आज त्यो
ठाउँलाई लिबिया भनिन्छ तर सिमोनको पालामा त्यसलाई कुरेनि भनिन्थ्यो। अफ्रिकाको उत्तरी भागमा अवस्थित यो देशले भूमध्यसागरलाई
छोएको छ। प्राचीन समयबाटै यसका समुद्री
तटवर्ती सहरहरूमा अफ्रिका, यूरोप र एसिया महादेशका मानिसहरूको आवत-जावत बाक्लै
हुन्थ्यो। रोमी साम्राज्यको उदय पछि
उत्तरी अफ्रिकी मुलुकहरू सबै रोमका उपनिवेश बने।
रोमी शासनकै समयमा यहूदीया बाट प्रवासी भै आएका झण्डै एक लाख यहूदीहरू पनि
कुरेनिमा बसोबास गर्दथे।
छरफस्ट भै बसोबास गर्दै आएका प्रवासी यहूदीहरू वर्षमा कमसेकम एक पटक र सम्भव भए तीन पटक सम्म यरूशलेमको मन्दिरमा परमेश्वरको आराधना गर्न पुर्ख्यौली भूमि यहूदियाको तिर्थ यात्रा गर्दथे। यहूदियाबाट कुरेनि तुलनात्मक हिसाबले त्यति धेरै टाडाको देश नभएको कारण यरूशलेममा पनि कुरेनिका मानिसहरूको आवत-जावत भइनै रहन्थ्यो। यिनीहरूको आफ्नै समुदाय र सभाघर पनि त्यहाँ रहेको अनुमान गरिन्छ। तिनीहरूका सभाघरमा मोशाको व्यवस्था र आउनेवाला मसीहाको बारेमा खुलेरै बहस गरिन्थ्यो।
निस्तारको
चाड मनाउनको लागि होला, कुरेनिवासी सिमोन पनि आफ्नो परिवार सहित यरूशलेम आउँदैथिए। उमेर चालिसको हाराहारीमा हुनुपर्छ। बाह्र-पन्ध्र पुगेका छोराहरू अलेक्ज्यान्डर र रूफसको
बारमिट्च्भा गर्न सायद सँगै ल्याएका थिए होलान्।
समुन्द्रको लामो यात्रा पछि निस्तार चाडलाई भ्याउने गरी उनी यरूशलेमको नजिकै
मात्र के आइपुगेका थिए, अनौठो हल्ला उनको कानमा पर्छ कि नासरतका येशू नै मसीहा
हुनुहुन्छ तर धर्मगुरुहरू र रोमी सरकारले उनलाई क्रूसमा चढाउनको लागि गलगथाको पहाडतिर लाँदैछन् रे।
प्रवासमा
बसेका यहूदीका लागि ‘मसीहा’ धेरै प्यारो सब्द हो।
त्यसैले होला सिमोन पनि त्यो सब्द सुन्ने बितिक्कै परिवारलाई बाटोमै राखेर
भिडतिर लाग्छन्। मानिसको घुईंचो थियो र
भिडलाई छिचोल्दै सिमोन रोमी सिपाहीहरूको घेरा सम्म आइपुग्छन्।
उकालो बाटोमा
मानिसहरू ठेलमठेला गर्दै सिपाहीले कसै एकजनालाई कोर्रा लगाउँदै धकेलिरहेको हेर्न
आँतुर गरिरहेका थिए। सिमोनको नजर पनि त्यो
मानिसमा पर्दछ जो कोर्राका चोटले घायल भएर भुइँमा लडेको थियो। रगत र पसिनाले उसको जिउ भिजेको र त्यसमाथि
काठको ठूलो क्रूसले थिचेको थियो। रोमी
सिपाहीहरूले उसलाई कोर्रा लाउँदै क्रूस बोक्नको लागि लडेको ठाउँबाट उठाउने प्रयास
गर्दै थिए। हुनत सिमोनले यस्तो क्रूरता
रोमी सहर कुरेनिमा पनि देखेको थियो तर मसीहा हुँ भनी दावी गर्ने मानिसलाई यसरी
ताडना दिएको देख्दा उनको मन टुक्रिन्छ।
तापनि, एउटा असहाय मुखदर्शक हुनुभन्दा उनले गर्न सक्ने केही थिएन।
सिमोनले
