भन्न त ‘नजिक को तीर्थ हेला’ भनेर
भनिन्छ। तर मित्रताको हिसाबमा यो भनाइले
खासै माने राख्दैन। साँचो मित्रताले सामीप्यतामा
झन् गहिरो जरा गाड्दछ।
ख्रीष्टिय सेवा-सङ्गतिमा पनि पास्टर र
विश्वासी बिच त्यो मित्रता कायम हुनुपर्दछ जो प्रेम, विश्वास, र आदरले भिजेको
हुन्छ। समयको छडीले यसलाई नापेको हुनुपर्छ। जीवनमा टाढाका हजारौं आलोचक भन्दा नजिक का दुई
जना मित्रहरूको मुल्य अतुलनीय हुन्छ।
मेरो जीवनमा परमेश्वरले धेरै मित्रहरू
दिनुभएको छ। तर सबैलाई नजिक बाट चिन्ने मौका
मिलेको छैन। सामाजिक सञ्जालको माध्यम बाट
केही हद सम्म भए पनि मित्रताको दुरी घटेको छ।
एक दिन आउनेछ जब हामी स्वर्गीय स्थानमा अनन्तता सम्म हाम्रो मित्रताको
स्वाद लिइनै रहनेछौं।
काठमाण्डो आशा मण्डली स्थापना भएको २६
वर्ष हुनै आँटेको छ। स्थापनाको दिन हामी आठ
जना थियौं। केही समय पछि तीन जना मित्रहरू
व्यक्तिगत परिस्थितिका कारण अन्यत्र जानुभयो तर हाम्रो सम्बन्ध आज सम्म सुमधुर छ।
२६ वर्षको लामो यात्रामा हामीलाई
निरन्तर साथ दिने तीन जना मित्रहरू आज सम्म हाम्रो साथमा छन्। हाम्रा सुख-दुखमा, हुँदा-नहुँदा उहाँहरूले
हामीलाई कहिल्यै छोड्नुभएन। मेरी
श्रीमतीलाई खाना पकाउन आउँदैनथ्यो। पावल
भाइले सिकाउनुभयो। मिना बैनी सारै लजालु भए
पनि धेरै हँसाउनुहुन्थ्यो। लालकुमार भाइले
हामीलाई मदत नपुर्याएको कुनै क्षेत्र छैन।
सेवाको क्षेत्रमा पनि हाम्रो मण्डलीमा डिकनकोरूपमा छानिने पहिलो व्यक्ति
पावल भाइ हुनुहुन्छ। आज यी तीनै जनाले आशा
मण्डलीमा सक्रिय सेवाकाइँद्वारा परमेश्वरलाई महिमा दिइरहेको देख्दा मेरा आँखा बाट खुसीका
आँसु झर्छन्।
यस पालि अगुवाको एक दिने कार्यक्रममा
हामी पाँचै जनाले एकैसाथ फोटो लिने संयोग परेछ र आज कम्प्युटरमा यो फोटो हेर्दा
सम्झनाका धेरै छालहरू तरङ्गिएका थिए। पावल
भाइ, मिना बैनी, र लाल भाइको माया, मित्रता, र सह-यात्राको लागि म र मेरी श्रीमती
सदैव धन्यवादी रहनेछौं।
No comments:
Post a Comment