May 6, 2019

मण्डली स्थापना गर्नुको आनन्द!

तीन वर्ष अघि गुवाहाटीमा नयाँ मण्डली स्थापना गर्न परमेश्वरले काठमाण्डो आशा मण्डलीद्वारा हामीलाई त्यहाँ पठाउनुभयो।  एक वर्ष आत्मिक संघर्ष मै बित्यो। दोस्रो वर्षमा मण्डली स्थापना भयो, र तेस्रो वर्षमा पाइला टेक्दा हाम्रो मण्डली त्यो सहरमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ। 

दुई महिना अघि म र मेरी श्रीमतीले पहिलो पटक मण्डलीलाई भाइहरूका हातमा छोडेर हामी लामो छुट्टीमा निस्क्यौं।  यति लामो समय सम्म मण्डली छोड्दा चिन्ता लागेको थियो तर अहिले आएर हाम्रो चिन्ता अर्थहीन भएको देख्दा खुसी लागेको छ। 

यो दुई महिनाको अवधिमा परमेश्वरले हामीलाई धेरै आशिष् दिनुभएको छ।  सन् २०१० बाट काठमाण्डो आशा मण्डलीमा लामो समय सम्म सेवा गर्ने अवसर मिलेको थिएन तर यस पालि लगातार चार हप्ता सेवा गर्ने मौका प्रभुले दिनुभयो।  साप्ताहिक सेवा, महिला पुरूष सेवा, जवान सेवा र अगुवा सेवामा सम्पूर्ण विश्वासीहरूसँग समय बिताउनुका साथै हाम्रा मनका भावना, विचार र दर्शनहरू पनि आदान-प्रदान गर्ने मौका मिलेकोमा हामी धेरै आनन्दित भएका छौं।

सेवाका साथै तीन वर्ष सम्म भेट नभएको छोरासँग पनि तीन हप्ता सँगै बस्ने मौका प्रभुले दिनुभयो।  ती तीन हप्तामा तीनवटा मण्डलीमा अपरिचित र साधारण विश्वासी जस्तै भएर उपस्थित हुँदा ती मण्डलीका असल र कम्जोर पक्षहरूको अवलोकन गर्ने अवसर पनि मिल्यो जसबाट आफ्नै मण्डलीमा रहेका कमी कम्जोरीहरूलाई सुधार गर्ने प्रेरणा मिलेको छ।

हुनत इन्टरनेटको माध्यमबाट परमेश्वरको वचन बाँड्ने मौका बेला बखत मिली नै रहन्छ तर विश्वासीहरूसँगै बसेर गरेको सेवामा छुट्टै मिठास हुँदोरहेछ।  गुवाहाटी आशा मण्डलीमा अङ्ग्रेजीमा बोलेर हिन्दी वा असम भाषामा उल्था गर्नुपर्ने हुन्छ तर नेपालमा एउटै भाषामा बोल्न पाउँदा धेरै सजिलो हुन्छ।  आशा छ अब छिट्टै भाइहरूले गुवाहाटी आशा मण्डलीलाई पूर्णरूपले जिम्मा लिनेछन् र हामीलाई बिभिन्न स्थानमा गएर वचनको सेवा गर्ने स्वतन्त्रता दिनेछन्। 

No comments:

Post a Comment