हेर्दै गर्दा येशूले सकिनसकि भुइँबाट उठेर क्रूसलाई आफ्नो काँधमा लिनुभयो। लामो सास लिनको लागि एकछिन मात्र के घोरिनुभएको
थियो सिपाहीको कोर्राले उहाँलाई फेरी गर्लम्मै भुइँमा लडायो। सिमोनले त्यो हेर्न नसकेर दुबै हातले आफ्नो
अनुहार छोप्छन्। कोलाहल मच्चाइरहेको भिडमा
पनि सन्नाटा छाउँछ। अनुहारबाट हात झिक्न
नपाउँदै कसैले आफ्नो कठालोमा समातेको सिमोनले महसुस गर्छन्। आँखा खोल्दा उनको होसहवास उड्छ। कुनै प्रकारको प्रतिक्रिया देखाउन नपाउँदै रोमी
सिपाहीले उनलाई मानिसको भिडबाट तानेर येशू लडिरहेको ठाउँमा ल्याइपुर्याउँछ (मर्कूस
१५;२१)।
येशूको
शरीरले त्यो क्रूसलाई गलगथासम्म पुर्याउन सक्ने सम्भावना नदेखेपछि सिपाहीले क्रूस
बोकाउन सिमोनलाई भिडबाट जबरजस्ती तानेको थियो।
तर सिमोन निकै आँत्तिन थाले कारण त्यो समयमा मृत्यु दण्ड पाएको मानिसले
मात्रै क्रूस बोक्ने चलन थियो। हुलहालमा
केही गरी आफैलाई त्यो क्रूसमा चढाइदिएको खण्डमा परिवारको के हाल होला भन्दै
सिमोनको नजरमा दुई छोरा र श्रीमतीको अनुहार झल्किन थाले। अक्कनबक्क भएर केही भन्न नपाउँदै सिपाहीले उनको
काँधमा क्रूस राखिदिन्छ। सायद सिमोनको
मनमा उठेको आँधि येशूले देख्नुभयो र आफू लडेकै ठाउँबाट सिमोनलाई हेर्नुहुन्छ। रगत र पसिनाले भिजेका आँखाबाट निस्केको त्यो
दयालु नजरले उनको मनको तुफानलाई अनौठो तवरले शान्त बनाइदिन्छ। डर, त्रास र चिन्ताले चटक्क छोड्छन् र अचानक एक
हातले काँधको क्रूसलाई सम्हाल्दै अर्को हात येशूलाई भुइँबाट उठाउन उहाँको हात
समात्न पुग्छ।
येशूको त्यो
नजर र छुवाइले सिमोनको मनमा अर्को तुफना आउँछ र उनी सोच्दछन् कि के येशू साँच्चै
मसीहा त होइनन्? यस्ता धेरै प्रश्नहरू
उनको मनमा उठिरहेका थिए तर क्रूसको भारी,येशूको दुःखाई र सिपाहीको डरको कारण
चुपचाप गलगथा पुगे। हेर्दाहेर्दै येशूलाई
क्रूसमा चढाइसकेपछि बल्ल सिमोनको होस आउँछ र बाटोमै छोडेको आफ्नो परिवारलाई सम्झन्छन्
र उनीहरूलाई खोज्न ओरालो लाग्छन्। आफू
मृत्युको मुखबाट उम्केको कुरा जब परिवारलाई बताउँछन्, तब परिवारमा रुवाबासी नै
चल्छ।
यो घटनाले
सिमोनको परिवारलाई सदाको लागि परिवर्तन गरिदियो कारण निस्तार चाड मनाउन आएका सिमोन
केही दिन सम्म डेराबाट बाहिरै निस्केनन्।
येशूको त्यो नजर र स्पर्सले उनलाई घरीघरी झस्काउन थाल्यो। उनको अन्तसकरणले भन्नथाल्यो कि यहूदी
धर्मगुरुहरू र रोमी सरकारले येशूलाई चिनेन।
उहाँ पक्कै पनि साधारण मानिस होइन भनी सोच्दा सोच्दै तीन दिन बितेछन्। तेस्रो दिनमा सुनिएको समाचारले उनको खल्बलिएको
दिमागलाई झनै खल्बलाइदियो कि येशू
मुर्दाबाट बौरी उठ्नुभयो रे!
