June 28, 2019

जे सोच्छौं त्यस्तै बन्छौं


७० देखि १२० वर्षसम्म यो संसारमा मानिस बाँच्न सक्ने सम्भावना बाइबलले देखाएको छ।  कपाल फुलेर ढकमक्क भै आफ्ना वर्षहरू सकेर यो संसारबाट बिदा हुनु बाइबलीय भाषामा आशिषमय जीवनको एक पक्ष ठानिएको छ।  तर लामो आयुले मात्रै पनि मानिसको जीवन आशिषमय थियो भन्न सकिदैन कारण उसले बिताएका ती वर्षहरूमा उसको जीवनको गुणस्तर कस्तो थियो भन्ने कुराले बढी महत्व राख्दछ।

दीर्घायु र आशिषित् जीवनको बारेमा बाइबलले धेरै उल्लेख गरेकोछ।  “नम्रता र परमप्रभुको भयले धन, मान र जीवन ल्याउँछ” (हितोपदेश २२:४)।  “किनभने मेरो वचन पाउनेको निम्ति त्यो जीवन हो, र त्यसको सारा शरीरको निम्ति स्वास्थ्य हो” (४:२२)।  “हे मेरो छोरो, मेरो शिक्षालाई नभुल्, तर मेरा आज्ञाहरू आफ्नो हृदयमा लुकाइराख्।  किनभने तिनले तँलाई दीर्घायु बनाउनेछन् र तेरो लागि सम्पन्नता ल्याउनेछन्” (३:१-२)।  बाइबलमा कैयौं यस्ता प्रतिज्ञाहरू छन् जसलाई मानिसले विश्वास गर्न सकेको खण्डमा उसको जीवन सफलता, सन्तुष्टि र आनन्दले भरिएको हुनेछ।  कङ्गाल भएर अकालै ऊ मर्नु पर्ने छैन।  

जब हामी विश्वासको कुरा गर्दछौं तब मानिसको हृदयलाई हेर्नु पर्ने हुन्छ कारण हृदयले नै मानव जीवनको गुणस्तर कायम गरेको हुन्छ।  “सबै कुराभन्दा बडी आफ्नो हृदयलाई सुरक्षित राख्, किनभने त्यो सारा जीवनको मूल हो” (४:२३)।  आशिष् वा अभिषाप, विश्वास वा अविश्वास हृदयले निर्धारण गर्दछ।  असल हृदयबाट असल जीवन र खराब हृदयबाट खराब जीवन बगिनिस्कनेछ।  त्यसकारण विनाशकारी तत्वहरू हृदयमा नपसुन् भनि यसको सुरक्षा गर्नु आवस्यक छ। 

हृदयमा मानिस जस्तो छ उसको बाह्य जीवन पनि त्यस्तै हुनजान्छ।  “प्रसन्न हृदय असल औषधी हो, तर पेलिएको आत्माले हड्डीहरू सुकाउँछ” (१७:२३)।  “उदार मानिसको फलिफाप हुन्छ, अरूलाई उत्साह दिने व्यक्तिले आफू पनि नयाँ उत्साह प्राप्त गर्नेछ” (११:२५)।  “पानीमा अनुहार प्रतिबिम्बित भएझैं मानिसको हृदयमा मानिस प्रतिबिम्बित हुन्छ” (२७:१९)। हृदयको प्रतिबिम्ब अनुहारमा झल्कीरहेको हुन्छ कारण “आनन्दित हृदयले अनुहार प्रसन्न पार्छ, तर हृदयको पीरले आत्मालाई आघात पुर्याउँछ” (१५:१३)।

जे हृदयमा छ त्यही नै बाहिर निस्कन्छ भनेर येशू प्रभुले यसरी भन्नुभयो; “किनकि हृदयबाट नै खराब विचार,  हत्या, परस्त्रीगमन, व्यभिचार, चोरी, झूटो गवाही र निन्दा बाहिर निस्कन्छन्” (मत्ती १५:१९) र “हृदयमा भरिएका कुराहरू नै मुखबाट निस्कन्छन्” (१२:३४)।  तर जसको हृदय असल कुराहरूले भरिएको हुन्छ उसको मुखबाट असल कुराहरू निस्कन्छन् र जीवनमा उसले असल परिणाम प्राप्त गर्दछ। 

आजका मनोवैज्ञानिकहरूले बाइबलले भनेको तथ्यलाई प्रमाणित गर्दै भन्छन् कि “मानिस जस्तो सोच्दछ ऊ त्यस्तै बन्दछ”।  विलियम जेम्स ठोकुवा गरेरै भन्छन् “मानिसले सोच परिवर्तन गर्न सकेमा उसको जीवन परिवर्तन हुनसक्छ”।

