनि आफ्ना छोराहरूलाई अनाज किन्न मिश्र पठाए।
दाजुहरू देख्ने बित्तिकै योसेफले चिनिसकेका थिए तर तिनीहरूको हृदय जाँच्न
उनले लामो परिक्षा लिए। परिक्षाको अवधिभरि
योसेफ एकान्तमा धेरै पटक भकानिए र रोए पनि।
अन्तमा सहन नसकेपछि आफ्नो परिचय दाजुहरूलाई दिन्छन् तर उनका दाजुहरूको होस
हवास उड्छ। जुन भाइलाई घृणा गरियो, जुन
भाइलाई मार्न खोजियो, र जुन भाइलाई दासको रूपमा बेचियो उसैले भन्दैछ कि ऊ मिश्र
जस्तो शक्तिशालि देशको प्रधान मन्त्री हो रे!
योसेफ यति
रोए कि उनको रूवाहटले मिश्र देशमा हलचल मच्चियो।
सबै जना दाजु-भाइलाई अँगालो हालेर विलौना गरिसकेपछि उनीहरूलाई सान्त्वना
दिन योसेफ भन्छन्; “मेरो कारण तिमीहरू आफैलाई घृणा नगर, आफैलाई हानी पनि नगर कारण
मलाई मिश्रमा दास बनाएर बेच्ने तिमीहरू होइनौं।
परमेश्वरले हामी सबैको प्राण बचाउन मलाई यहाँ पठाउनुभएको हो। तिमीहरूले मेरो हानी गर्न चाह्यौ तर परमेश्वरले
त्यो हामी सबैको लागि भलाइमा परिणत गर्नुभएको छ”।
धन्य योसेफ! आफ्ना हत्याराको हातमा पनि परमेश्वरको हात देख्ने
तिम्रा ति आँखाहरू कति महान! धन्य तिम्रो
त्यो निर्मल हृदय जसमा न द्वेष छ, न बदला, न तितोपना। आफूलाई चाँदिका बिस टुक्रामा बेच्नेहरू र मार्न
चहानेहरूलाई क्षमा दिएकै कारण होला तिमीलाई पुरानो नियममा येशूको प्रतिरूप
भनिएको।
शत्रुबाट
सताइनु अनौठो कुरा होइन र शत्रुलाई प्रेम गर भनी येशूले दिनुभएको आज्ञालाई पनि शिरोपर
गर्न हामीलाई धेरै मेहनत गर्नु पर्दैन। तर
जब आफ्नै भनौदाहरूले हामीलाई खाडलमा हालिदिनछन्, त्यतिबेला योसेफको उदाहरणले हामीलाई
धेरै ठूलो चुनौति दिन्छ। तापनि उनको
उदाहरणलाई पछ्याउनु भन्दा अर्को विकल्प हामीलाई दिइएको छैन। हुन पनि हो कि यदि ती आफ्ना भनौदाले खाडलमा
नफालेकोभए, तिरस्कार नगरेकोभए, धोका नदिएकोभए र हानी नगरेकोभए सायदै हाम्रो जीवनले
प्रगतिको मार्ग भेटाउँथ्यो होला। समस्या
त्यतिबेला आउँछ जब हामीलाई खाडलमा पार्नेहरूलाई क्षमा दिन सक्दैनौं। क्षमा दिन सकेनौं भने हामीलाई खाडलमा हाल्ने
व्यक्ति सफलताको शिखरमा पुगिसक्दा पनि हामी असफलताको खाडलमै अल्मलिरहेका हुनसक्छौं। शत्रुलाई क्षमा दिनु भनेको परमेश्वरको योजनामा
पूर्ण विश्वास गर्नु हो; चाहे त्यो शत्रुता शत्रुबाट आओस् वा मित्रबाट। परमेश्वर माथि भरोसा गर्ने मानिसका लागि उहाँले
शत्रुका सामु नै उसका लागि सफलताको टेबुल तयार पार्नुहुन्छ। त्यसकारण क्षमा दिनु भनेको परमेश्वरको सिद्ध
न्यायमा भरोसा राख्नु हो।
प्रिय पाठक,
यदि कसैले तपाईंलाई खाडलमा हालेको छ या थियो भने बदलाको भावना नभएर विश्वास र
क्षमाको भावनामा जीवन विताउनुहोस् र एक दिन आउनेछ जब परमेश्वरले त्यो व्यक्तिलाई
तपाईंको चरणमा पार्नुहुनेछ। तपाईंको चरणमै
परेन भने पनि सफलताको फेदबाट तपाईंलाई शिखरमा चढेको उसले देख्नेछ।
(C) Bhojraj Bhatta
Amen
ReplyDelete