येशू
मुर्दाबाट बौरी उठेको समाचार यहूदीयामा चारैतिर फैलिरहेको थियो। तर राजनीतिक र धार्मिक शक्तिले त्यो समाचारलाई
डर र धम्किको सहाराबाट दबाइरहेका थिए। यो
समाचार फैलाउने जसकसैलाई पनि सरकारले समातेर दुःख दिन सक्थ्यो। बौरी उठेको येशूसँग सरकार यसरी डराएको देख्दा
सिमोनको मनमा अनेक शङ्का उठ्नथाले। येशू
यदि एउटा साधारण अपराधी (मानिस) थिए भने राजनीतिक र धार्मिक शक्तिलाई किन यत्रो
त्रास? यो अन्यौलको अवस्थामा केही
हप्ताहरू कति छिटै बितेछन् सिमोनलाई पत्तो नै भएन। हेर्दाहेर्दै पेन्टिकोसको चाड पनि नजिकै
आइपुग्यो। कुरेनि फर्किन यसै ढीलो भैसकेको
कारण अब पेन्टिकोसको चाड मनाएरै फर्कने निर्णयमा पुग्छ सिमोनको परिवार।
पेन्टिकोसको
चाडलाई पहिलो फलको चाड पनि भनिन्छ जसमा यहूदीहरू खेती-किसानी देखि लिएर कमाइको सबै
पहिलो फल परमेश्वरलाई चढाउन यरूशलेमको मन्दिरमा लिएर आउँथे। देशविदेशबाट आएका यहूदीहरूको भिडले सहर पुरै
भरिएको हुन्थ्यो। यसपालि निस्तार र
पेन्टिकोसको चाड सँगै मनाउन पाउँदा सिमोनको परिवार धेरै खुसी थियो। यो रमाहटमै आमा-बाबु र दुई छोराहरू चाडको मुख्य
दिनमा मन्दिरतिर लाग्छन्। बाटोमा मानिसको
घुइँचो थियो तर अगाडि बढीरहेको भिड अचानक रोकिन्छ। सबैको नजर बाटोकै छेउको ठूलो घरतिर मोडिन्छ र
नभन्दै त्यो घरबाट अनौठो आवाजका साथै आगोका झिल्काहरू झ्यालबाट बाहिर निस्किरहेका
थिए। सुरूमा त सबैले आगलागी नै भन्ठाने तर
एकैछिनमा त्यो घरको भित्रबाट मानिसहरू आँगन, बार्दली र छतमा निस्कनथाले। उदेकलाग्दो कुरा चाहिँ के थियो भने ती
मानिसहरूका शीरमा आगोका जिब्राहरू थिए तर तिनीहरू जलिरहेका थिएनन्। त्यो छिमेक नै हल्लिने गरी ती मानिसहरू ठूलो
स्वरमा कराउन थाले। सिमोनले कान थापेर
सुन्दा तिनीहरू कुरेनि भाषामा बोलेको सुनियो।
हो कि होइन भनी निश्चय गर्न आफ्ना छोराहरूलाई सोध्छन् र उनीहरूले पनि
कुरेनि भाषामा नै ती मानिसहरूले बोलेको तथ्य स्वीकार गर्छन्।
निकै बेरको
कोलाहल पछि बार्दलीबाट एक जना ठूलो स्वरमा जमा भएको भिडलाई सम्बोधन गर्दै भन्छ कि
कसरी त्यतिबेलाका शासकहरूले नासरतका येशूलाई पचास दिन अघि निर्दोष हुँदाहुँदै पनि
निर्ममतापूर्वक क्रूसमा चढाएर मारेका थिए।
तर उहाँको मृत्युमा परमेश्वरको पूर्व योजना लुकेको थियो जस अनुसार येशू
आफ्ना अपराधको लागि नभएर संसारका मानिसको पापको बलिदान बन्न क्रूसमा चढाइनुभएको
थियो। मारिनुभयो, गाडिनुभयो र उहाँ तेस्रो
दिनमा मुर्दाबाट बौरी उठेर ती आगोले भरिएकाहरू सबैसँग चालिस दिन सम्म धेरै पटक
देखापर्नुभएको तथ्यलाई त्यो वक्ताले दाबी गर्छ।
मानिसका मुक्तिको लागि येशू मर्नुभएको कारण उहाँलाई क्रूसमा टाँग्नेहरूलाई
पनि उहाँले क्षमा दिनुहुनेछ भन्दै सबैलाई आफ्ना भुल स्वीकार गर्न वक्ताले आह्वान
गर्छ।
सिमोन पनि आफ्नो परिवारसँगै कान थापेर वक्ताको
कुरा सुनिरहेका थिए। जे उनीहरू सुनिरहेका
थिए त्यसले मन छिया छिया बनाइरहेको थियो। जुन्
येशूलाई सिमोनले क्रूस बोक्न सहयोग गरेको थियो उहाँ त संसारको पाप उठाई लैजाने
परमेश्वरको थुमा पो रहेछन्। यदि त्यो
बेलामै यो कुरा थाहा पाएको भए म मसीहालाई झन् कति सहयोग गर्ने थिएँ भन्दै सिमोन
छाति पिट्न थाले। तर वक्ताले यो पनि
स्पस्ट भने कि मसीहा तेस्रो दिनमा मुर्दाबाट बौरी उठेको कारण उहाँ जीवित हुनुहुन्छ