जन्मसिद्धै पापी स्वभाव त मानिसमा हुन्छ नै तापनि जोन लकले भनेझैं अनुभवको हिसाबले जन्मदा मानिसको मगज कोरा कागज जस्तै खालि हुन्छ।  जन्मिसकेपछि वातावरणीय अनुभवहरूले त्यो कोरा कागजमा उसको व्यक्तित्व अङ्कित गर्दछन् र उसको शील स्वभावले मुर्तरूप लिन्छ।  वातावरणले मानिसको व्यक्तित्व निर्माण गर्ने भएकोले ऊ कस्तो परिवारमा जन्मेको र हुर्केको थियो, कस्तो समाजमा उसले शिक्षा आर्जन गर्यो, कस्ता मुल्य र मान्यता भएको समाजमा उसले जीवन व्यतित गर्यो भन्ने कुराहरूले धेरै ठूलो माने राख्दछन्।

येशूलाई विश्वास गरी सक्दा पनि वातावरणले हाम्रो मगजमा पारेको प्रभाव सजिलै मेटिदैन।  त्यसैकारण बाइबलले धेरै पटक पुरानो सोच वा मगज परिवर्तन गर्न आह्वान गरेको छ।  हाम्रो मनलाई येशूको मन जस्तो बनाउन आज्ञा गरिएको छ।  हामीले चाहेको खण्डमा परमेश्वर आफैले हाम्रा हृदयका पाटीमा उहाँका वचन लेखिदिने प्रतिज्ञा गर्नुभएको छ।  हाम्रो कठोर वा ढुङ्गाको हृदयलाई निकालेर परमेश्वरको वचन स्वीकार गर्न सक्ने नरम वा मासुको हृदय हामी भित्र हालिदिने प्रतिबद्धता पनि परमेश्वरले जनाउनुभएको छ (इजकिएल ३६:२६-२७)।

जब हाम्रो हृदय परमेश्वरको वचन र उहाँको सोचले भरिन्छ तब हामीमा नयाँ सोच र स्वभाव उत्पन्न हुन्छ।  जीवनलाई हेर्ने दृष्टिकोणमा बदलाव आउँछ।  नयाँ सपना र दर्शन देख्न थाल्छौं।  हाम्रो भित्रि मनुस्यत्व नै नयाँ भएको कारण पहिला जे असम्भव देखिन्थ्यो त्यो अहिले सम्भव देखिन थाल्छ।  रोगी शरीरमा चङ्गाई, गरिबीको स्थानमा सम्पन्नता, हारको ठाउँमा जित, असफलताको ठाउँमा सफलताको प्रेरणाले हामीलाई जीवन जिउन उत्प्रेरित गर्दछ। 

लामो आयु मात्रै नभएर परमेश्वरका प्रतिज्ञामा खडा भएर जीवन जिउने मानिसको जीवन खोलाको किनारमा रोपेको रूख जस्तै हुन्छ जसका पात ओइलाउँदैनन्।  जरा गाडिएका हुन्छन्।  फल फली नै रहन्छन् र उसले जे गर्दछ त्यसमा ऊ सफल वा फलिफाप हुन्छ।  जब ऊ संसारिक जीवनको अन्त्यमा आइपुग्छ, उसलाई कुनै कुराको पछुतो हुँदैन। 

आफ्ना पूर्वाग्रहलाई त्यागेर परमेश्वरका प्रतिज्ञामा विश्वास गर्नेका लागि अनन्त जीवनका साथै आशिषित् र दीर्घायु जीवन पनि दिइएको छ।  असल स्वास्थ्य, प्रशस्तता र सम्मान सबैलाई मन पर्ने कुराहरू हुन् तर ती व्यक्तिले मात्रै यि कुराहरूलाई उपभोग गर्न पाउँछन् जसले आफ्नो जीवन शैलीमा परमेश्वरका प्रतिज्ञालाई प्राथमिकता दिएकाहुन्छन्।  “परमप्रभुको आशिष्ले धन-सम्पत्ति ल्याउँछ, अनि उहाँले त्यसमाथि दु:ख थप्नुहुन्न” (हितो १०:२२)।  जब हामीमा यस्तो सोचको विकास हुन्छ तब जीवन हामीले सोचेको जस्तै हुनजान्छ कारण मानिसले मनमा जे सोच्दछ ऊ त्यस्तै बन्दछ (२३:७)।
(c) Bhojraj Bhatta

No comments:

Post a Comment