र परमेश्वरको दाहिने स्थानमा विराजमान हुनुहुन्छ जहाँबाट उहाँले आफ्ना
विश्वासीहरूलाई सहयोग गर्न पवित्र आत्मा पठाउनुभएको छ। उनै पवित्र आत्माको अगुवाइमा ज-जसले आफ्ना पाप
स्वीकार गरेर येशूको बलिदानमा विश्वास गर्दछन् तिनीहरूले नयाँ जन्म पाउनेछन् र
येशूलाई फेरी भेट्नेछन् भन्नेकुरा सुन्नेबितिक्कै हजारौं मानिसको भिडमा सिमोन र
उनको परिवारले पनि पापबाट पश्चताप गर्दै येशूको बलिदानमा विश्वास गर्छन्। त्यो दिन तीन हजार मानिसले येशूलाई विश्वास
गर्छन् र पहिलो मण्डलीको स्थापना हुन्छ।
यरूशलेमको
मण्डलीमा सिमोन र उनको परिवार रमाइरहेका थिए।
सिमोन कुरेनिवासी समुदायका मुख्य सेवक बन्नपुगे। श्रीमती र छोराहरूले पनि सम्पूर्ण जीवन येशूको
सेवामा समर्पित गरेको देख्दा सिमोन निकै आनन्दित थिए। केही समय पछि कुरेनिमा रहेको आफ्नो घर-जगा जे
जति थियो त्यो सबै बेचेर यरूशलेममा नै येशूको सेवा गर्ने निर्णय सिमोनले गरेको
हुनुपर्छ। तर दिनानुदिन हजारौंको संख्यामा
मानिसले येशूलाई विश्वास गरेको कुरा धर्माधिकारी र शासक वर्गलाई पचेन र मण्डलीलाई
नाश गर्ने निर्णय गर्छन्। बाहिरबाट आई
येशूमा विश्वास गर्नेहरूले नै मण्डलीमा बढी आर्थिक सहयोग गरिरहेको तथ्य थाहा पाए
पछि पहिला तिनीहरूलाई नै आक्रमण गर्ने निर्णय शासकहरूले गरे। तिनीहरूलाई खोजी खोजी घरबाट घिसारेरै
झ्यालखानामा हालियो त कतिलाई मारियो।
यो सतावटमा
जिउज्यान बचाउन कुरेनिबाट आएका विश्वासीहरू यरूशलेम छोडेर एन्टिओक सहरमा बसोबास
गर्न पुग्छन् (प्रेरित ११:२०-२१)। सिमोन
यरूशलेमबाट उम्कन सफल भए भएनन् केही भन्न सकिंदैन। कतिको अनुमान अनुसार सिमोन र उनको जेठो छोरा
अलेकज्यान्डर आफ्नो विश्वासको कारण यरूशलेममा मारिएका थिए । कान्छो छोरा रूफस आमासँगै एन्टिओक पुग्छन्। सतावट आउन अघिनै कुरेनिवासीहरू माझ सिमोनको ठूलो
प्रभाव परेको कारण कुरेनिकै लूसियस जस्ता येशूका सेवकहरूको जन्म भएको थियो जसले
एन्टिओक मण्डलीमा आफ्नो सेवालाई जारी राखे (प्रेरित १३:१)। एन्टिओकको मण्डलीमा हजारौंको संख्यामा
मानिसहरूले येशूलाई विश्वास गर्न थाले। त्यो
बढीरहेको मण्डलीलाई अगुवाइ गर्न यरूशलेमबाट प्रेरितहरूले बरनबासलाई पठाउँछन्। बरनबासले पावललाई टार्ससबाट खोजेर एन्टिओक ल्याए
र सायद तिनीहरू सिमोनका छोरा रूफस र उनकी आमासँग एउटै घरमा खानपिन गर्थे।
केही वर्षपछि
रोमको मण्डलीलाई पावलले पत्र लेख्दा त्यति बेला सिमोनका छोरा रूफस रोममा येशूको
सेवा गरिरहेका भेटिन्छन्। एन्टिओकमा सँगै
बसेको सम्झना गर्दै पावल लेख्छन्; “प्रभुमा चुनिएका रूफस र तिनकी आमा, जो मेरी पनि
आमा भएकी थिइन्, तिनीहरूलाई अभिवादन भनिदेओ” (रोमी १६:१३)। बाबु र दाजुको अनुपस्थिति पछि सायद पूर्वीय
प्रान्त छोडेर रूफस र आमा रोममा बसाइँ सरेर गएका थिए होलान् र उनीहरूकै प्रार्थना
र मेहनतबाट त्यहाँ पनि धेरै मण्डलीहरू सुरू भएका हुनसक्छन्।
सिमोन
कुरेनिले येशूसँग उहाँको क्रूस बोक्दा बिताएको क्षणले उनको मात्र जीवन परिवर्तन नभएर
यरूशलेमका कुरेनिवासीको, एन्टिओकका अन्यजातिको र रोमका रोमीहरूको पनि जीवन
परिवर्तन हुनगयो। धन्य हुन् ती मण्डलीहरू
जहाँ सिमोन कुरेनि जस्ता येशूका सेवकहरू सेवा गर्छन्!
Sir
ReplyDeleteHow can I get the detailed reference of the story of Simon?